टोकियोमा १० हजारभन्दा बढी जापानीद्वारा प्रधानमन्त्रीका नीति विरुद्ध प्रदर्शन

लोकपथ
91
Shares

काठमाडौं । जापानी प्रधानमन्त्री सानाए ताकाइचीको नीतिविरुद्ध टोकियोमा १० हजारभन्दा बढी मानिसहरूले भेला भएर विरोध प्रदर्शन गरेका छन् । 

उनीहरूले देशको शान्तिवादी संविधान संशोधन गर्ने प्रयास र लामो दूरीका क्षेप्यास्त्र परिचालन गर्ने सरकारको योजनाको कडा विरोध गरेका हुन् । 

प्रतिनिधि सभाको सेकेन्ड मेम्बर्स अफिस बिल्डिङ बाहिर भेला भएका प्रदर्शनकारीहरूले युद्ध नगरौँ र संविधान संशोधनको विरोध गरौँ जस्ता नारा लेखिएका प्लेकार्डहरू बोकेका थिए । 

उनीहरूले जापानको शान्तिवादी संविधानको रक्षा गर्न र शान्ति कायम राख्न माग गरेका छन् । सन् १९४७ देखि लागू भएको जापानको संविधानलाई शान्तिवादी संविधानका रूपमा चिनिन्छ । 

यसको धारा ९ मा जापानी जनताले राष्ट्रको सार्वभौम अधिकारका रूपमा युद्ध, र अन्तर्राष्ट्रिय विवादहरू सुल्झाउन बल प्रयोग वा धम्की दिने कार्यलाई सदाका लागि त्याग गरेको उल्लेख छ । प्रधानमन्त्री ताकाइची र अन्य दक्षिणपन्थी राजनीतिज्ञहरूले लामो समयदेखि धारा ९ लाई संशोधन गर्ने प्रयास गर्दै आएका छन् । 

संविधान संशोधनप्रतिको आफ्नो प्रतिबद्धतालाई प्रधानमन्त्रीले हालै पुनः दोहोर्‍याएपछि जापानभर यसप्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?