काठमाडौं । गृहमन्त्री सुधन गुरुङले मंगलबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको निरीक्षण भ्रमण गरेका छन् ।
निरीक्षण भ्रमणका क्रममा गृहमन्त्री गुरुङले सशस्त्र प्रहरी बल नेपालमा भए गरेका कामकारबाहीबारे जानकारी लिनुका साथै केन्द्रीय परिचालन कक्ष, अनुगमन तथा गुनासो व्यवस्थापन इकाई, बोर्डर रिसोर्स एन्ड रिसर्च सेन्टर तथा विपद् उद्धार सामाग्रीहरूको समेत अवलोकन गरेका थिए ।
भ्रमणका क्रममा गृहमन्त्री गुरुङले विपद् व्यवस्थापनबारे चासो राख्दै सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरूलाई विपद् सुरु हुनु अगाडि नै तयारी हालतमा रहन निर्देशन दिए । उनले आपद् विपद् र कोभिड–१९ को समयमा सशस्त्र प्रहरी बल नेपालसँग हातेमालो गरी नागरिकको जिउधनको सुरक्षा गर्नका लागि आफूसमेत अग्रसर रहेको स्मरण गर्दै आगामी दिनमा पनि आम नागरिकले आपद् विपद्को समयमा सशस्त्र प्रहरी बल नेपाल छ भन्ने महसुस हुने गरी काम गर्नुपर्ने बताए ।

गृहमन्त्री गुरुङले विपद्को समयमा समेत सशस्त्र प्रहरी बल नेपाल एउटा अब्बल सुरक्षा निकायको रूपमा परिचालित भएको बताउँदै विपदमा परेका नागरिकहरूको तत्काल उद्धार कार्यका लागि २ वटा हेलिकप्टर तयारी हालतमा राख्ने गरी मन्त्रालयले काम गरिरहेको बताए ।
उनले ड्युटीको समयमा जुनसुकै ठाउँमा परिचालन हुँदा नागरिक र सुरक्षाकर्मी एउटै हो भन्ने भावना बोकी सबैमा नम्र व्यवहार गर्नुपर्ने उल्लेख गर्दै आपद् विपदमा परेका नागरिकको उद्धारमा खटिँदा नागरिकको मात्र उद्धार नभई उद्धारमा खटिने सुरक्षाकर्मीले आफ्नो सुरक्षा अपनाई परिचालन हुने व्यवस्था ल्याउनुपर्नेमा मन्त्रालयले काम गरिरहेको बताए ।
गृहमन्त्री गुरुङले सीमा क्षेत्रमा हुने अवैध चोरीपैठारी तथा तस्करी रोक्नका लागि मन्त्रालय कठोर भएर अगाडि बढ्ने बताउँदै त्यस्ता कार्यमा कुनै पनि सशस्त्र प्रहरी कर्मचारी संलग्न नरहन आग्रह गरे । उनले सीमा क्षेत्रमा राखिएको नेपालको झन्डालाई कपडाको रूपमा मात्र नलिई देशको अस्तित्व बोकेको पहिचान भएको बताउँदै बोर्डर क्षेत्रमा फहराएको नेपाली झन्डा च्यातिएको अवस्थामा देखियो भने त्यस ठाउँमा खटिएका कर्मचारीलाई सिधै आफूले प्रतिक्रिया राख्ने बताए ।
गृहमन्त्री गुरुङले कार्यक्षेत्रमा परिचालित हुँदा आइपरेका समस्या समाधानका लागि सशस्त्र प्रहरी बल नेपालमा कानुनी व्यवस्थासमेत स्पष्ट नभएको हुँदा त्यसको लागि मन्त्रालय सकारात्मक रहेको बताउँदै नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका कर्मचारीहरू सगँसगै बसी काम गरेको हुँदा सशस्त्र प्रहरी कर्मचारीहरूको समस्या समाधान गर्न आफू हरदम तयार रहेको बताए ।

सीमित स्रोतसाधनको बाबजुद पनि देश र नागरिकको जिउधन सुरक्षाको लागि आफ्नो ज्यानको पर्बाह नगरी खटिएका सशस्त्र प्रहरी कर्मचारीप्रति धन्यवाद दिँदै उनले आफ्नो घर परिवार चलाउनसमेत कठिनाइ परेका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरूको सेवा सुविधामा हेरफेर गर्न नेपाल सरकारलगायत गृह मन्त्रालय सकारात्मक रहेको बताए ।
उनले सशस्त्र प्रहरी कर्मचारीहरू १३/१४ वर्षसम्म एउटै पदमा रही कार्य गर्नुपर्ने बाध्यतालाई समाधान गर्न मन्त्रालय अगाडि बढ्ने बताउँदै संगठनलाई अगाडि बढाउन तथा कार्य क्षेत्रमा परिचालन हुँदा आइपरेका समस्या समाधानका लागि आवश्यक नीति तथा कानुनी व्यवस्था लिखितरूपमा मन्त्रालयमा पेस गर्न निर्देशन दिए ।
गृहमन्त्री गुरुङले आम नागरिक र सुरक्षाकर्मीका लागि केही गर्छु भन्ने आशा र भरोसा बोकी आफू मन्त्रालय आएको बताउँदै सशस्त्र प्रहरी बल नेपालका जुनसुकै दर्जाका कर्मचारीहरूले सरुवा, बढुवालगायतमा समय आयपछि सबैलाई पारदर्शी तरिकाले अवसर दिने बताए ।

उनले सशस्त्र प्रहरी बल नेपालको जनशक्ति अव ब्यारेकमा होइन फिल्डमा हुनुपर्ने बताउँदै विपद् व्यवस्थापनका लागि भरपुर मेहनत गर्नुपर्नेसमेत बताए ।
सोही अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले गृहमन्त्री गुरुङले दिएका नीति तथा निर्देशनले संगठनमा कार्यरत सशस्त्र प्रहरी कर्मचारीहरूको मनोबल उच्च रहने बताउँदै कार्यक्षेत्रमा खटिँदा अनुशासित र परिणाममुखी कार्य गर्न थप प्रेरणा र हौसला मिलेको बताए । उनले अधिकारबिनाको खटाइले कार्यक्षेत्रमा कुनै पनि हालतमा परिणाम दिन नसक्ने कुरा बताउँदै सशस्त्र प्रहरी बल नेपालको कार्यक्षमता अभिवृद्धि गर्न तथा समयानुकूल सुदृढीकरणको लागि २०५८ को विशेष नियमावलीहरूलाई परिमार्जन गरी सक्षम, प्रभावकारी, व्यवसायी बनाउने तथा सीमाको सुरक्षा, सीमा अपराध नियन्त्रण, विपद् व्यवस्थापन, आन्तरिक सुरक्षालगायतका विषयमा स्पष्ट कानुनी व्यवस्थाको प्रस्तावसमेत पेस गरिएको बताए ।
महानिरीक्षक अर्यालले विशेषगरी तल्लो तहका सशस्त्र प्रहरी कर्मचारीहरूलाई तलब सुविधाबाट आफ्नो जीविकोपार्जन गर्नसमेत गाह्रो परेकाले उनीहरूको घरपरिवार तथा बालबच्चाको शिक्षा र स्वास्थ्य नेपाल सरकारले निःशुल्क गर्दिन सक्यो भने जागिर छोडी विदेश गई आर्थिक सुधार गर्छु भन्ने भावना नलिने विश्वास व्यक्त गरे ।
उनले पेन्सन पकाई घर जाने समयसम्म तल्लो दर्जाका कर्मचारीहरू पनि जुनियर अधिकृतसम्म हुने व्यवस्था ल्याउन सकियो भने कार्यक्षेत्रमा खटिने कर्मचारीहरूको मनोबल उच्च रहने बताउँदै जागिर होइन सेवा हो भन्ने भावनाले काम गर्ने विश्वास व्यक्त गरे ।

महानिरीक्षक अर्यालले नागरिकहरूमा आइपरेका विभिन्न चुनौतीहरूको अवस्थामा समेत सशस्त्र प्रहरी साथमा छ भन्ने भावनाले काम गरिरहेको बताउँदै कार्यक्षेत्रमा खटिँदा स्पष्ट नीति र निर्देशनको व्यवस्था नभएको हुँदा परिणाममुखी कार्य गर्न समस्या परेको बताए ।
सो कार्यक्रममा सशस्त्र प्रहरी नायव महानिरीक्षक विष्णुप्रसाद भट्टले सशस्त्र प्रहरी बल नेपालसँग सम्बन्धित विविध गतिविधिबारे प्रस्तुतीकरण गरेका थिए ।
कार्यक्रम देशभरका इकाईहरूमा ‘लाइभ भिडियो स्ट्रीमिङ’, इन्ट्रानेट तथा सशस्त्र प्रहरी सञ्चारद्वारा प्रत्यक्ष प्रसारण हेर्ने र सुन्ने व्यवस्था मिलाइएको थियो ।
कार्यक्रममा गृहसचिव राजकुमार श्रेष्ठ, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू नारायणदत्त पौडेल, बंशीराज दाहाल र गणेशबहादुर ठाडा मगरलगायत सशस्त्र प्रहरी बल नेपालका अधिकृत तथा बिल्लादार जवानहरूको उपस्थिति रहेको थियो ।
बिहान १० बजे सशस्त्र प्रहरी मुख्यालय पुगेका गृहमन्त्री गुरुङ साँझ ६ बजे हाराहारीमा मात्रै बाहिर निस्किएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया