प्रहरीले नै अप्रिल फुल मनाएपछि…

लोकपथ
1.9k
Shares

काठमाडौं । आज अंग्रेजी तारिखको पहिलो दिन अर्थात् सन् २०२६ को अप्रिल १ तारिख । यस दिनलाई नेपालीमा झुक्याउने वा अरुलाई मुर्ख बनाउने दिनको रुपमा समेत चर्चा हुन्छ ।

तपाईँ हामी सबैले यस दिनमा अरुलाई झुक्याएका हौँला वा अरुबाट हामी झुक्किएका हौँला । कतिपयले त अरुले झुक्याएर दुख पाएको समेत सुनिन्छ ।

आजैको दिन सामाजिक सञ्जालमा हेर्दा कोही अविवाहितले एआई फोटो प्रयोग गरेर आफू विवाहित भएको, कोही एकाएक विदेश उडेको यस्तै यस्तै रमाइलो गरिरहेका देख्न सक्छौँ ।

पछिल्लो समय आम जनताको शान्ति सुरक्षासँगै सामाजिक सञ्जालमा समेत सक्रिय भएको प्रहरीले नै अप्रिल फुल मनाएको छ ।

तर प्रहरीले माथि भनिएको जस्तो कुनै दुख दिनका लागि भने होइन, सन्देश दिनका लागि त्यसको प्रयोग गरेको देखिन्छ ।

नेपाल प्रहरीको आधिकारिक फेसबुक पेजमा क्यूआर कोडसहित केही लेखिएको एउटा तस्बिर आउँछ । जहाँ लेखिएको छ ‘तपाईँ विरुद्ध कुनै उजुरी वा निवेदन परेको त छैन ? सुनिश्चित गर्नका लागि क्यूआर कोड स्क्यान गर्नुहोस् ।’

जब क्यूआर स्क्यान गरिन्छ अर्को फोटो खुल्छ । जहाँ सुरुमै अंग्रेजीमा अप्रिल फुल भनेर लेखिएको छ ।

प्रहरीले थप भनेको छ, ‘तपाईँले स्क्यान गर्नुभएको क्यूआर कोड सचेतना अभियानको लागि हो । आज हामीले मजाक गरेका थियौँ…. तर भोलि यस्तै क्यूआर बाट तपाईँ स्क्याम मा पर्न सक्नुहुन्छ ।’

प्रहरीले थप सचेत गराउँदै भनेको छ, ‘याद राख्नुहोस्, आफूले नचिनेको व्यक्ति वा अज्ञात स्रोतबाट प्राप्त भएको क्यूआर कोड स्क्यान नगर्नुहोस् । आफूसँगै आफ्नो परिवारलाई पनि सम्झाउनुहोस् । स्क्यान गर्नुअघि सधैँ भेरिफाइ गर्नुहोस् सचेत हुनुस्, सुरक्षित हुनुुस् ।’

कसैलाई झुक्याउने नाममा कसैलाई पनि दुःख नदिऔँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?