भेन्टिलेटरमा रहेको निगमलाई कसले भर्ला अक्सिजन ?

कस्तो हुनुपर्नेछ नयाँ महाप्रबन्धक ?

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) लाई दीर्घकालीन व्यवस्थापकीय संकटबाट उद्धार गर्ने जिम्मेवारी बहन गर्न आउने नयाँ महाप्रबन्धकको खोजी सकिन लागेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा १६ जनाले आवेदन पेस गरेका छन्, जसमा उड्डयन क्षेत्रका अनुभवी पाइलट, इन्जिनियर, व्यवस्थापक र नयाँ अनुहार समावेश छन् ।

यस खुला प्रतिस्पर्धाको नतिजाले राष्ट्रिय ध्वजावाहक कम्पनीको भविष्य निर्धारण गर्नेछ । एक दशकभन्दा बढी समयदेखि ५३ अर्ब रुपैयाँभन्दा बढीको ऋण र लगातारको घाटा झेलिरहेको निगमलाई संरचनागत सुधारको प्रस्तावसमेत छ ।
प्रधानमन्त्री सुशीला कार्कीको निर्देशनमा गठित छनोट समितिले अब आवेदकहरूको छनोट प्रक्रिया अगाडि बढाउने चरणमा छ ।

निगममा समस्या नै समस्याका चाङ
नेपाल वायुसेवा निगमको संकट वा समस्या एउटा वा दुईवटामा मात्रै सीमित छैन, व्यवस्थापन, वित्त र संस्थागत कमजोरीको जटिल जालमा रुमलिएको छ । किनभने निगममा भ्रष्टाचारको लामो इतिहास छ र ती विवादास्पद विमान खरिद प्रकरणहरूसँग जोडिएका छन् । १० वर्षभन्दा पहिलेको वाइडबडी विमान खरिदमा ४ जना नेपालीसहित ७ विदेशी नागरिक दोषी ठहरिएका थिए, जसमा निगमका तत्कालीन महाप्रबन्धक सुगतरत्न कंसाकारलाई मुख्य दोषी ठहर गरिएको थियो ।

यस्तै, गत कार्यकालमा महाप्रबन्धक युवराज अधिकारीविरुद्ध पनि चरम भ्रष्टाचारको उजुरी दर्ता भएको थियो । यी घटनाहरूले संस्थामा नीतिगत कमजोरी र पारदर्शिताको अभावलाई उजागर गरेको छ ।

निगमको ऋण ३७ अर्बबाट बढेर ५३ अर्ब रुपैयाँ पुगेको छ । पूर्व कार्यकारी अध्यक्ष युवराज अधिकारीको ४ वर्षे कार्यकालमा मात्रै ऋणको ग्राफ ४५ अर्बबाट बढेर ५३ अर्ब रुपैयाँ पुग्यो …..

ऋणको भारी
निगमको ऋण ३७ अर्बबाट बढेर ५३ अर्ब रुपैयाँ पुगेको छ । पूर्व कार्यकारी अध्यक्ष युवराज अधिकारीको ४ वर्षे कार्यकालमा मात्रै ऋणको ग्राफ ४५ अर्बबाट बढेर ५३ अर्ब रुपैयाँ पुग्यो । अत्यधिक कर्मचारी भर्ना, नाफामूलक नभएका गन्तव्यमा उडान सञ्चालन र खराब व्यवस्थापनले ऋणको बोझ अझ बढाएको थियो ।

निगमको घाटा वा दुरावस्थाको अर्को कारण भनेको यसको संरचनागत कमजोरी पनि हो । किनभने हाल निगम एक्लैले अन्तर्राष्ट्रिय उडान, ग्राउन्ड ह्याण्डलिङ र आन्तरिक उडान जस्ता विभिन्न सेवाहरूको काम र व्यवस्थापन गरिरहेको छ । जसका कारण निगमको कार्यकुशलतामा कमी आएको विभिन्न अध्ययनहरूले देखाएको छ । यसैकारण उड्डयन क्षेत्र सुधार समितिले निगमलाई तीन भागमा विभाजन गर्ने सुझाव दिएको छ, जुन नयाँ महाप्रबन्धकले यो जटिल संरचनाको चुनौती सम्हाल्नु पर्नेछ ।

सुधारका लागि रणनीतिक प्राथमिकताहरू
आर्थिक रूपमा टाट पल्टन लागेको निगमलाई उद्धार गर्न नयाँ नेतृत्वले आफ्नो सम्पूर्ण शक्ति र विवेक प्रयोग गर्नुपर्ने चुनौती छ । यसको सबैभन्दा ठूलो चुनौती भनेको स्पष्ट व्यापारिक योजना तयार पारी जहाज सञ्चालन गर्नु नै हो । त्यो भनेको नाफामूलक गन्तव्यमा मात्र केन्द्रित भएर विमान सञ्चालन गर्नुपर्नेछ । सुझाव समितिले दिएको सिफारिसअनुसार अन्तर्राष्ट्रिय सेवाका लागि सक्षम जहाज, आन्तरिक सेवाका लागि १८ सिटे विमान र तराई क्षेत्रका लागि ६४ सिटे टर्बोप्रोप जहाज आवश्यक छन्, जुन नेपाल निगमले खरिद गरी वा लिजमा ल्याएर सञ्चालन गर्नुपर्नेछ ।

खरिद प्रक्रियामा पारदर्शिता
निगमले विमान वा पार्टपुर्जा खरिदलाई पारदर्शी र प्रतिस्पर्धी बनाउनु जरुरी छ । अघिल्ला भ्रष्टाचारका घटनाहरूले संस्थाको छवि मात्र होइन, आर्थिक अवस्था पनि दयनीय बनाएको छ । यसकारण विगतबाट पाठ सिकेर निगमले विमान खरिद गर्दा व्यक्तिगत नाफा वा लाभ होइन, संस्थागत सुधार र दीर्घकालीन रणनीतिक योजनाअनुसार काम गर्नुपर्नेछ ।

कर्मचारी व्यवस्थापन वा कटौती
निगमको अर्को समस्या भनेको राजनीतिक भर्तीकेन्द्र वा अनावश्यक कर्मचारीको नियुक्तिसमेत हो । विभिन्न अध्ययनले पनि अनावश्यक रूपमा बढेको कर्मचारी संख्या निगमको ठूलो आर्थिक बोझ रहेको उल्लेख गरिसकेको छ । निगमले आगामी दिनमा कर्मचारीको सिप विकास गरी सक्षम जनशक्ति तयार पारी सीमित मानव श्रोतबाटै काम लिई प्रयोजनविहीन कर्मचारीलाई बिदा गर्नुपर्नेछ । सुधारका लागि गठित सुझाव समितिले पनि कर्मचारीलाई तालिम दिएर सक्षम बनाउन भनेकै छ ।

कस्तो हुनुपर्ला नयाँ नेतृत्व ?
राष्ट्रिय ध्वजावाहकसमेत रहेको नेपाल वायुसेवा निगमको जिम्मेवारी सम्हाल्न आउने महाप्रबन्धकमा केवल प्रशासनिक अनुभव मात्र हुँदैन, निगमको गहिराइमा पुगेर समस्यालाई चिन्ने र समाधान गर्ने दूरदृष्टि भएको व्यक्ति हुनुपर्छ । त्यो भनेको प्रथमतः व्यवस्थापकीय सक्षमता भएको व्यक्ति नै हो ।

निगममा नयाँ आउने महाप्रबन्धकमा उच्च व्यवस्थापकीय क्षमता हुनैपर्छ । उनले दीर्घकालीन रणनीति बनाउन सक्नु पर्छ र व्यक्तिगत लाभलाई नहेरी निगमको बृहत्तर विकासका लागि योजना ल्याउन सक्नु पर्छ । उड्डयन सुधार समितिले पनि अन्तर्राष्ट्रिय एयरलाइन्स व्यवस्थापनमा अनुभवी नेतृत्वको आवश्यकता रेखांकित गरेको छ ।

एआईबाट तयार पारिएको तस्वीर ।

त्यसबाहेक नयाँ महाप्रबन्धकमा निर्णयात्मक क्षमता, जिम्मेवारी र पारदर्शिता जस्ता गुण हुनु अत्यावश्यक छ । विगतमा जस्तै अनियमितताका दाग लाग्न नदिने गरी प्रश्न गर्न नसक्ने गरी काम गर्न सक्ने व्यक्ति हुनुपर्दछ ।

निगमका विगतदेखिका समस्या, वित्तीय अवस्था र कर्मचारी संरचनाको ज्ञान नभएको व्यक्तिले निगमजस्तो जटिल र जेलिएको संस्थालाई सञ्चालन गर्न सक्दैन …

निगममा महाप्रबन्धकको जिम्मेवारी सम्हाल्न आउने अर्को व्यक्तिमा हुनैपर्ने गुण भनेको उक्त संस्थाबारे गहिरो ज्ञान भएको व्यक्ति पनि हुनुपर्छ । निगमका विगतदेखिका समस्या, वित्तीय अवस्था र कर्मचारी संरचनाको ज्ञान नभएको व्यक्तिले निगमजस्तो जटिल र जेलिएको संस्थालाई सञ्चालन गर्न सक्दैन भन्ने देखिइसकेको छ ।

संरचनागत सुधार नै पहिलो प्राथमिकता
खुला प्रतिस्पर्धाबाटै महाप्रबन्धक छनोट गर्ने सरकारको निर्णयलाई सुधारको पहिलो चरणको रूपमा हेर्नुपर्दछ । तर दीर्घकालीन समाधानका लागि संरचनागत परिवर्तन अपरिहार्य छ । उड्डयन क्षेत्र सुधार समितिले निगमलाई अन्तर्राष्ट्रिय सेवाका लागि नेपाल एयरलाइन्स कम्पनी लिमिटेड, ग्राउन्ड ह्याण्डलिङका लागि नेपाल उड्डयन सेवा प्रदायक कम्पनी लिमिटेड र आन्तरिक सेवाका लागि नेपाल वायुसेवा निगम गरी तीन वटा स्वतन्त्र इकाईमा विभाजन गर्न सुझाव दिएको छ ।

महाप्रबन्धकको पद केवल प्रशासनिक जिम्मेवारी मात्र होइन, एउटा राष्ट्रिय ध्वजावाहक चलाउने संस्थालाई भेन्टिलेटरबाट बाहिर ल्याउने ऐतिहासिक अवसर र दायित्व पनि हो

निगमको यो खण्डीकरणले प्रत्येक इकाईलाई आफ्नो सेवामा विशेषज्ञता हासिल गर्न मद्दत गर्ने दाबी गरिएको छ भने अन्तर्राष्ट्रिय साझेदारी वा निजी लगानीको सम्भावना पनि बढाउने भनिएको छ । नयाँ महाप्रबन्धकले यस सुधार प्रक्रियालाई अगाडि बढाउनमा निर्णायक भूमिका खेल्नुपर्नेछ । तर आफै कमजोर हुने र अधिकार खुम्चने कुरामा नयाँ महाप्रबन्धकले पाइला अगाडि बढाउलान् कि आलटाल गर्लान् भन्ने कुरा पनि ख्याल गर्नुपर्ने हुन्छ ।

यसर्थ, नेपाल वायुसेवा निगमको ४५औँ महाप्रबन्धकको पद केवल प्रशासनिक जिम्मेवारी मात्र होइन, एउटा राष्ट्रिय ध्वजावाहक चलाउने संस्थालाई भेन्टिलेटरबाट बाहिर ल्याउने ऐतिहासिक अवसर र दायित्व पनि हो । १६ जना आवेदकमध्ये जसले यो पद सम्हाल्नेछन्, उनले भ्रष्टाचारको इतिहास, वित्तीय संकट र संरचनागत कमजोरीलाई सम्बोधन गर्नुपर्नेछ । अनि राजनीतिक आग्रह वा पूर्वाग्रहबाट बाहिर रही पारदर्शी र जबाफदेही नेतृत्व प्रदान गर्नुपर्ने जिम्मेवारीसमेत रहनेछ । सरकारले गैर-दलीय आधारमा गरेको यो छनोट प्रक्रिया नै नेपाल वायुसेवा निगमको भविष्यका लागि नयाँ सुरुवात साबित हुनसक्ने अवसर हो ।

तर अझै पनि नयाँ महाप्रबन्धकको नियुक्ति सही तरिकाले समयमै हुन्छ भन्नेमा विश्वस्त हुने अवस्था छैन । किनभने कोही उमेर हदको कारण देखाउँदै त कोही अन्य कारण देखाएर महाप्रबन्धकको नियुक्ति रोक्न अदालत गइरहेका छन्, जाँदै छन् । अदालतमा गएर स्टे अर्डर लिन सकिए महाप्रबन्धकको नियुक्ति प्रक्रिया रोकिने र फेरि पनि पुरानै व्यक्तिहरूले हालीमुहाली गर्न पाउने सोचका साथ काम भइरहेकै छ ।

अबको एक दुई दिनमै आवेदकहरूबाट सर्ट लिस्टिङ गरी व्यावसायिक योजना प्रस्तुतिका लागि बोलाउनुपर्ने हुन्छ । अनि प्रस्तुतिका आधारमा कम्तीमा तीन जनालाई नियुक्तिका लागि सिफारिस समितिले सरकारसमक्ष पेस गर्नुपर्नेछ । त्यसपछि मात्रै सरकारले निगमको नयाँ महाप्रबन्धकको नियुक्ति गर्नेछ ।

तर यो सबै प्रक्रिया पूरा गर्न समय लगाउने हो भने निर्वाचन आचारसंहिता लागू हुन्छ र महाप्रबन्धकको नियुक्ति प्रक्रिया नै रोकिने छ । यस्तो हुँदा फेरि पनि पुराना अनुहार र निगममा लाभ लिइरहेका व्यक्तिहरूले नै निगमको व्यवस्थापन सम्हाल्ने छन् जसले निगमलाई थप धरासयी बनाउँदै लैजाने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?