नारायणगढ-मुग्लिन सडकका ४३ ठाउँ पहिरोको जोखिममा

लोकपथ
49
Shares
फाइल तस्बिर

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डका ४३ ठाउँ पहिरोको जोखिममा छन् । सडक डिभिजन कार्यालय भरतपुरले गरेको अध्ययन अनुसार आठ ठाउँ उच्च जोखिममा, २२ ठाउँ जोखिममा र १३ ठाउँ सामान्य जोखिमको अवस्थामा रहेका छन् । कार्यालयले गरेको अध्ययनअनुसार उच्च जोखिम भनिएको तुइन खोला अति उच्च जोखिम रहेको छ । 

कार्यालयका इञ्जिनियर अर्जुन घिमिरेका अनुसार तुइनसँगै काली र नाम्सी खोला उच्च जोखिममा छन् । यस्तै तुइन खोलाबाट चिसेन्जीको बिचको भाग, चार किलोको दुई ठाउँ, मौरी खोला र सेती दोभान पहिरोको उच्च जोखिममा रहेका उनले जानकारी दिए । 

‘तुइन र चिसेन्जीको बिचमा ढुङ्गा झर्ने समस्या छ । तुइन, काली र नाम्सी खोलाको छेउमा पहिरोको उच्च जोखिम छ । चार किलोको दुई ठाउँमध्ये एउटामा पहिरो र अर्कोमा लेदो झर्ने समस्या रहेको छ । मौरी खोला र सेती दोभानमा लेदोसहितको पहिरोको उच्च जोखिम छ, ‘इञ्जिनियर घिमिरेले भने । साथै १६ किलो, १७ किलो, डुम्रे खोला, सिमलताललगायत ठाउँ जोखिममा रहेका उनले जानकारी दिए । 

गत वर्षदेखि ती ठाउँमा पहिरोको जोखिम थियो । कार्यालयका प्रमुख नारायण लामिछानेका अनुसार तुइन, काली र नाम्सी खोलामा पहिरो रोकथाम गर्न खरिद गुरुयोजना स्वीकृतिका लागि माघ २३ गते सडक विभाग पठाइसकिएको छ । विभागले डिजाइन कार्यसमेत अन्तिम चरणमा पुर्‍याएको उनले बताए । ती ठाउँमा विपद्मार्फत विनियोजित रु २५ करोडबाट पहिरो रोकथामको तयारी गरिएको उनले उल्लेख गरे ।  

प्रमुख लामिछानेका अनुसार तीबाहेकका अन्य ठाउँमा पहिरो रोकथामका लागि  २० करोड बजेट विनियोजन भएको छ । बोलपत्र आह्वानका लागि तयारी गरिएको जनाउँदै उनले नक्साङ्कन पूरा भएकाले केही दिनमा बोलपत्र आह्वान गरी बर्सातअघि जोखिम रहेका ठाउँमा पहिरो रोकथाम तथा न्यूनीकरणका काम गरिने बताए । वर्षा सुरु भएसँगै सडक पहिरोको जोखिममा पर्न सक्ने भएकाले आवश्यक तयारीसमेत कार्यालयले गरेको जनाएको छ । 

केही वर्षअघि सडक विस्तारका क्रममा भित्तो काटिएको थियो । भित्तो काटिएका र नयाँ ठाउँमा समेत लेदोसहितको पहिरो खस्दा बर्सातको समयमा यस सडकमा समस्या हुने गरेको छ । यही सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारीसाधन आवतजावत गर्ने गर्दछन् । राजधानी काठमाडौंका लागि यो सडक लाइफ लाइनका रूपमा लिने गरिन्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?