नेपाली बजारमा नक्कली पेय पदार्थको बिगबिगी, उपभोक्ता स्वास्थ्य र लगानीकर्ता दुवै जोखिममा

लोकपथ
7k
Shares

काठमाडौं । नेपाली बजारमा सर्वसाधारणले नियमित प्रयोग गरिरहेका पेय पदार्थमा नक्कली तथा उस्तै ट्रेडमार्कको बिगबिगी देखिन थालेको छ ।

अन्तर्राष्ट्रिय रूपमा परिचित ब्राण्ड जस्तै देखिने र स्वादमा मिल्दोजुल्दो भए तापनि ती नक्कली उत्पादनले उपभोक्ताको स्वास्थ्य, वास्तविक लगानीकर्ताको मनोबल र देशमा राम्रो लगानी वातावरण निर्माण गर्ने प्रक्रियालाई चुनौती दिइरहेका छन् ।

केही दिन अगाडि मात्रै अत्यधिक गर्मी भएपछि माउन्टेन ड्यू मागेका झापाका रिसब निरौलालाई पसलेले माउन्टेन ड्यू जस्तै देखिन मनसुन ड्यू दिए । उस्तै रंग, उस्तै बोतल र उस्तै डिजाइनमा तयार पारिएको पेय पदार्थ मनसुन ड्यू देख्नमा माउन्टेन ड्यू जस्तै थियो । रिसब माउन्टेन ड्यू पिइरहने र सोही चिसो पेय पदार्थको पारखी भएकाले उनले उक्त पेय पदार्थ नक्कली भएको पत्ता लगाए ।

अनि मनसुन ड्यू नक्कली पेय पदार्थ भन्दै माउन्टेन ड्यू नै माग गर्दा माउन्टेन ड्यूको नयाँ उत्पादन हो मनसुन ड्यू समेत भनियो । अनि ‘यहाँ त माउन्टेन ड्यू भनेकै यही हो’ भन्दै मनसुन ड्यू नै दिएपछि रिसब उक्त पेय पदार्थ नपिई निस्किए ।

यो त एक उदाहरण मात्रै हो । काठमाडौं उपत्यकामा बजार अनुगमन अलि बढी हुने र नक्कली र सक्कली सजिलै छुट्याउन सक्ने मानिसहरुको बसोबास भएको कारण उपत्यकामा यस्ता नक्कली पेय पदार्थ नपाउने भए पनि पहाडी जिल्लाहरु र मुख्यतः पूर्वका जिल्लाहरुमा नक्कली पेय पदार्थको बिगबिगी नै छ ।

झापा, मोरङ, सुनसरी, ईलाम लगायतका जिल्लाहरुमा माउन्टेन ड्यू मागियो भने मनसुन ड्यू दिइन्छ, कोकाकोला मागियो भने क्लब कोला वा चिसो कोला दिने गरिन्छ । त्यसैगरी फेन्टा, स्प्राइट, रेड बुल आदि सबैको उस्तै तर नक्कली ब्रान्डहरु बजारमा छ्याप्छ्याप्ती छन् ।

बजारमा बहुप्रतिष्ठित बहुराष्ट्रिय कम्पनीहरूदेखि स्थानीय ब्रान्डसम्मले यसबाट गम्भीर असर भोगिरहेका छन् । पेप्सी कम्पनीको नामले परिचित वरुण वेभरेजको लोकप्रिय उत्पादन माउन्टेन ड्यू को सट्टा ‘मनसुन ड्यू’ र ‘मेन्टेन ड्यू’ ले बजार ओगटेका छन् । ती पेय पदार्थहरु माउन्टेन ड्यू भन्दा सस्तो मूल्यमा प्राप्त हुने र पसलेलाई बढी नाफा हुने भएकाले उनीहरुले समेत सकेसम्म माउन्टेन ड्यूको सट्टा मनसुन ड्यू नै बेच्न प्रेरित भइरहेका छन् ।

त्यस्तै कोकाकोलाको उस्तै देखिने ‘क्लब कोला’, ‘चिसो कोला’ र ‘चिल कोला’ बजारमा सजिलै भेटिन्छन् । ‘फेन्टा’ को नक्कली रूपमा ‘फेन्सी’ र ‘फान्टु’ को प्रचलन छ भने ‘स्प्राइट’ जस्तै देखिने ‘स्पोर्ट’ र ‘राइट’ जस्ता पेय पदार्थले बजारमा उपस्थिति जनाएका छन् । ‘रेड बुल’ को नक्कली ‘रेड ब्लु’ लाई भने हाल रोक लगाइएको छ, तर ‘रेड राइनो’ जस्ता इनर्जी ड्रिंक्स अहिले पनि उपलब्ध छन् ।

यस्ता नक्कली उत्पादनले उपभोक्तालाई झुक्याएका मात्रै छैनन्, उनीहरूको स्वास्थ्यमाथि पनि जोखिम बढाइरहेका छन् । उद्योग विभागका अनुसार २०६८ सालको भदौपछि १ हजार ८ सय ९३ वटा ट्रेडमार्कसँग सम्बन्धित उजुरीहरु दर्ता भएका छन्, जसमध्ये करिब २ ५० वटाको मात्रै फैसला भएको छ ।

उद्योग विभागमा दर्ता हुने उजुरी र यसको छानबिन तथा अनुसन्धान लामो मात्रै भएको छैन, विभागका कानुन हेर्ने उपसचिव र महानिर्देशकहरु नै यसलाई सकेसम्म पर धकेलेर नक्कली ब्रान्डलाई राम्रैसँग कमाउन दिन उद्धत छन् । र, फैसला भइसक्दा पनि कतिपय मुद्दामा नक्कली उत्पादकहरुलाई जिताइएको छ ।

उदाहरणका लागि सिंगापुर वेभरेजविरुद्ध पेप्सी कम्पनीले हालेको मनसुन ड्यूविरुद्धको मुद्दामा उद्योग विभागले नक्कली पेय पदार्थको उत्पादन गर्ने मनसुन ड्यूको उत्पादक सिंगापुर वेभरेजलाई जिताइदिएको छ । यता कोकाकोलाले हालेको मुद्दामा पनि कोकाकोलालाई हराएर नक्कली उत्पादन गर्ने सिंगापुर वेभरेजलार्य जिताइदिएको छ ।
यतिसम्म कि रेड बुलको नक्कली उत्पादन गर्ने रेड ब्लुलाई जिताइदिएको उद्योग विभागको फैसला उच्च अदालतले भने उल्टाइदिएको छ ।

विश्वसनीय ब्रान्डहरूले आफ्नो उत्पादनको गुणस्तर, उपभोक्तालाई जानकारी दिने विज्ञापन र अनुसन्धानमा ठूलो रकम खर्च गरेका हुन्छन् । यसको विपरीत, नक्कली उत्पादनको मुख्य उद्देश्य सक्कली ब्रान्डको लोकप्रियताको फाइदा उठाएर कम लागतमा बढी नाफा कमाउनु नै रहेको हुन्छ । यसले गर्दा उत्पादनको गुणस्तर सुनिश्चित हुँदैन र उपभोक्ताको स्वास्थ्यमाथि जोखिम बढ्छ । साथै, यस्ता उत्पादन सक्कलीभन्दा सस्तो भएकाले बजारमा तीब्रताका साथ फैलिन्छन्, तर धेरै उपभोक्तालाई कुन वस्तु सक्कली हो र कुन नक्कली हो भन्ने थाहा हुँदैन ।

लगानीको वातावरण धुमिलिँदै

नक्कली ट्रेडमार्क र ब्रान्डको बिगबिगीका कारण केवल उपभोक्ता मात्र होइन, देशमा लगानी गर्न इच्छुक विश्वसनीय लगानीकर्ता पनि निरुत्साहित हुन थालेका छन् ।

उनीहरूले आफ्नो ब्रान्ड र लगानी सुरक्षित रहेको महसुस गर्न सकिरहेका छैनन् । बजारमा छ्याप्छ्याप्ती पाइने नक्कली उत्पादनले गर्दा बहुराष्ट्रिय कम्पनीहरुको शेयर बजारसमेत घट्न सक्छ र आफ्नो ब्रान्डको साखमाथि असर पर्न सक्छ । यसले समग्र लगानीको वातावरणलाई नकारात्मक रूपमा प्रभाव पार्छ । स्थानीय राष्ट्रिय लगानीकर्ताहरू पनि यसबाट प्रभावित हुन्छन् । आफ्नो उद्योगको विस्तार गर्नुको सट्टा उजुरी र मुद्दाको चक्करमा परेर उनीहरूको समय, ऊर्जा र सम्पत्तिको नोक्सानी भइरहेको हुन्छ ।

नेपालमा ‘पेटेन्ट, डिजाइन र ट्रेडमार्क ऐन, २०२२’ लागू भएता पनि नक्कली ट्रेडमार्कलाई नियन्त्रण गर्न पर्याप्त कानुनी व्यवस्था र कारबाहीको अभाव छ । जसले गर्दा नक्कल गर्नेहरू तत्काल कारबाहीको दायरामा आउँदैनन् ।

उद्योग विभागसँग यसको जिम्मेवारी भएता पनि विवादहरू टुंगो लाग्नमा वर्षौँ लगाइने गरिएको छ । त्यसबाहेक उद्योग विभागमा प्रति ट्रेडमार्क ५ हजार रुपैयाँ घुस दिए जस्तो पनि ट्रेडमार्क दर्ता हुने गरेको व्यवसायीको गुनासो छ । त्यसबाहेक परेका उजुरी र मुद्दाको सुनुवाइ जति ढिला हुन्छ, गलत नियतले काम गर्नेहरूले उति नै बढी फाइदा लिइसकेका हुन्छन् ।

यो समस्या केवल उपभोक्ता स्वास्थ्य र लगानीकर्ताको प्रोत्साहन मात्र होइन, बौद्धिक सम्पत्तिको संरक्षणको महत्वपूर्ण मुद्दा समेत हो । राज्यको दायित्व उजुरी परेको विषयमा छानबिन र अनुसन्धान गर्ने मात्रैमा सीमित छ । तर वास्तवमा नियामक निकायले निरन्तर रूपमा डिजाइन र ट्रेडमार्क चोरीको अनुगमन गर्नु आवश्यक छ, जसले गलत काम गर्नेहरुलाई कारवाहीको दायरामा ल्याउँदै नेपालमा लगानीको वातावरण बन्न सकोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?