काठमाडौं । हालको आधुनिक र अप्राकृतिक जीवनशैली, असन्तुलित खानपान, वातावरणीय प्रदूषण र विभिन्न रसायनको अत्यधिक प्रयोगका कारण अब स्तन क्यान्सर वयस्क महिला मात्र होइन, किशोरी उमेरका बालिकालाई पनि तीव्र रूपमा देखिन थालेको छ ।
विशेषज्ञहरूका अनुसार विगतमा प्रायः ३० वर्षभन्दा माथिका महिलामा मात्र स्तन क्यान्सर देखिन्थ्यो । तर अहिले नेपालजस्तो विकासउन्मूख देशमा किशोरी तथा युवा महिलामा समेत यसको जोखिम बढ्दै गएको छ ।
सानै उमेरमा स्तन क्यान्सरको खतरा वा संक्रमण बढ्नुका प्रमुख कारणहरुमा बढ्दो औद्योगिकीकरण, शरीरमा हुने हर्मोनल असन्तुलन, जंकफूडको बढी सेवन, शारीरिक निष्क्रियता र प्रदूषित वातावरण रहेका छन् ।

गाइनोलोजिस्ट डा. जागेश्वर गौतमले महिलाहरूमा स्तन क्यान्सरको जोखिम बढ्दै गएको भन्दै सचेत रहन र नियमित रूपमा स्वास्थ्य परीक्षण गर्न आग्रह गरेका छन् ।
उनका अनुसार महिलामा देखिने विभिन्न प्रकारका क्यान्सरमध्ये स्तन क्यान्सर दोस्रो स्थानमा पर्छ । नेपालमा यसको दर तीव्र रूपमा बढ्दो क्रममा रहेको र अहिले पनि यसको कारणबारे विभिन्न अध्ययन अनुसन्धान भइरहेको उनले बताए ।
उनका अनुसार स्तन क्यान्सर वंशाणुगत कारणसँगै हर्मोन रिप्लेसमेन्ट थेरापी, कम उमेरमै महिनावारी सुरु हुने र महिनावारी ढिलो बन्द हुने महिलामा बढी देखिने गरेको छ ।
डा. गौतमका अनुसार यस्ता महिलाको शरीरमा एस्ट्रोजन हर्मोनको मात्रा बढी हुने भएकाले स्तन क्यान्सरको जोखिम उच्च हुन्छ ।
उनले समयमै नियमित स्वास्थ्य परीक्षण र स्तनको स्क्रिनिङ गराउँदा स्तन क्यान्सरको जोखिम घटाउन सकिने सुझाव दिएका छन् ।
के हो स्तन क्यान्सर ?
क्यान्सर भन्नाले शरीरका कोषहरू अनियन्त्रित रूपमा बढ्दै जाने अवस्थालाई जनाउँछ । स्तनमा रहेका दूध बनाउने कोष (लोब्युल्स) र दूध बग्ने नली (मामरी डक्ट्स) अनियन्त्रित रूपमा बढ्न थाले स्तन क्यान्सरको सुरुवात हुन्छ । समयमै नियन्त्रण गर्न नसकिएमा यो रगत वा लिंफाटिक माध्यमबाट शरीरका अन्य भागहरूमा पनि फैलिन सक्ने उनले बताए ।
उनका अनुसार स्तन क्यान्सर हुँदा स्तनमा गाठागुठी आउने, रगत वा पीप बग्ने, स्तनको आकारमा असामान्य वृद्धि हुने र सुन्निने जस्ता लक्षण देखिन सक्छन् ।
डा. गौतमले भने, ‘स्तनभित्रका कोषिकाहरूको असामान्य वृद्धिका कारण यो रोग हुने गर्छ । यस्तो क्यान्सर स्तनको कुनै पनि भागमा विकास हुन सक्छ ।’
सुरुमा सानो रूपमा देखा पर्ने स्तन क्यान्सर समयमै उपचार नपाए शरीरका अन्य भागमा समेत फैलिन सक्ने गौतमले बताए ।
उनले महिलालाई प्रारम्भिक लक्षण देखिएपछि ढिला नगरी अस्पतालमा सम्पर्क गर्न आग्रह गरेका छन् ।
‘‘बढ्दो औद्योगिकीकरण, शरीरमा हुने हर्मोनल असन्तुलन, जंकफूडको बढी सेवन, शारीरिक निष्क्रियता र प्रदूषित वातावरणले किशोर अवस्थामै स्तन क्यान्सरको खतरा बढाइरहेको छ ।’’
‘स्तन क्यान्सर जोसुकै महिलालाई पनि हुन सक्छ,’ उनले भने, ‘उमेर, वंशानुगत कारण, हर्मोन असन्तुलन, सन्तान र स्तनपानसँग सम्बन्धित कारण, अस्वस्थ जीवनशैली, मोटोपना, धूम्रपान र मद्यपानले यसको जोखिम बढाउँछ ।’
डा. गौतमले प्रारम्भिक चरणमै रोग पत्ता लगाउन सके उपचार सजिलो र प्रभावकारी हुने भएकाले महिलाहरूले समय–समयमा स्तन परीक्षण गरिरहनुपर्ने बताए ।
उनका अनुसार स्तन क्यान्सर पहिलो चरणमै पत्ता लागेमा रोकथाम सम्भव भए पनि पछिल्ला चरणका क्यान्सर रोक्न कठिन हुने बताउँदै उनले नियमित स्वास्थ्य परीक्षण, ब्रेस्ट स्क्रिनिङ र म्यामोग्रामजस्ता परीक्षणमार्फत यसको जोखिम केही हदसम्म घटाउन सकिन्छ ।
गौतम भन्छन्, ‘स्तनमा गाठागुठी देखिनु अघि नै स्क्रिनिङ गराउनु आवश्यक हुन्छ । तर नेपालमा धेरैजसो महिला स्तनमा गाठा वा असामान्य लक्षण देखिएपछि मात्र परीक्षणका लागि जाने गरेका छन् । यस्तो प्रवृत्ति गलत हो ।’
स्तन क्यान्सर पहिचान गर्न कुन विधि प्रयोग गरिन्छ ?
स्तन क्यान्सरको पहिचान गर्न गरिने ‘बायोप्सी’ नै सबैभन्दा निर्णायक परीक्षण विधि हो । ‘बायोप्सीलाई ठुलो उपचार वा डर लाग्ने कुरा जस्तो नसोच्नुहोस् । यदि चिकित्सकले गर्न भनेका छन् भने यो आवश्यक छ,’ गौतमले भने ।
स्तन क्यान्सर पहिचानका लागि मेमोग्राफी, एमआरआई वा अल्ट्रासाउन्डजस्ता परीक्षण पनि गर्ने गरिन्छ ।
गर्भवती वा स्तनपान गराइरहेकी महिलामा पनि धेरै पटक गाँठो देखिन्छ । यस्तो अवस्थामा चिकित्सकको सल्लाह लिनु आवश्यक हुने गौतमले बताए ।

स्तन क्यान्सरबाट बच्ने दर कति छ ?
क्यान्सर पत्ता लाग्दा धेरैको पहिलो मनमा आउने प्रश्न हुन्छ, ‘मेरो बाँच्ने सम्भावना कति छ ? चिकित्सकहरूका अनुसार, बाँच्ने (सर्भाइभल रेट) यस विषयमा अनुमान दिन सक्ने एक महत्त्वपूर्ण संकेत हो ।
बाँच्ने दरले निदानपछि केही वर्षसम्म कति प्रतिशत मानिसहरू जीवित रहेका छन् भन्ने जानकारी दिन्छ । उदाहरणका लागि ५ वर्षको बाँच्ने दर ९० प्रतिशत भएमा, १० मध्ये ९ जना क्यान्सर रोगीहरू निदानपछि कम्तीमा ५ वर्ष बाँचेको अर्थ हुन्छ ।
विशेषज्ञहरूले भने, ‘बाँच्ने दरले पूर्ण भविष्यवाणी नगरे पनि, रोगी र परिवारलाई उपचार र योजना बनाउन सहयोग पुर्याउने महत्त्वपूर्ण सूचक हो । रोगको प्रकार, चरण, उमेर, स्वास्थ्य स्थिति र उपचार प्रक्रिया अनुसार बाँच्ने दर फरक पर्न सक्छ ।’
डा. गौतमले भने, ‘बाँच्ने दरलाई हेरेर मात्र डर वा आशा नगर्नुहोस् । नियमित परीक्षण, समयमै उपचार र जीवनशैली सुधारले बाँच्ने सम्भावना बढाउन सकिन्छ ।’
(गाइनोलोजिस्ट डा.जागेश्वर गौतमसँग कुराकानीमा आधारित)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया