घटेन रेबिजको संक्रमण, निर्मूलको लक्ष्य भेट्टाउनै मुस्किल

रेबिज रोग लागेमा मृत्यु निश्चित छ

काठमाडौं । रेबिज जनावरको टोकाइबाट सर्ने एक प्राणघातक भाइरल रोग हो । संक्रमित कुकुर, स्याल, फ्याउरा जस्ता जनावरबाट यो रोग मानिसमा सर्छ । मुख्य भाइरसले मस्तिष्कमा असर गर्ने भएकाले लक्षण देखिएपछि रेबिज घातक बन्छ ।

नेपाल सरकारले सन् २०३० सम्ममा रेबिज रोग शून्यमा ल्याउने लक्ष्य लिएको छ  । तर, विशेषज्ञहरू भने आम जनताले बेवास्ता गर्दा यो लक्ष्य भेट्टाउन मुस्किल हुँदै गएको बताउँछन् ।

सरुवा रोग विशेषज्ञ डा. शेर बहादुर पुनका अनुसार, मानिसहरूले रेबिज रोगलाई बेवास्ता गरेमा यसको नियन्त्रण गाह्रो हुन्छ  । नेपालमा समय समयमा खोपको अभाव भए पनि सरकारले निःशुल्क खोप प्रदान गर्दै आएको छ । त्यसका बाबजुद पनि रेबिजको अवस्था भने यथावत् रहेको छ ।

डा. पुनका अनुसार जुनसुकै जनावरले टोकेको भए पनि तुरुन्तै रेबिजको खोप लगाउनुपर्छ । समयमै खोप लगाउनाले जीवन रक्षा गर्न महत्त्वपूर्ण भूमिका खेल्छ ।

डा. पुन रेबिजको संक्रमण रोक्न व्यक्तिगत सुरक्षा, जनावरको नियन्त्रित व्यवस्थापन र समयमै खोप लगाउनु अनिवार्य रहेको बताउँछन् । यसै सन्दर्भमा हामीले डा. पुनसँग रेबिज रोग, यसको समाधान र सचेतनातर्फ टेलिफोन संवाद गरेका छौँ । उनीसँगको कुराकानीको सार संक्षेप यस्तो छ । 

रेबिज रोग कसरी सर्छ ?

यो रोग खास गरी रोगी जनावरले टोकेको अवस्थामा र्‍यालको माध्यमबाट सर्दछ । रेबिज रोग लागेर बहुलाएको जनावरहरूको घाउ चाटेमा वा च्यातिएको छाला वा मुखमा र नाकमा र्‍याल परेमा पनि रोग सर्न सक्छ । रेबिज रोगको विषाणुले स्नायु प्रणालीमा असर गर्दछ ।

दक्षिण पूर्वी एसियाका मानिसहरूमा ९६ प्रतिशत रेबिज रोग कुकुरको टोकाइबाट सर्ने गरेको पाइएको छ । यसको अलावा अन्य जनावरहरू जस्तै बिरालो, न्याउरी मुसा, स्याल, ब्वाँसो, फ्याउरो र अन्य मांसाहारी जनावरहरूको टोकाइबाट पनि रोग सर्ने गरेको रिर्पोटहरु छन् । तर बाँदर र मुसाहरूबाट बिरलै सर्ने गरेको पाइएको छ ।

स्याल वा फ्याउराले टोकेमा के गर्ने ?

– टोकेको घाउमा १५ मिनेटसम्म साबुनपानीले सफा गर्ने,

– त्यसपछि तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा गई रेबिजविरुद्धको खोप लगाउने ।

रेबिज रोगका सुरुवाती लक्षण केके हुन् ?

– ज्वरो आउने,

– खुट्टा झमझमाउने,

– रुघा, खोकी लाग्ने,

– हावा वा पानीदेखि डराउने (एरोफोबिया र हाइड्रोफोबिया)

– आक्रामक (एग्रेसिभ) देखिने

डा. पुनका अनुसार यी लक्षण देखिएपछि रेबिजको उपचार सम्भव हुँदैन । नेपालमा हालसम्म रेबिज लागेपछि सबै संक्रमितको मृत्यु भएको छ ।

रेबिजको खोप एन्टिर्याबिज भ्याक्सिन हो, जुन सबै उमेरका मानिस, बालबालिका, वृद्ध र गर्भवतीले पनि लगाउन मिन्छ । खोप लगाइसकेपछि केहीलाई हल्का ज्वरो, दुखाइ वा फ्लू जस्ता लक्षण देखिन सक्छन् ।

नेपालमा रेबिज नियन्त्रणको अवस्था

डा. पुनका अनुसार नेपालमा रेबिज पुरानो रोग भए पनि अझै नियन्त्रणमा आउन सकेको छैन । वर्षेनी दर्जनौँ मानिसको मृत्यु यही रोगका कारण हुने गरेको छ ।

डा. पुनका अनुसार रेबिज बढ्नुका मुख्य कारण यस प्रकार छन् :

– कुकुरले टोकेपछि सानो घाउ भन्दै बेवास्ता गर्ने,

– सानो कुकुरले टोकेपछि जोखिम कम ठान्ने,

– गलत परामर्श दिने स्वास्थ्यकर्मीहरू,

– बालबालिकाले टोकाइबारे आमा–बुबालाई नबताउने,

– खोप अभावका कारण ढिलाइ हुने

नेपाल सरकारले रेबिज खोप निःशुल्क वितरण गर्दै आएको भए पनि जनचेतनाको कमी र बेवास्ताका कारण समस्या ज्यूँका त्यूँ रहेको डा. पुन बताउँछन् ।

कुकुर वा अन्य जनावरले टोकेपछि कति समयमा खोप लगाउनु पर्छ ?

रेबिज लागेको जनावरले टोकेपछि जति सक्दो चाँडो र ढिलोमा २४ घण्टाभित्र खोप लगाइ सक्नुपर्छ ।

डा. पुनका अनुसार रेबिज लागेको कुकुर वा अन्य जनावरले टोकेपछि २४ घण्टाभित्र खोप लगाउनुपर्ने हुन्छ । तर, समय नबित्दै सकेसम्म छिटो खोप लगाउनाले संक्रमणको जोखिम कम गर्न महत्त्वपूर्ण भूमिका खेल्छ ।

जनावरले टोकेको खण्डमा तत्काल रेबिज खोप सुरु गर्नुपर्ने बताउँदै खोप सुरु नगर्दा रोग प्राणघातक हुन सक्ने चेतावनी पुनको छ ।

रेबिजको खोप लगाइ सकेपछि व्यक्तिलाई फेरि कुकुरले टोक्यो भने पुनः खोप लगाउनु पर्छ कि पर्दैन ?

सरुवा रोग विशेषज्ञ डा.पुनका अनुसार, रेबिजको खोप लगाइसकेपछि पनि यदि व्यक्तिलाई फेरि कुकुरले टोकेको खण्डमा पुनः खोप लगाउनु आवश्यक हुन्छ ।

डा. पुन भन्छन्, ‘खोप लगाएको तीन महिनापछि पनि कुकुरले टोकेमा व्यक्ति सुरक्षित छैनन् । यस अवस्थामा तुरुन्त रेबिज खोपको थप मात्रा आवश्यक पर्छ ।’

टेकुमा हाल कुन उमेर समूहका मानिसहरू बढी खोप लगाउन आउने गर्दछन् ?

बालबालिकाहरू खेलकुद र विभिन्न गतिविधिमा बढी सक्रिय हुने भएकाले उनीहरूमा कुकुर वा अन्य जनावरले टोकेको घटनापछि खोप लगाउन आउनेहरू बढी छन् । त्यस्तै, मोटरसाइकल र साइकल चलाउने व्यक्तिहरू सडकमा बढी निस्कने र जनावरसँग सम्भावित सम्पर्क हुने भएकाले उनीहरू पनि खोप केन्द्रमा बढी आउने गरेका छन् ।

रेबिज रोग वास्तवमै कति घातक हुन्छ ?

रेबिज रोग एकदमै घातक रोग हो । नेपालमा हालसम्म रेबिज संक्रमित सबै व्यक्तिको मृत्यु भएको छ । यसैले यो रोग प्राणघातक नै हो ।

रेबिजबाट बच्ने उपायहरू के–के हुन् ?

– सुतिरहेको कुकुरलाई झ्वाट्टै नउठाऔँ, लात्ताले नहानौँ,

– कुकुरले खाना खाइरहेको बेला नजिस्क्याऔँ, नतर्साऔँ,

– कुकुरले पछ्याएमा नदौडौँ, शान्त भएर उभिऔँ,

– नचिनेको कुकुरको नजिक जाँदा सावधानी अपनाऔँ,

– घरपालुवा वा सडकका कुकुरलाई पशु चिकित्सकको सल्लाहमा रेबिजविरुद्धको खोप लगाइदिऔँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?