मध्यपूर्वको तनावले पर्यटकीय सिजनमै छैनन् पोखरामा पर्यटक

लोकपथ
84
Shares

काठमाडौं । मध्यपूर्वमा चर्किएको तनावले अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित हुँदा पर्यटकीय राजधानी पोखरामा पर्यटक आगमन घट्दै गएको छ । अमेरिका–इजरायल र इरानबीच बढ्दो द्वन्द्वका कारण विशेषगरी युरोप र अमेरिकाबाट आउने पर्यटक प्रभावित भएका हुन् ।

पर्यटन व्यवसायीहरूका अनुसार युरोप र अमेरिकाबाट नेपाल आउने अधिकांश पर्यटक दुबई, कतार र साउदी अरेबिया हुँदै ट्रान्जिट गर्ने भएकाले ती क्षेत्र अस्थिर बन्दा यात्रामा अवरोध सिर्जना भएको छ । यसको प्रत्यक्ष असर पोखराको होटल, ट्राभल तथा ट्रेकिङ व्यवसायमा परेको छ ।

पोखरा भ्रमण वर्षका संयोजक गोपी भट्टराईका अनुसार मध्यपूर्वको अवस्थाका कारण पर्यटकहरूले धमाधम होटल, ट्राभल र ट्रेकिङ बुकिङ रद्द गरिरहेका छन् । उनले युरोप र अमेरिकाबाट आउने पर्यटक उल्लेख्य रूपमा घटेको र युद्ध लम्बिँदै जाँदा पर्यटन व्यवसाय थप संकटमा पर्ने चिन्ता व्यक्त गरे ।

‘नेपाल आउने धेरै पर्यटक कतार, दुबईजस्ता ट्रान्जिटबाट आउँछन् । अहिले त्यही क्षेत्र प्रभावित हुँदा पर्यटक आउन सकिरहेका छैनन्, ‘उनले भने, ‘युद्धका कारण इन्धन र ग्यास आपूर्तिमा समस्या देखिन थालेको छ, जसले पर्यटन व्यवसायलाई थप दबाबमा पारेको छ ।’

होटल एशोसिएशन पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले अन्नपूर्ण पदयात्राको दोस्रो मुख्य सिजन (मार्च–मे)मै अपेक्षाकृत पर्यटक नआएको बताए । उनका अनुसार अमेरिकी एड्भाइजरीका कारण पनि अमेरिकन पर्यटकको आगमन न्यून भएको छ भने युरोपियन पर्यटकसमेत अपेक्षित संख्यामा आउन सकेका छैनन् ।

यद्यपि भारतीय तथा आन्तरिक पर्यटकको आगमन भने विगतजस्तै रहेको उनले जानकारी दिए ।

पर्यटक व्यवसायी नेत्र पौडेलले इजरायल, अमेरिका र इरानबीचको तनावले अग्रिम बुकिङहरू व्यापक रूपमा रद्द भइरहेको बताए । ‘यो समय पर्यटकको मुख्य सिजन हो, तर अपेक्षाअनुसार आगमन भएको छैन,‘उनले भने ।

कोरोना महामारीपछि विस्तारै लयमा फर्किन थालेको नेपालको पर्यटन क्षेत्र पुनः अन्तर्राष्ट्रिय तनावको असरमा परेको देखिएको छ । सरोकारवालाहरूले दीर्घकालीन समाधानका लागि नेपाललाई धार्मिक तथा वैकल्पिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न राज्यले रणनीतिक रूपमा काम गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?