देशभर पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सु–कुहिरोको सम्भावना

लोकपथ
168
Shares

काठमाडौं । हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका कारण कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लागेको छ भने बाँकी पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका थोरै स्थानहरूमा भने हुस्सु देखिएको छ ।

महाशाखाका अनुसार आज दिउँसो तराईका केही स्थानमा हुस्सु तथा कुहिरो रहने सम्भावना छ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ भने अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

आज राति पनि तराईका केही स्थानमा हुस्सु रहने अनुमान गरिएको छ । साथै कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बादल रहने र बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

तराई भू–भागमा बिहानपख लाग्ने हुस्सु तथा कुहिरोका कारण दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य सेवा साथै हवाई र सडक यातायातमा आंशिक प्रभाव पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?