कुनैपनि केन्द्रमा मतदान रोकिएको छैन : निर्वाचन आयोग

लोकपथ
84
Shares

काठमाडौं । देशभरका सम्पूर्ण मतदान केन्द्रहरूमा शान्तिपूर्ण, स्वतन्त्र र उत्साहपूर्ण वातावरणमा मतदान कार्य जारी रहेको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयुक्त डा.जानकीकुमारी तुलाधरका अनुसार हालसम्म देशका कुनै पनि मतदान केन्द्रमा मतदान कार्य रोकिएको छैन र सबै स्थानमा प्रक्रिया सुचारु रूपमा अघि बढिरहेको छ ।

मतदानको पछिल्लो अवस्थाबारे जानकारी दिँदै आयुक्त तुलाधरले मतदाताहरू उत्साहका साथ मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गरिरहेको बताइन् । उनका अनुसार यसपटक निर्वाचनको सुरक्षा व्यवस्थालाई विशेष प्राथमिकता दिइएको छ र मतदान केन्द्रहरूमा शान्त तथा भयरहित वातावरण कायम गरिएको छ ।

उनले निर्वाचन व्यवस्थापनका सबै पक्ष व्यवस्थित रूपमा सञ्चालन भइरहेको उल्लेख गर्दै आम मतदाताले स्वतन्त्र रूपमा मतदान गरिरहेको बताइन् ।

‘आम मतदाताहरू एकदमै स्वतन्त्र किसिमले आफ्नो मतदान गरिरहनुभएको छ । अहिलेसम्म कुनै पनि मतदान केन्द्रमा मतदान रोकिएको जानकारी हामीलाई प्राप्त भएको छैन,’ उनले भनिन् ।

आयुक्त तुलाधरका अनुसार यसपटक मतदान केन्द्रहरूलाई विशेष रूपमा पहुँचयोग्य बनाइएको छ, ताकि सबै वर्ग र समुदायका नागरिकले सहज रूपमा मतदान गर्न सकून् ।

निर्वाचन आयोगले मतदान समय बेलुका ५ बजेसम्म कायम रहेको जानकारी दिँदै समयमै आफ्नो मतदान केन्द्रमा पुगेर अमूल्य मत प्रयोग गर्न सम्पूर्ण मतदातालाई आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?