काठमाडौं । सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले आफूहरु न्यायालय सुधारको बाटोमा हिँडिरहेको बताएकी छन् ।
अन्तर्राष्ट्रिय महिला दिवस र महिला न्यायाधीश दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो दाबी गरेकी हुन् ।
न्यायाधीश मल्लले प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले पनि न्यायपालिकालाई साँच्चिकै एउटा जीवित र समावेशी संस्थाकै रुपमा उठाउने प्रयास गरिरहेको बताइन् । उनले न्याय सम्पादन कुनै पनि खालको डर, धम्कीबाट सम्पादन हुनै नसक्ने समेत स्पष्ट पारिन् ।
न्यायाधीश मल्लले मुलुकमा सुशासन र समावेशीतालाई सुनिश्चित गर्न पनि कुनै पनि डर र धम्कीको प्रभावमा नपरी न्याय सम्पादन गर्न आवश्यक रहेको बताइन् ।
उनले भनिन्, ‘न्यायको खोजी गर्न आउने हरेक व्यक्तिलाई सम्मानपूर्वक व्यवहार गरौँ । न्यायको खोजी गर्न आउनेहरुको जुत्तामा आफ्नो खुट्टा राखेर अन्यायको अनुभुति गरौँ । र त्यसपछि न्यायको मर्मलाई बुझेर न्याय सम्पादन गरौँ । कानून जबसम्म मानिसको जीवनसँग जोडिँदैन, त्यो केबल कागजको खोष्टनै हुन्छ ।आज न्यायाधीशहरु केवल कुर्सीमा बसेर फैसला सुनाउने मात्रै होइन, उनीहरु त नेतृत्वको मसाल बोकेर सुधारको बाटोमा पनि हिँडिराखेका छन । यो पनि हामी सन्देश दिन चाहन्छौँ । नयाँ पुस्ताका कानून व्यवसायीका लागि पनि कतिपय न्यायाधीशहरु प्रेरणा बनेका होलान् । पीडितको आवाजको न्यायको मूलधारमा ल्याएर न्यायिक नेतृत्वले अहिलेको नेतृत्वले पनि हाम्रो प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले पनि न्यायपालिकालाई साँच्चीकै एउटा जीवित र समावेशी संस्थाकै रुपमा उठाउन खोज्नु भएको छ । अब हामी माथि दायित्व आएको छ कि–न्यायको ज्योतिलाई हरेक घरको दैलोसम्म पुर्याउने जिम्मेवारी हामीसँग आएको छ । यही बीचमा धेरै परिवर्तन भईराखेका छन । हामी परिवर्तनको संघारमा छौ । यो संघारमा अहिले नयाँ जोश के छ भन्दाखेरी सुशासनको खोजी । समावेशिताका सुनिश्चितता आजको आवाज । यस शिलशिलामा म के भन्न चाहन्छु भने–कुनै पनि डर, कुनै पनि धम्कीबाट न्याय सम्पादन हुन सक्दैन । न्याय सम्पादन कसैले डराएर, कसैले धम्क्याएर, कसैले थर्काएर हुन सक्दैन । हामीले हामीलाई विश्वास गरौ । सुशासन हाम्रो आत्मा हो । कुनै पनि भिडबाट, कुनै पनि धम्कीबाट हामी डराएर न्याय दिन सक्दैनौ । देशमा सुशासन स्थापना गर्न निष्पक्ष, स्वच्छ, र निडर भएर सँगसँगै अगाडि बढौँ । अनि मात्रै लोकतन्त्रको स्थापना हुन्छ। सुशासनको सुनिश्चितता हुन्छ ।’
न्यायाधीश मल्लले न्यायको खोजी गर्न आउने हरेकलाईं सम्मानपूर्वक व्यवहार गर्न पनि सम्बन्धित सबै पक्षलाई सचेत गराइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया