६ सातादेखि प्रहरी हिरासतमा दीपक भट्ट र सुलभ अग्रवाल : सम्पत्ति शुद्धीकरणमा हुन सक्छ ठुलो मुद्दा दायर

पब्लिककै पैसा खर्च गरेर गर्थे इन्साइडर ट्रेडिङ, कृतिमरुपमा बढाउँथे मूल्य

लोकपथ
105
Shares

काठमाडौं । विवादास्पद व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाल पक्राउ परेको ६ साता लागिसकेको छ । केन्द्रीय अनुसन्धान विभाग (सीआईबी)ले गत चैत १९ गते व्यवसायी दीपक अग्रवाल र त्यसको २ दिनपछि व्यवसायी सुलभ अग्रवाललाई पक्राउ गरेको थियो । पक्राउपछि दीपक भट्ट ४१ दिनदेखि र सुलभ अग्रवाल ३९ दिनदेखि नै प्रहरीको हिरासतमा रहेका छन् ।

सम्पत्ति शुद्धीकरणको यो अनुसन्धानमा शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पनि पक्राउ परेका थिए । तर उमेर तथा प्रमाण नष्ट गर्न नसक्ने भन्दै उनलाई भने हाजिरी जमानीमा यसअघि नै रिहा गरिसकिएको छ । शंकरका छोरासमेत रहेका सञ्चालक सुलभ अग्रवाल भने ३९ दिनदेखि नै सम्पत्ति शुद्धीकरण विभागको हिरासतमा रहेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले धितोपत्रमा चलखेल गरेको र दीपक भट्टसँग मिलेमतो गरेर कृतिमरुपमा मूल्य बढाउने, कृत्रिम काराेबार गर्ने लगायतका कार्यमा संलग्न रहेको अभियोगमा व्यवसायी शेखर गोल्छालाई समेत भैरहवाबाट पक्राउ गरेको थियो । तर अदालतको आदेशबाट उनी थुनामुक्त भए पनि उनको हकमा समेत अनुसन्धान भइरहेको छ ।

विवादित व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाल जोडिएको यो प्रकरणमा बीमा, पुनर्बीमा, धितोपत्र बजार, पब्लिक लिमिटेड कम्पनीको रकम दुरुपयोग, बैंकिङ ट्रेल र त्यसमा पुराना व्यापारिक घरानासम्म मुछिएको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुरोधमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले भट्टलाई पक्राउ गरी विभागलाई बुझाएको थियो भने सुलभ अग्रवाललाई पनि सम्पत्ति शुद्धीकरणको अनुसन्धानको सिलसिलामै काठमाडौंबाटै पक्राउ गरिएको थियो । विभागले अदालतबाट म्याद लिएर दुवै जनालाई फरक फरक स्थानको हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।

भट्ट र अग्रवालमाथि भइरहेको अनुसन्धान सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित रहेको छ । उनीहरूले सम्पत्ति शुद्धीकरणका लागि शंकास्पद वित्तीय कारोबार गरेको, पब्लिक लिमिटेड कम्पनीको रकम दुरुपयोग गरी सेयर बजार तथा अन्य लगानीका क्षेत्रमा घुमाएर स्रोत लुकाउने वा शुद्धीकरण गर्ने प्रयास गरेको आरोप लागेको छ ।

४५ करोडको ट्रान्सफरले निम्त्याएको अनुसन्धान
सम्पत्ति शुद्धीकरण सम्बन्धी यस प्रकरण र अनुसन्धानको सुरुवात २०७८ असारमा जगदम्बा स्टिल प्रालिबाट व्यवसायी दीपक भट्टको व्यक्तिगत बैंक खातामा ट्रान्सफर गरिएको ४५ करोड रकमको स्रोत र खोजी गर्दा सुरु भएको थियो । जगदम्बा स्टिलको खाताबाट गएको उक्त रकम न जगदम्बा स्टिलले आफ्नो लेखा परीक्षण प्रतिवेदनमा देखायो, न त दीपक भट्टले नै त्यसको स्रोत खुलाए । उक्त रकमको स्रोत र स्थानान्तरण शंकास्पद देखिएपछि नेपाल राष्ट्र बैंकको वित्तीय सूचना एकाइले सन् २०७९ सालको कात्तिक महिनामा नै भट्टको वित्तीय कारोबारमाथि अनुसन्धान सुरुवात गरेको थियो । यद्यपि भट्टको राजनीतिक र आर्थिक पहुँचका कारण विगतका सरकारको पालामा उक्त अनुसन्धान सुस्त बनेको थियो । तर जब रास्वपा नेतृत्वको दुई तिहाइको सरकार बन्यो, त्यसपछि भट्ट र अग्रवाल जोडिएको उक्त प्रकरणको सुरुवातले नयाँ रूप लिएको थियो ।

जगदम्बा स्टिलको खाताबाट गएको उक्त रकम न जगदम्बा स्टिलले आफ्नो लेखा परीक्षण प्रतिवेदनमा देखायो, न त दीपक भट्टले नै त्यसको स्रोत खुलाए

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा सीआईबीले विवादास्पद व्यवसायी दीपक भट्टलाई २०८२ को चैत १९ गते काठमाडौंको गैरीधाराबाट पक्राउ गरेको थियो । त्यसको दुई दिनपछि, शंकर ग्रुपअन्तर्गत जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाललाई भैरहवाबाट पक्राउ गरिएको थियो । यी पक्राउको जालोमा शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पनि परेका थिए, तर उमेर र प्रमाण नष्टको सम्भावना नरहेको भन्दै उनलाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएपछि उनी रिहा भएका थिए । सुरुमा १० दिनको म्याद पाएको यो अनुसन्धान हाल विशेष अदालतबाट म्याद थप्दै अगाडि बढिरहेको छ ।

त्यही ४५ करोडको कारोबार वा ट्रान्सफरबाट सुरु भएको अनुसन्धानमा अहिले सम्पत्ति शुद्धीकरण गर्नका लागि शंकास्पद वित्तीय कारोबार गरेको पब्लिक कम्पनी तथा बीमा कम्पनीको रकम दुरुपयोग गरी सो रकमलाई सेयर बजारमा लगानी गरिएको, सोही रकमलाई व्यक्तिगत स्वार्थ र आर्थिक लाभका लागि लगानीका अन्य क्षेत्रमा घुमाएर स्रोत लुकाउने प्रयास गरेको लगायतको आरोप लागेको छ । यो अनुसन्धान यति बेला कुनै एक बैंकिङ कारोबारमा मात्रै सीमित नरही हिमालयन रि-इन्स्योरेन्स कम्पनी, नेपाल रि-इन्स्योरेन्स कम्पनी, इन्फिनिटी होल्डिङ्स, शंकर ग्रुपको जगदम्बा स्टिल तथा सहायक कम्पनीहरू र प्रि-आईपीओको कारोबारसम्म जोडिएको देखिएको छ । प्रारम्भिक अनुसन्धानले प्रि आईपीओका नाममा भएका कारोबारहरूमा देखाइएको मूल्यभन्दा बढी रकममै कारोबार भएको केही तथ्य तथा प्रमाणसमेत खुलेको पाइएको छ ।

पटक पटक म्याद थप्दै हिरासतको यात्रामा दुई व्यवसायी
विवादित व्यवसायी दीपक भट्ट र शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाललाई हिरासतमा राखेरै अनुसन्धान गर्न अदालतले पटक-पटक म्याद थपेको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश तिलकबहादुर कार्कीको इजलासले ९ वैशाखमा दुबैलाई सात दिनको म्याद दिएको थियो । पछिल्लो पटक वैशाख २३ गते विशेष अदालतले भट्टको पाँचौँ पटक र अग्रवालको छैटौँ पटक गरी थप १२ दिन थुनामै राख्न म्याद दिएको छ । यससँगै भट्ट ४१ दिन र अग्रवाल ३९ दिनदेखि सम्पत्ति शुद्धीकरणको हिरासतमा छन् । कम्तीमा पाँच/छ पटक म्याद थप भइसक्दा पनि अनुसन्धानले पूर्णता पाएको छैन । सम्पत्ति शुद्धीकरण निवारण ऐनको दफा १७ अनुसार एकैपटकमा ३० दिन नकट्ने गरी बढीमा ९० दिनसम्म थुनामै राखी अनुसन्धान गर्न सक्ने कानुनी व्यवस्था रहेको छ ।

भट्टले लियरिङ गरेर सम्पत्तिको शुद्धीकरण गराएको आरोप

प्रारम्भिक अनुसन्धानमा भट्टले विभिन्न कम्पनीमार्फत गैर कानुनी तवरबाट गरिएको कारोबार र आर्थिक लाभ भएको रकम.मको स्रोत लुकाउन लियरिङ र एकीकरण गर्ने गरेको आशंका गरिएको छ । भट्टमाथि बीमा ऐन, २०७९ को दफा १४० अन्तर्गत गैर कानुनी सम्पत्ति लुकाउने, शेयर बजारमा अवैध लगानी गर्ने र पब्लिक लिमिटेड कम्पनीको रकम दुरुपयोग गर्ने गरेको आरोप लागेको छ ।

धितोपत्र बोर्डको प्रतिवेदनले खुलायो रकम दुरुपयोगको फेहरिस्त

भट्टको उक्त सेयर खरिद तथा बिक्रीलाई धितोपत्र बोर्डको प्रतिवेदनमा कृत्रिम मूल्य वृद्धि गराइएको, भित्री कारोबार गरिएको र भ्रामक कारोबारसमेत भएको उल्लेख छ

राष्ट्र बैंकको निर्देशनमा नेपाल धितोपत्र बोर्डले गरेको अनुसन्धान र त्यसपछि बुझाएको प्रतिवेदनमा भट्टले कसरी सेयर बजारमा रकमको दुरुपयोग गरेका थिए भनेर उल्लेख गरेको छ । बोर्डको प्रतिवेदनअनुसार भट्टले २०८२ साउन ५ गतेदेखि २०८२ चैत १ गतेसम्मको अवधिमा मात्रै ३ अर्ब ८० करोड रुपैयाँ बराबरको सेयर खरिद गरेका थिए । उक्त अवधिमा भट्टले किनेका थिए भने ९३ करोड ५ लाख रुपैयाँ बराबरको सेयर बिक्री गरेको पाइएको छ । यी सबै कारोबार ब्रोकर नम्बर ५५ अर्थात् भृकुटी स्टक ब्रोकिङ कम्पनीमार्फत उधारोमा गरिएको पाइएको छ । भट्टको उक्त सेयर खरिद तथा बिक्रीलाई धितोपत्र बोर्डको प्रतिवेदनमा कृत्रिम मूल्य वृद्धि गराइएको, भित्री कारोबार गरिएको र भ्रामक कारोबारसमेत भएको उल्लेख छ ।

ठुला व्यवसायीसमेत सेयर कारोबारभित्रको आर्थिक अपराधमा संलग्न !
दीपक भट्ट जोडिएको सम्पत्ति शुद्धीकरण र सेयर खरिद बिक्रीको यो प्रकरणमा नेपालकै व्यापारिक घराना शंकर समूहको समेत ठुलो भूमिका देखिएको छ । शंकर समूहको कारोबार वार्षिक १ खर्ब २५ अर्बभन्दा बढी रकमको रहेको छ भने उसले १५ हजार जनालाई रोजगारी समेत दिएको छ ।

शंकर समूह अन्तरगतका विभिन्न ४० कम्पनीको बैंकिङ एक्सपोजर अर्थात् ऋण, दायित्व, बैंक ग्यारेन्टी आदि सबै गर्दा करिब २ खर्ब रुपैयाँको रहेको छ । उक्त रकममध्ये जगदम्बा स्टिलले मात्रै ३० अर्ब रुपैयाँभन्दा बढी ऋण लिएको छ । त्यसै गरी शंकर समूह र इन्फिनिटी होल्डिङ्सबिचको साझेदारीमा रहेको कुल दायित्व र ऋण मात्रै करिब १ खर्ब रुपैयाँको रहेको छ ।

धितोपत्र बोर्डको प्रतिवेदनमा यी दुई कम्पनीबिच अस्वाभाविक कारोबार र नेटवर्क रहेको उल्लेख छ । हिमालयन रि–इन्स्योरेन्स कम्पनी, इन्फिनिटी होल्डिङ्स, शंकर ग्रुप, जगदम्बा स्टिल, नेपाल माइक्रो इन्स्योरेन्स, गार्डियन माइक्रो लाइफ, क्रेस्ट माइक्रो लाइफ, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स जस्ता कम्पनीहरूमा व्यवसायी दीपक भट्टको समेत स्वामित्व रहेको देखिएको छ ।

व्यवसायी भट्टको हिमालयन रि-इन्स्योरेन्समा ४ दशमलव ५ प्रतिशत सेयर रहेको र उक्त कम्पनीले इन्फिनिटी होल्डिङ्सबाट ३८ हजार ४४१ युनिट सेयर खरिद गरेको देखिएको छ । अनि त्यही सेयरलाई विभिन्न माइक्रो इन्स्योरेन्स कम्पनीमा बिक्री गरेको समेत पाइएको छ । यसरी विवादित व्यवसायी दीपक भट्टले सीधा स्वार्थ राखेर ८ वटा बीमा तथा लघुबीमा कम्पनीमा लगानी गरेको तथा सेयर कारोबार गरेको पाइएको छ ।

कसरी अगाडि बढ्दैछ अनुसन्धान ?
व्यवसायी दीपक भट्ट र शंकर समूह जोडिएको सम्पत्ति शुद्धीकरणको यो प्रकरण नेपालको वित्तीय इतिहासकै ठुला घोटालामध्ये एक हुने सम्भावना बढेको छ । यस प्रकरणमा हालसम्म २ अर्जनभन्दा बढी व्यक्तिहरूसँग बयान लिइसकिएको छ । यस प्रकरणमा धितोपत्र बोर्डका पूर्व अध्यक्ष सन्तोषनारायण श्रेष्ठको समेत बयान लिइएको छ र यसमा उनको समेत संलग्नताको आशंका गरिएको छ । सम्पत्ति शुद्धीकरण विभाग, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो अर्थात् सीआईबी, नेपाल राष्ट्र बैंक र बीमा प्राधिकरण गरी चार वटै निकायले यस प्रकरणमा एकाकार भएर अनुसन्धान गरिरहेका छन् ।

व्यवसायी दीपक भट्ट, शंकर ग्रुपकी सदस्य एवम् सुलभ अग्रवालकी पत्नी शुभी अग्रवाल, जावालाखेल समूहका राजबहादुर शाह, ऋषिराज मोरे र सन्दीप चाचनमाथि मुद्दा चलाउनुपर्ने राय दिएको छ

धितोपत्र बोर्डको प्रतिवेदनले सेयरको गैर कानुनी कारोबार, रकमको अपचलन, कृत्रिम मूल्य वृद्धि र भित्री कारोबारमा ५ जनालाई मुख्य कसुरदार र ७ जनालाई मतियारका रूपमा मुद्दा चलाउनुपर्ने राय दिएको छ । ती सूचीहरूमा व्यवसायी दीपक भट्ट, शंकर ग्रुपकी सदस्य एवम् सुलभ अग्रवालकी पत्नी शुभी अग्रवाल, जावालाखेल समूहका राजबहादुर शाह, ऋषिराज मोरे र सन्दीप चाचनमाथि मुद्दा चलाउनुपर्ने राय दिएको छ ।

दीपक भट्ट र सुलभ अग्रवालले अर्बौँ रुपैयाँ कसरी लियरिङ र एकीकरण गरे भन्ने विषयको अनुसन्धान गर्दा यसमा मेडिकल व्यवसाय र पूर्वी नेपालमा निर्माणाधीन ठुला योजनासम्म पुग्न सक्ने अनुमान गरिएको छ । यसको अनुसन्धान चलिरहेको कारण अन्तिम पटक दिइएको १२ दिनको समयमा पनि अनुसन्धान सकिने सम्भावना भने निकै कम रहेको छ ।

पटक पटक विवादमा आइरहने पात्र हुन् भट्ट र अग्रवाल
व्यवसायी दीपक भट्ट अहिले मात्रै होइनन्, पहिले पनि पटक पटक विवादमा आइसकेका पात्र हुन् । नेपाल प्रहरीका लागि लागि हतियार खरिदसम्बन्धी विवादास्पद डिलमा उनको नाम मास्टरमाइन्डका रूपमा आएको थियो । त्यति बेला प्रहरीका लागि महँगो मूल्यमा विदेशी कम्पनीबाट हतियार किन्ने तयारी हुँदा स्पेशीफिकेसन लगायतका विषयमा प्रहरी कर्मचारीसँगै रकमको सौदाबाजीको प्रस्ताव गरेको अडियो बाहिरिएको थियो । उनले राजनीतिक नेतृत्व म मिलाउँछु भन्दै प्रहरीलाई नै रकमको प्रस्तावसमेत गरेका थिए ।

यता सुलभ अग्रवाल कोरोना कालमा अत्यधिक महँगो मूल्यमा थर्मो गन बेच्दै गर्दा पक्राउ परेका थिए । त्यति बेला वाणिज्य विभागले अग्रवाललाई पक्राउ गरी कालोबजारीमा मुद्दा चलाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?