स्वास्थ्य अनुसन्धानलाई राष्ट्रिय दायित्वका रूपमा लिनुपर्छ : उपराष्ट्रपति यादव

लोकपथ
28
Shares

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले स्वास्थ्य अनुसन्धानलाई नीति निर्माण र कार्यक्रम कार्यान्वयनको मुख्य आधार बनाउनुपर्नेमा जोड दिएका छन् ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्‌द्वारा आयोजित ‘स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरूको राष्ट्रिय शिखर सम्मेलन’को उद्घाटन गर्दै उपराष्ट्रपति यादवले वैज्ञानिक तथ्य र तथ्याङ्कका आधारमा स्वास्थ्य नीति निर्माण गर्नु संवैधानिक दायित्व भएको बताए ।

उनले स्वास्थ्य अनुसन्धानलाई केवल शैक्षिक अभ्यासमा सीमित राख्न नहुने उल्लेख गर्दै संविधानको धारा ३५ ले स्वास्थ्यलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको स्मरण गराए । उनका अनुसार स्वास्थ्य अनुसन्धानले महामारी नियन्त्रण, रोग व्यवस्थापन र स्वास्थ्य प्रवर्द्धनमा रणनीतिक मार्गदर्शन प्रदान गर्छ ।

उपराष्ट्रपति यादवले अनुसन्धानका निष्कर्षहरूले चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको व्यावहारिक दक्षता अभिवृद्धिमा समेत योगदान पुर्‍याउने बताए । देशमा तीव्र गतिमा भइरहेका परिवर्तनसँगै स्वास्थ्य क्षेत्रमा नयाँ चुनौतीहरू थपिएको उल्लेख गर्दै उनले विशेषगरी नसर्ने रोगहरूको बढ्दो बोझ, जलवायु परिवर्तनको असर र भौगोलिक असमानताले स्वास्थ्य सेवामा चुनौती थपेको बताए ।

उनले अनुसन्धानका नतिजाहरूलाई शैक्षिक प्रकाशनमा मात्र सीमित नराखी प्रत्यक्ष रूपमा नीति र कार्यक्रममा प्रयोग गर्न आग्रह गरे । साथै परम्परागत उपचार पद्धति र आधुनिक वैज्ञानिक अनुसन्धानबीच समन्वय आवश्यक रहेको पनि उनले औँल्याए ।

सम्मेलन ‘प्रमाण आधारित निर्णय तथा कार्यान्वयनका लागि स्वास्थ्य अनुसन्धान शासन’ भन्ने नाराका साथ सुरु भएको हो । तीन दिने उक्त सम्मेलनले अनुसन्धानकर्ता, नीति निर्माता र शिक्षाविद्हरूबिच संवाद र सहकार्यलाई थप सुदृढ बनाउने विश्वास लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?