दक्षिण पूर्वी एशियाबाट ६१२ जना नेपालीको उद्धार

लोकपथ
21
Shares

काठमाडौं । परराष्ट्र मन्त्रालयले दक्षिण पूर्वी एशियाली क्षेत्रमा सञ्चालित अनलाइन डिजिटल स्क्यामिङ सेन्टरहरूमा ठगीमा परेका नेपालीहरूको उद्धार कार्यलाई तीव्रता दिएको छ । 

मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीकारअनुसार हालसम्म थाइल्याण्ड, म्यानमार, कम्बोडिया र लाओसबाट कुल ६१२ जना नेपालीको उद्धार गरी स्वदेश फर्काइएको छ । 

मन्त्रालयकाअनुसार उद्धार गरिएकामध्ये कम्बोडियाबाट ४ सय ८७ जना, म्यानमारबाट १ सय ११ जना, लाओसबाट ८ जना र थाइल्याण्डबाट ६ जना रहेका छन् । 

उद्धार कार्यका लागि थाइल्याण्ड र म्यानमारस्थित नेपाली राजदूतावासहरूले स्थानीय निकायहरूसँग सक्रिय समन्वय र सहयोग गरिरहेका छन् । हाल थप ५३ जनाको ट्राभल डकुमेन्ट तयार भइसकेको र उनीहरूलाई छिट्टै स्वदेश फर्काइने तयारी भइरहेको मन्त्रालयले जनाएको छ । 

सन् २०२१ यता विभिन्न उद्देश्यले कम्बोडिया भ्रमणमा जाने नेपालीको सङ्ख्या २१ हजार पुगेको र त्यसमध्ये धेरै जना यस्ता शंकास्पद ठगी केन्द्रहरूमा संलग्न भएको हुनसक्ने अनुमान गरिएको छ । 

कम्बोडिया सरकारले हालै ९ जना नेपालीलाई विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहेको आरोपमा पक्राउ गरेको छ । प्रवक्ता क्षेत्रीकारअनुसार पक्राउ परेकामध्ये ५ जनालाई सङ्गठित ठगी अपराध सम्बन्धी कसुरमा ‘सिम रिप प्रोभेन्सियल कोर्ट’मा पेस गरिनेछ । बाँकी ४ जनालाई शरीर बन्धक, यातना तथा हिंसात्मक क्रियाकलापमा संलग्न रहेको कसुरमा अनुसन्धानका लागि थुनामा राखिएको छ । योसँगै कम्बोडियामा पछिल्लो समय पक्राउ परेका नेपालीहरूको कुल सङ्ख्या १४ पुगेको छ । 

उनले भने, ‘दक्षिण पूर्वी एशिया क्षेत्रमा सञ्चालित विभिन्न अनलाइन डिजिटल स्क्यामिङ सेन्टरहरूमा ठगीमा परेका नेपालीहरूको पहिचान र उद्धारका विषयमा निरन्तर अद्यावधिक हामीले गर्दै आइरहेका छौँ । थाइल्याण्ड र म्यानमारस्थित नेपाली राजदूतावासहरूबाट सम्बद्ध निकायहरूसँगको समन्वय र सहयोगमा हिजो वैशाख १० सम्ममा कुल ६१२ जनाको उद्धार कार्य सम्पन्न भएको छ । जसमध्ये कम्बोडियाबाट ४८७ जना, म्यानमारबाट १११, लाओसबाट ८ जना र थाइल्याण्डबाट ६ जना नेपालीको उद्धार गरी नेपाल फर्काइएको छ । थप ५३ जनाको ट्राभल डकुमेन्ट बनाई यथाशीघ्र स्वदेश फिर्तीको तयारी समेत गरिएको छ । सन् २०२१ यता विभिन्न उद्देश्यले कम्बोडिया भ्रमणमा जाने नेपालीको सङ्ख्या अहिले २१ हजार पुगिसकेको छ। त्यसमध्ये धेरै जना यस्ता ठगी केन्द्रहरूमा गएको हुन सक्ने अनुमान गरिएको छ। कम्बोडिया सरकारले हालै थप ९ जना नेपालीहरूलाई विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहेको आरोपमा पक्राउ पनि गरेको छ। जसमध्ये ५ जनालाई सङ्गठित ठगी अपराध सम्बन्धी कसुरमा पक्राउ गरी कानुनी कारबाहीका लागि सिम रिप प्रोभेन्सियल कोर्ट समक्ष पेस गरिने र बाँकी ४ जनालाई शरीर बन्धक, यातना तथा हिंसात्मक क्रियाकलापमा संलग्न रहेको कसुरमा अनुसन्धानका लागि थुनामा राखी त्यहाँको सम्बन्धित कोर्टमा पेस गरिने गरी कार्य भइरहेको जानकारी हामीलाई प्राप्त भएको छ। यसअघि हामीले जानकारी गराएका ५ जना नेपालीहरूका लागि जुन भिसा बिना बसेको, राहदानी बिना बसेको लगायतका विषयमा जुन पक्राउ परेको अवस्था थियो, त्यो पनि हाल पेस गरिसकिएको अवस्था छ। यससँगै कम्बोडियाबाट पक्राउ परेका नेपालीहरूको कुल सङ्ख्या पछिल्लो कुल सङ्ख्या १४ पुगेको छ। यस सम्बन्धमा आवश्यक कारबाहीका लागि नेपाली राजदूतावास बैंककबाट पहल समेत भइरहेको छ।’

मन्त्रालयले गैर आवासीय नेपाली सम्बन्धी कानुनलाई संशोधन र एकीकृत गर्न बनेको विधेयकको मस्यौदामाथि सरोकारवालासँग छलफल तीव्रता दिएको छ । परराष्ट्र मन्त्री शिशिर खनालले संविधानको भावनाअनुसार गैर आवासीय नेपालीहरूको ज्ञान, सीप र पुँजीलाई नेपालको विकासमा प्रयोग गर्ने गरी छिट्टै मस्यौदा संसद्मा पेस गरिने जानकारी दिए । 

हालसम्म ५ हजारभन्दा बढी गैर आवासीय नेपालीले नागरिकता लिइसकेका छन् । मन्त्रालयले ५ दिनभित्र विधेयकको मस्यौदालाई परिमार्जन गरी अगाडि बढाउने तयारी गरेको छ । वैदेशिक सम्बन्धलाई थप सुदृढ बनाउन मन्त्रालयले भौतिक पूर्वाधार र उद्योग वाणिज्य मन्त्रालयहरूसँग समेत अन्तर–निकाय समन्वय गरिरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?