कैलाली । किसानले यस वर्ष गहुँको उचित मूल्य पाएका छैनन् । गत वर्ष प्रतिक्विन्टल चार हजार रुपैयाँमा गहुँ बेचेका किसान यस वर्ष करिब दुई सय रुपैयाँ कम मूल्यमा बिक्री गर्न बाध्य छन् । हाल गहुँ प्रतिक्विन्टल तीन हजार ८ सय रुपैयाँको हाराहारीमा बिक्री भइरहेको छ । यसैबीच केही दिनअघि परेको वर्षा र हुरीबतासले उत्पादनमा समेत क्षति पुगेको छ ।
किसान रुपलाल चौधरीले धेरै मेहनत गरेर खेती गरे पनि उत्पादनको उचित मूल्य नपाउँदा मर्का परेको बताए । ‘गत वर्षभन्दा कम मूल्यमा गहुँ बिक्री गर्नुपरेको छ, थोरै भए पनि बढी मूल्य पाउनुपर्ने थियो, समयमै मल र बीउ नपाउने, दुःख गरेर खेती गर्दा पनि उचित मूल्य नपाउने समस्या छ,’ उनले भने ।
टीकापुरका मञ्जित रावलले सरकारले गहुँको समर्थन मूल्य समयमै नतोकेका कारण किसानले उचित मूल्य पाउन नसकेको बताए । उनका अनुसार किसानले समयमै मल, बीउ नपाउने र बिक्रीका बेला पनि उचित मूल्य नपाउने समस्या झेलिरहेका छन् । केही दिनअघि हुरीबताससहितको वर्षाले गहुँ उत्पादनमा कमी आएको छ । अहिले सङ्कलन केन्द्रमा पनि उचित मूल्य पाइँदैन, किसानलाई जताबाट पनि घाटा भएको छ ।
टीकापुरका पहलमान साउदले भने प्रतिक्विन्टल चार हजार २ सय रुपैयाँका दरले चार क्विन्टल गहुँ खरिद गरेका छन् । गत वर्ष पनि यही मूल्यमा गहुँ खरिद गर्नुभएका उनलाई यस वर्षको मूल्य ठिकै लागेको बताउँछन् ।
टीकापुरस्थित भीम खाद्यान्न खरिदबिक्री केन्द्रका भीमबहादुर ठडुल्लाले राम्रो (केलाउन नपर्ने) गहुँ प्रतिक्विन्टल तीन हजार ८ सय रुपैयाँसम्ममा खरिद गर्ने गरेको बताए ।
खाद्यान्न व्यवसायीका अनुसार कैलालीमा खरिद गरिएको गहुँ नेपालगन्ज र धनगढीका मैदा मिलमा प्रतिक्विन्टल करिब चार हजार रुपैयाँमा बिक्री हुने गरेको छ । ठडुल्लाले हालसम्म चार सय क्विन्टल गहुँ प्रतिक्विन्टल चार हजार रुपैयाँका दरले बिक्रीका लागि नेपालगन्ज पठाएका छन् ।
यस वर्ष सरकारले गहुँको समर्थन मूल्य तोकेको छैन । समर्थन मूल्य नतोकिँदा खाद्यान्न खरिदबिक्री केन्द्रहरूले मिलसँगको समन्वयमा खरिदबिक्री दर निर्धारण गरिरहेका छन् ।
कृषि मन्त्रालयले समर्थन मूल्य निर्धारणका लागि अध्ययन गरी प्रस्ताव उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पठाइसकेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया