वैदेशिक सहायता परिचालनको जिम्मेवारी परराष्ट्र मन्त्रालयलाई दिन सांसद कार्कीको प्रस्ताव

लोकपथ
28
Shares

काठमाडौं । नेकपा (एमाले) का सांसद अर्जुनकुमार कार्कीले वैदेशिक सहायता परिचालनको मुख्य जिम्मेवारी परराष्ट्र मन्त्रालयलाई दिनुपर्ने प्रस्ताव गरेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त सदनमा प्रस्तुत गरेको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि संशोधन पेस गर्दै सांसद कार्कीले यस्तो माग  गरेका हुन् । 

सांसद कार्कीले मुलुकको परराष्ट्र नीतिमा आर्थिक कूटनीतिलाई उच्च प्राथमिकता दिनुपर्नेमा जोड दिँदै हाल अर्थ मन्त्रालय मातहत रहेको वैदेशिक सहायता परिचालनको कार्य परराष्ट्र मन्त्रालय र यस अन्तर्गतका कूटनीतिक नियोगहरू मार्फत हुनुपर्ने जिकिर गरे । नेपाल अति कम विकसित राष्ट्रहरूको समूहको अध्यक्षता गरिरहेको मुलुक भएको स्मरण गराउँदै कार्कीले वैदेशिक सहायताको सही परिचालनबाट मात्रै गरिबी निवारण र विकासशील राष्ट्रमा स्तरोन्नति हुने लक्ष्य हासिल गर्न सकिने बताए । आर्थिक कूटनीतिलाई सबल र परिणाममुखी बनाउन संरचनात्मक सुधार आवश्यक रहेको उनको तर्क छ । 

उनले भने, ‘हाम्रा ३३ मुलुकमा रहेका ४४ वटा नियोग र त्यहाँ कार्यरत विशेषज्ञ जनशक्तिलाई आर्थिक कूटनीतिमा प्रभावकारी रूपमा परिचालन गर्न आवश्यक छ । वैदेशिक सहायता जुटाउने प्रमुख जिम्मेवारी परराष्ट्र मन्त्रालयलाई दिइनु पर्दछ । अर्थ मन्त्रालयले भने प्राप्त सहायतालाई कुन क्षेत्र र विकास आयोजनामा खर्च गर्ने भन्ने विषयमा मात्र ध्यान केन्द्रित गर्नुपर्छ ।’

सांसद कार्कीले बुँदा नम्बर ९० मा संशोधन प्रस्ताव गर्दै नेपाली डायस्पोरा र गैर आवासीय नेपालीहरूको लगानी आकर्षित गर्न ‘एनआरएन इन्भेस्टमेन्ट फण्ड’ को प्रभावकारी व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । विदेशमा रहेका नेपालीहरूको पुँजीलाई नेपालको विकासमा परिचालन गर्न उनीहरूलाई दोहोरो कर प्रणालीबाट मुक्त गराउनुपर्ने र लगानीमैत्री वातावरण निर्माण गर्नुपर्नेमा उनले जोड दिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?