मुस्ताङको लोमान्थाङबाट २ करोड इलेक्ट्रिक चुरोट बोकेको कन्टेनरसहित एक जना पक्राउ

मुस्ताङ । मुस्ताङ जिल्लाको लोमान्थाङ गाउँपालिका–४ नेचुङबाट सोमबार २ करोड २४ लाख ५९ हजार ३ सय २० रुपैयाँबराबरको इलेक्ट्रिक चुरोट भेपसहित एक जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाउँपालिका–५ बस्ने अन्दाजी ३२ वर्षीय पेमा लामा छन् । 

ना६ख ७५९१ नम्बरको कन्टेनरमा ३÷४ दिन अगाडि चीनबाट अवैध रूपले ल्याई नेपाल–चीन सिमानाको कोरोला नाका अगाडि गाडीमा लोड गरी राखेको ८० कार्टुन इलेक्ट्रिक चुरोटसहित उनलाई पक्राउ गरिएको हो । लामा कन्टेनरका चालक हुन् ।

उनलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट नेचुङबाट सशस्त्र प्रहरी नायव निरीक्षक उदयबहादुर कुमालको कमान्डमा खटिएको सुरक्षा फौजसहित मुस्ताङ भन्सार कार्यालयका कर्मचारी, नेपाल प्रहरी, स्थानीय जनप्रतिनिधिहरूको संयुक्त टोलीले इलेक्ट्रिक चुरोट बोकेको कन्टेनरसहित नियन्त्रणमा लिएको हो । 

बरामद इलेक्ट्रिक चुरोट मुस्ताङ भन्सार कार्यालयमा बुझाइएको छ भने नियन्त्रणमा लिइएका लामालाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय छोसेरमा बुझाइएको छ । 

कन्टेनर बिग्रिएको कारण सो कन्टेनरमा रहेको टिसी पेपर र ट्वाइलेट पेपर भने सोही ठाउँमा भन्सार कार्यालयले सिल गरी राखेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?