काठमाडौं । नेपाल आर्थिक रूपान्तरणको संवेदनशील मोडमा उभिएको बेला उद्यमशीलता र व्यवसायप्रतिको अविश्वास खतरनाक रूपमा बढ्दै गएको छ । सफलताप्रति शंका, ‘धनी भए भ्रष्ट’ भन्ने जड सोच र युट्युबर तथा स्वघोषित सामाजिक अभियन्ताहरूले फैलाइरहेका अधुरा र भड्काऊ सामग्रीले हाम्रो सामूहिक मानसिकतालाई नकारात्मक दिशातर्फ धकेलेको छ ।
हालै देखिएको जेनजी समुदायको आन्दोलनका क्रममा व्यापारिक घरानामाथि भएको तोडफोड, धम्की, दुष्प्रचार र लक्षित आक्रमण केवल क्षणिक आक्रोशको परिणाम होइन; यी कार्यहरूले नेपालको आर्थिक मेरुदण्डमाथि सीधै चोट पुर्याइरहेका छन् ।
हाम्रो समाजमा एक खतरनाक प्रवृत्ति गहिरिएर बसेको छ, त्यो हो- कोही अगाडि बढ्यो भने तुरुन्तै उसको चरित्र हत्या गर्न खोज्ने, गाडी चढ्यो भने ‘अब त भ्रष्ट भयो’, घर बनायो भने ‘अब त लुट्यो’, सफल भयो भने ‘कसैको पैसा खायो होला’ भन्ने हल्ला चलाउने बानीले युवाको उद्यम गर्ने आत्मविश्वास तोड्दै लगानीकर्तालाई पनि टाढा धकेलेको छ । सफलता अपराध होइन, अपराध गरेर धनी हुनु अपराध हो । सबै धनी मानिस अपराधी हुँदैनन्, तर उनीहरूलाई जथाभाबी ‘लुटाहा’ को भर्चुअल ट्याग लगाइँदा रोजगार सिर्जना गर्ने, कर तिर्ने, बजार चलाउने र नवप्रवर्तन ल्याउने व्यवसायी निरुत्साहित हुन्छन्, जसको प्रत्यक्ष असर समग्र अर्थतन्त्रमा पर्छ ।

हालै विभिन्न होटेल, उद्योग र ठुला सप्लाई चेनहरूमा भएका भीड-आधारित आक्रमणहरू यस नकारात्मक मानसिकताको ठोस उदाहरण हुन् । हिल्टन र बगैँचा होटेलमाथि भएको हमला, प्रतिष्ठित होटेलहरूमाथि सोसल मिडियामार्फत गरिएको दुष्प्रचार र भाटभटेनी जस्ता हजारौँलाई रोजगारी दिने सुपर स्टोरमाथि गरिएको आक्रमण कुनै गम्भीर वैचारिक आन्दोलन होइन, गलत सूचना, व्यक्तिगत ईष्र्या र भड्काउने सामग्रीको प्रत्यक्ष परिणाम हो ।
यस्ता संस्थामाथि आक्रमण गर्नु भनेको त्यहाँ काम गर्ने कर्मचारीको रोजगारी, किसान र आपूर्तिकर्ताको व्यापार, उपभोक्ताको पहुँच र समग्र व्यापारिक वातावरणमाथि प्रहार गर्नु हो । एउटा होटेल जलेको वा एउटा ठुला रिटेल चेन डग्मगिएको देखिँदा त्यो केवल त्यही संस्थाको समस्या हुँदैन, यसको ‘रिप्पल इफेक्ट’ ले पर्यटन, यातायात, बैंकिङ, कृषि, सेवा, साना उद्यम र आपूर्ति प्रणाली सबै प्रभावित हुन्छ ।
कोही अगाडि बढ्यो भने तुरुन्तै उसको चरित्र हत्या गर्न खोज्ने, गाडी चढ्यो भने ‘अब त भ्रष्ट भयो’, घर बनायो भने ‘अब त लुट्यो’, सफल भयो भने ‘कसैको पैसा खायो होला’ भन्ने हल्ला चलाउने बानीले युवाको उद्यम गर्ने आत्मविश्वास तोड्दै लगानीकर्तालाई पनि टाढा धकेलेको छ …….
यस्तै नकारात्मक वातावरणको प्रत्यक्ष असर खेलकुद र मनोरञ्जनजस्ता क्षेत्रमा पनि देखिन थालेको छ । पोखरामा आयोजना गरिएको एभरेष्ट वुमन्स लिग जस्तो अन्तर्राष्ट्रियस्तरको भलिबल प्रतियोगिता यसका स्पष्ट उदाहरण हो । देशभर नकारात्मक सन्देश र अस्थिरताको हल्ला फैलिँदा धेरै विदेशी खेलाडीहरू डराए, दुःखी भए, क्रुद्ध भए र अन्ततः धेरै जना बिचैमा नेपाल छाडेर आ-आफ्नो देश फर्कन बाध्य भए । नेपालप्रति उनीहरूमा रहेको उत्साह भय र अविश्वासमा बदलिँदा केवल खेलाडी मात्र होइन, प्रतियोगितामा लगानी गरेका नेपाली तथा विदेशी लगानीकर्ताले पनि ठुलो आर्थिक घाटा बेहोर्नु पर्यो । विदेशी खेलाडी बिना, लिगको स्तर, प्रतिस्पर्धात्मकता र दर्शकको अनुभव दुवै कमजोर बने, जसले ‘नेपाल सुरक्षित र आकर्षक निवेश गन्तव्य हो’ भन्ने सम्भावित अन्तर्राष्ट्रिय सन्देशलाई उल्ट्याएर ‘नेपाल अस्थिर र जोखिमपूर्ण’ देखाउने काम गर्यो ।

विश्वका सफल राष्ट्रहरूले उद्योग, व्यापार र पर्यटनलाई राष्ट्रको प्रमुख आर्थिक इन्जिनका रूपमा संरक्षण र सम्मान गरिरहेका छन् । भियतनामले निर्यातमुखी उद्योगसँगै पर्यटनलाई समान प्राथमिकतामा राखेर कृषि, सेवा, यातायात, बैंकिङ, हस्तकला र स्थानीय उत्पादन सबैलाई एकैसाथ अगाडि बढाउने रणनीति अपनाएको छ । त्यहाँ राज्य, निजी क्षेत्र र सर्वसाधारणबिच उद्यमशीलताप्रतिको न्यूनतम सम्मान र विश्वास छ । तर नेपालमा भने हामी आफ्नै होटेल, आफ्नै उद्योग, आफ्नै सुपर मार्केट, आफ्नै खेलकुद लिग, आफ्नै लगानीकर्तालाई गलत सूचनाको लहरमा परेर भीडको हातबाट अपमानित गराइरहेका छौँ । यस्तो व्यवहारले अन्तर्राष्ट्रिय समुदायको नजरमा नेपाललाई असुरक्षित, अराजक र लगानीका लागि जोखिमपूर्ण देशका रूपमा प्रस्तुत गरिरहेको छ, जसको प्रत्यक्ष परिणाम पर्यटकीय आगमनमा कमी, विदेशी लगानीको ह्रास र स्थानीय उद्योगहरूको निरन्तर कमजोर अवस्थाका रूपमा देखिन सकिन्छ ।
यस परिस्थितिलाई नियन्त्रण गर्न राज्यको भूमिका अत्यन्त निर्णायक हुन्छ । गलत काम गर्ने व्यवसायीमाथि कानुनी रूपमा कठोर कारबाही हुनु आवश्यक छ, तर सोसल मिडियाको हल्ला, अधुरो तथ्य र भावनाको उक्साहटको आधारमा इमानदार व्यवसायीलाई ‘भ्रष्ट’ को सजाय दिनु न्यायिक दृष्टिले मात्र होइन, आर्थिक दृष्टिले पनि घातक छ । भीड हिंसा, तोडफोड र दुष्प्रचारमा संलग्न व्यक्तिहरूलाई समयमै कानुनी जबाफदेहितामा नलगिए दीर्घकालीन रूपमा उद्योग बन्द, रोजगारी घट्ने, लगानीकर्ता भाग्ने र अर्थतन्त्र अस्थिर हुने खतरा थप गम्भीर बन्छ । त्यही सन्दर्भमा खेलकुद, पर्यटन र मनोरञ्जनका क्षेत्रमा गरिएको लगानीलाई सुरक्षित गर्ने, विदेशी खेलाडी, पर्यटक र लगानीकर्तालाई आत्मविश्वास दिलाउने र कानुनको शासन स्पष्ट रूपमा देखिने वातावरण निर्माण गर्नु अत्यावश्यक छ ।
नेपालले समृद्ध भविष्य रोज्ने हो भने ‘धनी भए बेइमान, गरिब भए इमानदार’ भन्ने पुरानो सोच त्यागेर उद्यमशीलता र सफलताप्रति सम्मानजन्य दृष्टिकोण अपनाउनै पर्छ । व्यवसायी र लगानीकर्ताहरू राष्ट्रका आर्थिक इन्जिन हुन्, उनीहरूलाई सुरक्षित राख्नु र सम्मान गर्नु राष्ट्र निर्माणकै अविभाज्य हिस्सा हो । उद्यमी उठे भने राष्ट्र उठ्छ, उद्यमी ढले भने राष्ट्र पनि कमजोर हुन्छ । त्यसैले अब तथ्यलाई हल्लाभन्दा माथि राख्ने, कानुनलाई भीडभन्दा अगाडि उभ्याउने र व्यवसायी, खेलकुद लगानीकर्ता तथा उद्यमशील युवालाई अपराधी होइन, राष्ट्रनिर्माताका रूपमा हेर्ने मानसिकता विकास गर्नु नेपालको आर्थिक भविष्य बचाउने पहिलो र अनिवार्य कदम हो ।
(पर्यटन तथा खेलकुद उद्यमी पराजुली नेपालमा खेल पर्यटन विकासमा समेत गहिरो रुचि राख्छन् ।)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया