काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि संघीय संसद्मा भएको बहसको समय अपर्याप्त भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
मुलुकको आगामी एक वर्षको मार्गचित्र तय गर्ने महत्त्वपूर्ण दस्ताबेजमाथि पर्याप्त छलफल हुनुपर्नेमा सरकारले यसलाई छोटो समयमा सीमित गरेको उनको तर्क छ ।
नेता आङदेम्बेले विगतमा कम्तीमा तीन दिनसम्म चल्ने यस्तो बहसलाई यस पटक ६ घण्टामा मात्र खुम्च्याइनु दुःखद भएको बताए । नीति तथा कार्यक्रम कुनै ठट्टाको विषय नभई मुलुकको भविष्यसँग जोडिएको विषय भएकोले यसमा माननीय सांसदहरूले विस्तृत रूपमा धारणा राख्न पाउनुपर्ने उनले उल्लेख गरे ।
सरकारले नीति तथा कार्यक्रममा ‘डिजिटलाइजेसन’ र प्रविधिको कुरा जोडतोडका साथ उठाए पनि गाउँका गरिब किसान र मजदुरको पहुँचमा प्रविधि पुर्याउने विषयमा भने ध्यान नदिएको आङदेम्बेले आरोप लगाए ।
उनले सरकारले ल्याएको ‘नागरिक एप’ को प्रभावकारिताका लागि पनि सर्वसाधारणसँग गुणस्तरीय मोबाइल र प्रविधिको उपलब्धता अनिवार्य रहेको औँल्याए ।
नीति तथा कार्यक्रममा ‘मोबाइल’ जस्ता आधारभूत प्रविधिको पहुँचबारे स्पष्ट खाका नहुनुले सरकारको सोच अझै पनि भुइँतहका नागरिकसम्म पुग्न नसकेको देखिने उनको भनाइ थियो ।
दुई तिहाइ बहुमतको सरकारले नीति तथा कार्यक्रमलाई व्यवस्थित बनाउन र गरिब जनताको पहुँचसम्म पुर्याउन नसक्नु दुर्भाग्यपूर्ण भएको टिप्पणी गर्दै उनले आगामी बजेटमार्फत यस्ता त्रुटिहरू सच्याउन सरकारलाई आग्रह गरे ।
उनले भने, ‘भर्खरै मात्रै हामी संघीय संसदमा नीति तथा कार्यक्रममा व्यापक बहस गरेर आएका छौँ । मैले यो व्यापक भन्ने शब्द मैले चाहेरै राखेको हुँ । यद्यपि हाम्रो इतिहास कम्तीमा पनि नीति तथा कार्यक्रममा अलिकति समय राखेर बहस गर्ने हाम्रो परम्पराहरू छ । किनभने नीति तथा कार्यक्रम भनेको ठट्टाको विषय होइन जसले मुलुकलाई वर्ष दिनको एउटा खाका दिन्छ । त्यसको सम्बन्धमा बहस गर्ने समय चाहिन्छ माननीय सांसदहरूलाई । इतिहास ३ दिनको थियो, २ दिनको थियो, त्यो पनि भएन । १ दिन थियो, त्यो पनि भएन । १ दिनभित्रको पनि ६ घण्टामा सीमित नीति तथा कार्यक्रमको बहस । सरकारको तर्फबाट नीति तथा कार्यक्रममा छलफल र बहस र जवाफ दिँदै गर्दाखेरि मैले पनि हेरिराखेको थिएँ ६ घण्टामा जति भ्याइयो पढिएको थियो, यहाँनिर डिजिटलाइजेसनको कुरा साह्रै धेरै गरिएको छ । डिजिटल अहिलेको युग हो । यो भन्दा पर कोही जानै सक्दैन । तर डिजिटलाइजेसनको कुरा गरिराख्दाखेरि हामीहरूले प्रविधिमा गाउँघरमा बस्ने साधारण मोबाइलको विषयमा हामीहरूले ध्यान दिन सकेनौँ भने त्यो प्रविधिमार्फत हामीले देशभरिको गरिब किसानलाई जोड्ने बाटोबाट त अवश्य पनि हामी पछि हट्ने भयौँ । हामीले तय गरेका हाम्रा कार्यक्रमहरू मध्यम वर्ग र अलिक एलिट वर्ग, अलिक उच्च वर्गको लागि मात्रै हो ? होइन । हाम्रा योजनाहरू, हाम्रा सोचहरू, हाम्रा वर्ष दिनका कार्यक्रमहरू गरिब, किसान र मजदुरतर्फ लक्षित हुनुपर्दथ्यो । तर त्यस्तो नदेखिएको अहिलेको अवस्था छ । बजेट कसरी आउँछ त्यो हामी प्रि-बजेटमा हामी छलफल सुरु गर्दैछौँ । म यहाँ बस्दाखेरि पनि साथीहरूसँग कुरा गरिराखेको थिएँ नीति तथा कार्यक्रममा कहीँ उच्चारण नगरिएको यो मोबाइल भन्ने शब्द, यो प्रविधि । डिजिटलाइजेसनको कुरा गरेका छौँ तर त्यसलाई व्यवस्थित गरेर लैजानको निम्ति कस्तो खालको मोबाइलहरू प्रयोग गर्छौँ, त्यसका प्रति हाम्रो ध्यान गएको छैन । नागरिक एपको प्रशस्त कुरा गरिएको छ नीति तथा कार्यक्रममा । त्यो नागरिक एपलाई व्यवस्थित गर्नका निम्ति पनि त मोबाइलको क्वालिटी त चाहियो होला नि । त्यो क्वालिटी गाउँसम्म पुर्याउनका निम्ति फेरि पनि म भन्न चाहन्छु, गरिब, किसान र मजदुरको हातमा पुर्याउनका निम्ति राज्यको धारणा के ? त्यो पनि देखिएन । यसको मतलब मैले विरोध गरिराखेको छु तपाईँहरूले देख्नुभएछ यो चोटीको प्रतिपक्ष, यो चोटीको विपक्षी दलको नेता जो स्वयं म यहाँ उभिएको छु, हामीले बारम्बार रोस्ट्रमबाट उभिएर भनेका छौँ हामी परिणाम खोज्छौँ । विरोधको निम्ति विरोध गर्ने हिजोको शैली आजको होइन । हिजो विरोधको निम्ति विरोध बोलियो होला । हिजो विरोध बोल्दाखेरि प्रतिपक्षको धर्म निभाएको जस्तो देखिन्थ्यो होला । तर आजको प्रतिपक्ष विरोधको निम्ति विरोध बोल्न आएको छैन, परिणामको निम्ति साथ दिन आएको छ। राज्यले परिणाम दिने बाटो तय गर्नपर्यो। तर परिणाम दिने बाटो तय भएको जस्तो अनुभूति नगर्दा नगर्दै पनि वर्ष दिनको नीति तथा कार्यक्रम जसलाई जनतासम्म पुग्ने एउटा माध्यम हो, त्यसलाई छेक्न हुन्न भन्ने सकारात्मक सोचका साथ यो चोटीको प्रतिपक्ष, प्रतिपक्ष बेन्च प्रस्तुत भएको छ । भनेपछि राज्यले यतिको धेरै महत्त्वपूर्ण यो विषय जसको जगमा दुई तिहाइ मेजोरिटीको सरकार बनेको छ, त्यो सरकारले यसलाई कसरी व्यवस्थित गर्ने, यसलाई कसरी गरिब, किसान र मजदुरको पहुँचमा पुर्याउने भन्ने कुराको अन्दाज गर्न सक्दैन भने यो त दुर्भाग्य मात्रै हो। यो त दुर्भाग्य मात्रै हो। यसका बाबजुद पनि कहीँ कतै छुटेको होला, म नियतमाथि शंका गर्दिन राज्यको। मैले अघि पनि भनेँ फेरि पनि भन्न चाहन्छु म राज्यको नियतमाथि फेरि पनि शंका गर्दिन । तर यसलाई सच्याउने दिशामा राज्यले आफूलाई पोजिटिभली फ्रन्टमा राखोस्। हामीहरू कानुन बनाउने देखि लिएर अरू हरेक कुराहरूमा हाम्रो साथ सहयोग रहन्छ, म त्यो पनि भन्न चाहन्छु ।’
प्रतिपक्षको भूमिकाबारे स्पष्ट पार्दै नेता आङदेम्बेले नेपाली कांग्रेस केवल विरोधका लागि विरोध गर्ने पक्षमा नरहेको स्पष्ट पारे । उनले राज्यको नियतमाथि शंका नगरे पनि कार्यशैली र प्राथमिकतामा परिवर्तनको आवश्यकता रहेकोमा जोड दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया