चितवनमा दुग्ध किसान संकटमा : ५५ करोड भुक्तानी रोकिँदा ६ महिनादेखि समस्यामा

लोकपथ
49
Shares

काठमाडौं । चितवन जिल्लाका दुग्ध उत्पादक किसानले दूध बिक्री गरेबापत करिब ५५ करोड रुपैयाँ भुक्तानी पाउन सकेका छैनन् । पछिल्लो ६ महिनादेखि भुक्तानी नपाउँदा किसान गम्भीर समस्यामा परेका छन् ।

जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर वगालेका अनुसार गत कात्तिकदेखि दूधको भुक्तानी नहुँदा किसानहरू आर्थिक संकटमा परेका हुन् । बजारमा समस्या नभए पनि दुग्ध विकास संस्थानसहित ठुला दूध उद्योगहरूले रकम भुक्तानी नगर्दा समस्या उत्पन्न भएको उनले बताए ।

उनका अनुसार संस्थानको ६ महिनादेखि र अन्य ठुला उद्योगहरूको करिब ३ महिनादेखिको भुक्तानी बाँकी छ । साना उद्योगहरूले भने नियमित रूपमा भुक्तानी गरिरहेको जानकारी उनले दिए ।

चितवनमा हाल दैनिक करिब ३ लाख ५० हजार लिटर दूध उत्पादन हुने गरेको छ, जसमध्ये ५० प्रतिशतभन्दा बढी दूध जिल्ला बाहिर बिक्रीका लागि पठाइन्छ ।

जिल्लामा रहेका ११५ दुग्ध उत्पादक सहकारीमार्फत दैनिक दूध संकलन गरी ठुला उद्योगहरूलाई बिक्री वितरण हुँदै आएको छ । तर, उद्योगबाट समयमा भुक्तानी नआउँदा सहकारीहरूलाई किसानलाई रकम दिन कठिन भएको छ ।

चितवनमा करिब ४० हजार किसान दुग्ध उत्पादनमा संलग्न रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?