हावाहुरीले केरा खेती सखाप, बीमा नहुँदा रौतहटका किसान समस्यामा

लोकपथ
35
Shares

रौतहट । केरा खेतीको बीमा नहुँदा रौतहटका किसान ठुलो मारमा परेका छन् । हालै आएको भीषण हावाहुरीले जिल्लाका विभिन्न ठाउँमा लगाइएको केरा खेतीमा व्यापक क्षति पुर्‍याएको छ ।

विशेष गरी चन्द्रपुर नगरपालिकामा धेरै नोक्सानी भएको छ । चन्द्रपुर–३ मा मात्रै करिब डेढ करोड रुपैयाँ बराबरको केरा खेती पूर्ण रूपमा नष्ट भएको छ । चन्द्रपुर–१ को पौराई, –२ को जुडिबेला, –३ को गैँडाटार र –४ को चन्द्रनिगाहपुर क्षेत्रमा पनि ठुलो क्षति पुगेको छ ।

गैँडाटार क्षेत्र केरा उत्पादनको मुख्य ठाउँ मानिन्छ । यहाँ धेरै किसानले व्यावसायिक रूपमा केरा खेती गर्दै आएका छन् । तर हावाहुरीले हजारौँ बोट केरा ढल्दा किसानको वर्षभरिको मेहनत एकै चोटि नष्ट भएको छ ।

स्थानीय कृषक दीपक गौतमका अनुसार लगानी, श्रम र समय सबै गुम्दा किसान आर्थिक रूपमा निकै कमजोर बनेका छन् । उनका अनुसार हरेक वर्ष हावाहुरी, रोग र जङ्गली जनावरका कारण खेतीमा क्षति हुन्छ, तर बीमा नहुँदा सबै नोक्सानी किसानले नै बेहोर्नुपर्छ ।

किसानहरूले पटक–पटक बीमाको व्यवस्था गर्न माग गरे पनि हालसम्म सुनुवाइ नभएको गुनासो गरेका छन् । बीमा कम्पनीहरूले जोखिम धेरै हुने भन्दै केरा खेतीको बीमा गर्न चासो नदेखाएको किसानहरूको भनाइ छ ।

रौतहटमा करिब ४ सय बिघाभन्दा बढी जमिनमा केरा खेती गरिएको छ । यसपटकको हावाहुरीबाट मात्रै ३ करोड रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ ।

चन्द्रपुर–३ का किसान रमेश घिमिरेले केरा खेतीमा बीमा भएमा किसानको लगानी सुरक्षित हुने बताए । अहिलेको अवस्थामा बाली बीमा अत्यन्त आवश्यक भएको उनको भनाइ छ । 

यता चन्द्रपुर नगरपालिकाका प्रमुख सञ्जयकुमार काफ्लेले किसानका लागि बाली बीमा आवश्यक रहेको स्वीकार गर्दै यसका लागि नगरपालिका सहयोग गर्न तयार रहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?