जापानमा वास्तविक ज्यालामा वृद्धि, घरायसी खर्चमा भने गिरावट

लोकपथ
70
Shares

काठमाडौं । जापानको मुद्रास्फीति–समायोजित वास्तविक ज्याला (रियल वेज) मा गत अप्रिल महिनामा १.९ प्रतिशतले वृद्धि भएको छ ।

सार्वजनिक गरिएको सरकारी तथ्याङ्कअनुसार वास्तविक ज्यालामा लगातार चौथो महिना सुधार देखिएको हो ।

जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयका अनुसार कामदारको आधारभूत तलब र ओभरटाइम भत्तासहितको औसत मासिक नगद आम्दानी अर्थात नोमिनल वेज ३।५ प्रतिशतले बढेर ३,१२,४२५ येन (करिब १,९०० अमेरिकी डलर) पुगेको छ ।

ज्याला वृद्धिदर ३ प्रतिशतभन्दा माथि रहेको यो लगातार तेस्रो महिना हो । तथ्याङ्कअनुसार मुख्यतया आधारभूत तलब समावेश हुने नियमित तलब ३।४ प्रतिशतले वृद्धि भई २,७७,९१६ येन पुगेको छ । यद्यपि, अर्कोतर्फ जापानको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले सार्वजनिक गरेको छुट्टै तथ्याङ्कले अप्रिल महिनामा घरायसी खर्चमा भने वास्तविक रूपमा ०.५ प्रतिशतले गिरावट आएको देखाएको छ । दुई वा सोभन्दा बढी सदस्य भएका घरपरिवारले यस अवधिमा औसतमा ३,२८,९६९ येन खर्च गरेका छन् ।

खर्चको विवरणअनुसार निरन्तरको मुद्रास्फीतिका कारण खाद्य तथा पेय पदार्थको खर्चमा ०।६ प्रतिशतले कमी आएको छ ।

त्यस्तै, कपडा तथा जुत्ताको खर्चमा १०।९ प्रतिशत र ऊर्जा खपतमा आएको कमीका कारण उपयोगिता शुल्क (यूटिलिटी बिल) मा ८.६ प्रतिशतले गिरावट आएको छ । जापानको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा निजी उपभोगको हिस्सा आधाभन्दा बढी रहने भएकाले यी तथ्याङ्कहरूलाई देशको आर्थिक स्वास्थ्यको प्रमुख सूचकका रूपमा लिने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?