काठमाडौं । सशस्त्र प्रहरी नायव उपरीक्षक प्रदीप पौडेलसहितका कर्मचारीलाई कारबाहीका लागि काठमाडौँस्थित प्रधान कार्यालय झिकाइएको छ ।
कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) सीमा सुरक्षा गुल्ममा भएको घटनापछि युनिट सुरक्षामा लापरबाही देखिएको भन्दै प्रधान कार्यालय झिकाइएको हो ।
चैत्र ४ गते भारतबाट अवैध रूपमा ल्याइएको सामान नियन्त्रणमा लिने क्रममा केही तस्कर समूह सशस्त्र प्रहरीको कार्यालयभित्रै प्रवेश गरी गुल्म पतिमाथि हातपातको प्रयास गरेका थिए । तर, उक्त अवस्थामा आवश्यक बल प्रयोग नगरेको तथा सुरक्षा व्यवस्थामा कमजोरी देखिएको निष्कर्षसहित सम्बन्धित कर्मचारीलाई मुख्यालय तानिएको हो ।
सशस्त्र प्रहरी प्रधान कार्यालयले घटनालाई गम्भीर रूपमा लिँदै विस्तृत छानबिन अघि बढाएको जनाएको छ । कमाण्डरमाथि आक्रमण प्रयास हुँदा पनि किन बल प्रयोग गरिएन र सुरक्षा व्यवस्थामा किन कमजोरी रह्यो भन्ने विषयमा अनुसन्धान केन्द्रित गरिएको छ । साथै तस्कर समूह कसरी कार्यालयभित्र प्रवेश गर्न सफल भयो भन्ने विषयमा पनि विशेष चासो व्यक्त गरिएको छ ।
यसअघि घटनाको छानबिनका लागि सशस्त्र प्रहरी बल नेपाल नं. ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीले नं.४३ रिजर्भ गण वनबेहडा कैलालीका गणपति सशस्त्र प्रहरी उपरीक्षक अनिल कार्कीको अध्यक्षतामा छानबिन समिति गठन गरेको थियो ।
घटनाका समयमा खटिएका अन्य सशस्त्र प्रहरी कर्मचारीलाई पनि मुख्यालय तानिएको छ भने खक्रौला गुल्ममा सशस्त्र प्रहरी बल नेपाल नं. ३४ गण कैलालीबाट नयाँ टोली खटाइएको छ ।
सशस्त्र प्रहरीले तस्करी नियन्त्रणलाई प्राथमिकतामा राख्दै देशभर अभियान सञ्चालन गरिरहेको र खक्रौला क्षेत्रमा समेत विगतदेखि विशेष निगरानी गर्दै आएको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया