‘सरकारले विद्यार्थी संगठनहरु खारेज गर्ने निर्णय तत्काल फिर्ता लिनुपर्छ’

लोकपथ
126
Shares

काठमाडौं । राष्ट्रिय सभाका सांसद सुरेशकुमार आले मगरले विद्यार्थी संगठनहरु खारेज गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ । 

आइतबार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले सो निर्णय पञ्चायतकालीन निरंकुश तानाशाही व्यवस्थाको झल्को दिएको जिकिर गर्दै तत्काल खारेज गर्न माग गरेका हुन् । 

सांसद आले मगरले कुनै पनि राजनीतिक दलमा संगठनहरु आबद्ध हुने कुरा संविधान र कानुनसम्मत हुने भएकाले सरकारले त्यसलाई प्रतिबन्ध लगाउने काम गर्न नमिल्ने तर्क समेत गरे । 

उनले भने, ‘यो सरकारले विभिन्न दलमा आबद्ध विद्यार्थी संगठनहरुलाई प्रतिबन्ध लगायो भन्ने कुरा विभिन्न सञ्चार माध्यममा आएको छ । बहुदलीय व्यवस्थामा राजनीतिक विचारका आधारमा विभिन्न दलहरू गठन हुन्छन् । ती दलहरूमा विभिन्न संगठनहरु आबद्ध हुन सक्छन् । यो विल्कुल लोकतान्त्रिक कुरा हो । यो लोकतान्त्रिक अभ्यास हो । यो कुनै गैर कानुनी, असंवैधानिक आपत्तिजनक कुरा होइन । त्यसैले यो सरकारले जुन प्रतिबन्ध लगाएको छ  विद्यार्थी संगठनहरुमाथि । यसलाई फिर्ता गरिनुपर्छ । सरकारको यो निर्णयले कतै निरंकुश तानाशाही व्यवस्था, जसलाई नेपाली जनताले ३६ वर्ष अगाडि आर्यघाटमा सेलाएका थिए । त्यो व्यवस्थाको पुनरागमन भएको त होइन ? मलाई त्यस्तो त लाग्दैन । यो सरकार लोकतान्त्रिक हो भन्ने मलाई लाग्दछ । यदि त्यस्तो हो भने विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने यो निर्णय नेपाल सरकारले तुरुन्त खारेज गरोस् । फिर्ता लिइयोस् । 

सांसद आले मगरले बहुदलीय व्यवस्थामा दलहरू छान्ने अधिकार जोकोहीलाई पनि हुन्छ भन्ने कुरामा सरकारले हेक्का राख्नुपर्ने समेत  बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?