सुर्खेत । बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार गर्न गएका सुर्खेतका ६ जना युवा हराएको खबर सोमबार सनसनी फैलियो । कतिपयले ठाने– निकुञ्जमा सिकारका लागि गएका उनीहरू जीवित छन् र ?
यो शंका–आशंकाबीच स्थानीयवासी र प्रहरी उनीहरूको खोजीका लागि जुटे ।
तर, उनीहरू बेपत्ता हुनुको रहस्य भने अर्कै रहेछ । सिकारीहरूको समूहमध्येका एक जना टोपबहादुर खत्रीको भरुवा बन्दुक पड्केर मृत्यु भएको रहेछ । त्यसपछि अन्य पाँच जना घटना ढाकछोप गर्न भारततर्फ लागेका रहेछन् ।
प्रहरीको खोजतलास र अनुसन्धानका क्रममा सो कुरा खुलेको हो ।
भरुवा बन्दुक पड्केर मृत्यु हुने ३३ वर्षीय टोपबहादुर सुर्खेतको बराहताल–१ का बासिन्दा हुन् । उनको शवको खोजी मंगलबार बिहानैदेखि थालिएको बुधबारसम्म पनि भेटिएको छैन । शवको खोजीमा बर्दिया राष्ट्रिय निकुञ्जको टोलीका साथै नेपाली सेना र प्रहरी परिचालित छन् ।
निकुञ्जका सूचना अधिकारी सरोजमणि पौडेलका अनुसार सम्भावित क्षेत्रमा ड्रोन क्यामेराको प्रयोग गरी खोजी कार्यलाई तीव्र बनाइएको छ । घटनास्थल निकुञ्ज कार्यालयबाट करिब १७ कोष उत्तरतर्फ दुर्गम क्षेत्रमा पर्दछ ।
फागुन २३ गते बराह ताल गाउँपालिका–१ का पाँच जना र लेकवेशी नगरपालिका–८ का एक जना गरी ६ जनाको समूह सिकार खेल्ने उद्देश्यले बर्दिया राष्ट्रिय निकुञ्जको कोर क्षेत्रमा प्रवेश गरेको थियो । उनीहरू भरुवा बन्दुक र घरेलु हातहतियार बोकेर करिब १७ किलोमिटर पैदल यात्रा गर्दै घना जंगल क्षेत्रसम्म पुगेका थिए ।
सिकार टोलीमा रेशम समसेली, रविलाल दमाई, रामबहादुर घर्ती, सुनिल समसेली, टोपबहादुर खत्री र दुर्गाबहादुर सिञ्जाली थिए । स्थानीयका अनुसार उनीहरू मौका छोपेर यसअघि पनि सिकार खेल्न गइरहन्थे । सिकारीको समूह सुगुरखाल नजिकको रातिमाटे क्षेत्रमा पुगेका बेला भरुवा बन्दुक पड्किँदा टोपबहादुर खत्रीको मृत्यु भएको बताइएको छ । यद्यपि बन्दुक कसले बोकेको थियो वा कसरी घटना भयो भन्नेबारेमा विस्तृत खुलेको छैन ।
घटनापछि बाँकी पाँच जना भने तत्कालै घर फर्किए । उनीहरूले आ–आफ्ना परिवारका सदस्यलाई घटनाबारेमा कसैलाई नभन्न आग्रह गर्दै सोही दिन भारततर्फ लागेको खुलेको छ । घटनाबारेमा कसैलाई नभन्न भनेपनि सिकारमा सहभागी सुनिल समसेलीकी आमाले टोपबहादुरका भिनाजु आसे महतारालाई घटनाबारेमा जानकारी गराइन् । महताराले घटनाबारेमा प्रहरी चौकी रानीघाटलाई जानकारी गराए । त्यसपछि मात्रै प्रहरीले घटनाबारे औपचारिक रूपमा जानकारी पायो र खोजी प्रक्रिया सुरु गरियो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक मोहनजंग बुढथापाका अनुसार प्रारम्भिक सूचना प्राप्त हुनासाथ प्रहरी टोली खटाइएको छ । ‘बर्दिया प्रहरीसँग पनि समन्वय गर्दै संयुक्त खोजी अभियान सुरु गरिएको छ,’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया