दक्षिण लेबनानमा इजरायली आक्रमण : तीन सैनिकसहित १४ जनाको मृत्यु

लोकपथ
70
Shares

काठमाडौं । दक्षिण लेबनानका विभिन्न क्षेत्रमा भएको इजरायली हवाई आक्रमणमा कम्तीमा १४ जनाको मृत्यु भएको छ, जसमा तीन जना लेबनानी सैनिक पनि रहेका छन् ।

लेबनानको राष्ट्रिय समाचार एजेन्सीका अनुसार इजरायली सेनाले लेबनानी सैन्य टोली तथा सर्वसाधारणलाई लक्षित गरी आक्रमण गरेको हो । नबातिया क्षेत्रको खार्दाली–कफार तेबनित सडकमा गस्तीमा रहेको सैन्य सवारी साधनमाथि भएको आक्रमणमा तीन सैनिकको मृत्यु भएको लेबनानी सेनाले पुष्टि गरेको छ ।

इजरायली रक्षा बल (आईडीएफ) ले घटनाप्रति चासो व्यक्त गर्दै अनुसन्धान सुरु गरिएको जनाएको छ । आईडीएफका अनुसार उक्त सवारी साधन सक्रिय युद्ध क्षेत्रमा देखिएको र हिजबुल्लाहसँग सम्बन्धित खतरा रहेको सूचनाका आधारमा कारबाही गरिएको दाबी गरिएको छ । साथै, इजरायलले आफ्नो कारबाही हिजबुल्लाहविरुद्ध मात्र केन्द्रित रहेको र लेबनानी सेना निशानामा नरहेको स्पष्ट पारेको छ ।

यसैबीच, लेबनानमा तैनाथ संयुक्त राष्ट्रसंघीय अन्तरिम बल (युनिफिल) ले आक्रमणको कडा निन्दा गर्दै यसलाई लेबनानको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको उल्लंघन भनेको छ । युनिफिलले यसलाई संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्ताव १७०१ को गम्भीर उल्लंघन भएको जनाएको छ ।

लेबनानी संसदका सभामुख नबिह बेरीले इजरायली दाबी अस्वीकार गर्दै घटनालाई प्राविधिक त्रुटि नभई योजनाबद्ध आक्रमण भएको आरोप लगाएका छन् ।

अन्य क्षेत्रमा भएका आक्रमणहरूमा सिडोन जिल्लाको साकसाकिया शहरमा ६ जनाको मृत्यु भएको छ । देइर अल–जहरानी राजमार्गमा एक, हारौफमा दुई, जुआईया र अब्बासियामा एक–एक जनाको मृत्यु भएको विवरण छ ।

इजरायली सेनाले जेजिन जिल्ला र अन्सारीया क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गर्दै इभाकुएसन आदेश जारी गरेको जनाएको छ । आईडीएफका अनुसार हालैका दिनमा दक्षिण लेबनानमा हिजबुल्लाहका १५० भन्दा बढी सैन्य संरचना, हतियार भण्डार, कमान्ड सेन्टर र रकेट लन्चरहरूमा आक्रमण गरिएको छ ।

यता, हिजबुल्लाहले सार्किया क्षेत्रमा इजरायली ड्रोनलाई खेदेको दाबी गरेको छ भने इजरायली सेनाले यसबारे कुनै प्रतिक्रिया दिएको छैन ।

लेबनानको सार्वजनिक स्वास्थ्य संकटकालीन केन्द्रका अनुसार गत अक्टोबरदेखि हालसम्म इजरायली आक्रमणमा ३ हजार ५९३ जनाको मृत्यु भएको छ भने १० हजार ९९० जना घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?