‘सहकारी ठगी र जेनजी आन्दोलनका मतियारलाई जोगाउन आफ्नो मान्छेलाई प्रधानन्यायाधीश बनाइयो’

आफ्नै पार्टीकी सभामुखको कार्यशैलीप्रति कटाक्ष

लोकपथ
84
Shares

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ले प्रधानन्यायाधीश नियुक्तिको सिफारिसबारे प्रश्न उठाएका छन् ।

बिहीबार बसेको संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो ।

चौथो वरियतामा रहेका डा. शर्मालाई सिफारिस गरिएको भन्दै सांसद समेत रहेका अध्यक्ष साम्पाङले आपत्ति जनाएका हुन् ।

‘वरियतामा चौथोलाई प्रधानन्यायाधीश नियुक्त गर्नु अर्को ठूलो गल्ती गरेको छ यो सरकारले । यो कदमप्रति घोर आपत्ति व्यक्त गर्दछौँ । सारा नेपालीलाई थिति र सुशासनको आश्वासन दिएर आएको दलले यसरी विधि मिचेर गरिरहेको कार्य र दिएको नियुक्तिले पक्कै पनि राजनीतिक र कानूनी स्वार्थ राखेको हुनसक्छ,’ हर्कले आपत्ति जनाउँदै भने ।

त्यस्तै उनले सत्तारुढ दल रास्वपाको मुल नेतृत्वमाथि रहेको सहकारी ठगीको मुद्दा र रास्वपाका कतिपय सांसदहरु जेनजी आन्दोलनका क्रममा मुछिएका व्यक्तिहरु रहेका कारण उनीहरुलाई जोगाउनका लागि नै प्रधानन्यायाधीशमा आफ्नो मान्छे राखिएको उनको गम्भीर आरोप रहेको छ ।

‘सहकारी ठगी र भदौ २३–२४ को जेनजी आन्दोलन जस्ता विषयमा आफ्नो पक्षमा निर्णय गराउन यो नियुक्ति दिइएको हुनसक्ने आशंका प्रशस्त देखिन्छ,’ उनले भनेका छन् ।

त्यस्तै आफ्नै पार्टीबाट उपसभामुख भएकी रुबीकुमारी ठाकुरले समेत संवैधानिक परिषद्को सदस्यको हैसियतमा वरियता मिचेर प्रधानन्यायाधीश नियुक्त गर्दा त्यसलाई स्वीकार गरेको भन्दै आपत्रि जनाएका छन् । त्यस्तै एमसीसी र एसपीपी जस्ता विषयको दबाब र प्रभावमा सरकारले आफूखुसी मनलाग्दी काम गरेको उनको आरोप छ ।

‘नियुक्ति सम्बन्धी बैठकको क्रममा नयाँ नयाँ एक ठाउँमा आउनुपर्ने देखि एमसीसी र एसपीपी जस्ता विषय समेतको प्रशंग ल्याई दबाब र प्रभाव सृजना गरिएको अवस्थामा हाम्रै पार्टीबाट जानु भएको उपसभामुखले समेत वरियताको क्रमलाई उल्लंघन गरेर गरिएको निर्णयमा हस्ताक्षर गर्नु खेदपूर्ण छ,’ उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?