व्यवसायी दीपक भट्ट पक्राउ 

लोकपथ
812
Shares

काठमाडौं । व्यवसायी दीपक भट्ट आज पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनलाई केहीबेरअघि पक्राउ गरेको हो । 

कैलाली निवासी भट्टलाई सम्पत्ति शुद्धीकरणको अनुसन्धानको क्रममा पक्राउ गरिएको जनाइएको छ । सम्पत्ति शुद्धीकरण विभागले केही दिनअघि मात्र उनको पासपोर्ट रोक्का गरेको थियो ।

सम्पत्ति शुद्धीकरण विभागले भट्टमाथि सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान गरिरहेको थियो । विभागले भट्टमाथि ३ अर्ब ८१ करोड रुपैयाँ दुरुपयोगको आरोपमा अनुसन्धान अगाडि बढाइरहेको छ । 

भट्टले गम्भीर आर्थिक दुरुपयोगको आशंकामा छानबिन सुरु गरेको विभागले नेपाल बिमा प्राधिकरणलाई गत फागुन २८ गते पत्राचार गर्दै विभिन्न बिमा कम्पनी र कोषहरूको अर्बौँ रुपैयाँ दुरुपयोग गरेको विषयमा ७ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएको थियो । 

विभागका अनुसार भट्टमाथि दोस्रो बजारबाट नेपाल रि–इन्स्योरेन्स कम्पनी लिमिटेडलगायतका विभिन्न कम्पनीहरूको सेयर खरिद गर्नका लागि हिमालयन रि–इन्स्योरेन्स र यससँग आबद्ध अन्य संस्थाहरूको ३ अर्ब ८१ करोड ४६ लाख ४ हजार २३० रुपैयाँ १७ पैसा बराबरको रकम दुरुपयोग गरेको आरोप छ ।

विभागको पत्रमा उल्लेख भएअनुसार भट्टले हिमालयन रि–इन्स्योरेन्सबाट २ अर्ब ७३ करोड ३३ लाख १५ हजार १६०, हिमालयन सेक्युरिटिजबाट २ करोड २१ लाख ९७ हजार १४४ रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सका सहायक कम्पनीबाट ३७ करोड र लार्ज क्याप फन्डबाट २५ करोड १४ लाख ८४ हजार ७४८ रुपैयाँ अपचलन गरेको आरोप छ । यस्तै, नेपाल माइक्रो इन्स्योरेन्सबाट १६ करोड १७ लाख ५२ हजार ८७३ पनि अपचलन गरेको उल्लेख छ ।

सो रकम धितोपत्र दलाल इजाजत नम्बर ५५ रहेको भृकुटी स्टक ब्रोकिङ कम्पनी मार्फत भुक्तानी गरी सेयर खरिद गरेको विभागको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?