काठमाडौं । पोखरा महानगरपालिकाले आयात प्रतिस्थापन र कृषिमा आत्मनिर्भरताका लागि ठुलो लगानी र योजना अघि सारेको छ ।
मेयर धनराज आचार्यकाअनुसार अहिले पोखरा सयपत्री फूल, बोका–खसी, दूध, अण्डा र तरकारी उत्पादनमा निकै सबल भएको छ र आयातलाई उल्लेख्य रूपमा घटाउन सफल भएको छ । महानगरले किसानलाई प्रोत्साहन गर्न ३६ वटा विभिन्न कृषि उपजहरूमा ‘न्युनतम समर्थन मूल्य’ तोकेको छ ।
यसले गर्दा किसानहरूले आफ्नो उत्पादनको उचित मूल्य पाउने सुनिश्चितता भएको छ । किसानलाई आधुनिक प्रविधिसँग जोड्न ट्रयाक्टर वितरण गर्ने, उन्नत बीउमा अनुदान दिने र अन्य प्राविधिक सहयोग उपलब्ध गराउने काम भइरहेको मेयर आचार्यले बताए । पोखराको यो कृषि मोडल यति सफल भएको छ कि अहिले संघीय कृषि मन्त्रालयका प्रतिनिधिहरू समेत पोखरा आएर यहाँको अभ्यास र किसानलाई दिइएको समर्थन मूल्यको प्रभावकारिताबारे अध्ययन गर्न थालेका छन् ।
उनले भने, ‘हामीले आयात प्रतिस्थापनका लागि कृषिमा पनि प्रशस्त काम गरेका छौँ । चाहे त्यो सयपत्री फूलको कुरा गर्नुस्, चाहे बोका,खसीको कुरा गर्नुस् । दूध अण्डाको कुरा गर्नुस्, चाहे तरकारीको कुरा गर्नुस् । हामी आयात प्रतिस्थापन गर्न हरेक ठाउँमा हामी सबल भएका छौँ । त्यसमा किसानलाई ट्याक्टर वितरण गरेर होस, बीउमा अनुदान दिएर होस् । चाहे अरू खालका टेक्निकल सर्पोट गरेर होस् । हामीले ३६ वटा चिजमा किसानलाई समर्थन मूल्य दिएका छाैँ । आज कृषि मन्त्रालय पनि यसकाबारेमा पोखरामा आएर यसको प्राक्टिसबारे सिक्नुपर्ने अवस्था बनाएका छौँ । त्यसोहुनाले चाहे कृषिको कुरा होस्, चाहे स्वास्थ्य वा शिक्षाको कुरा । सबैमा कामगरिएको छ ।’
कृषि क्षेत्रमा गरिएको यो सुधारले पोखराको ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउनुका साथै शहरको खाद्य सुरक्षामा पनि ठुलो योगदान पुर्याएको उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया