कामका लागि भारत पुर्‍याइएका युवकको मिर्गौला चोरी, गिरोह पक्राउ परेपछि दिए जाहेरी

मदिरामा बेहोसीको औषधी मिलाएर चोरियो मिर्गौला

काठमाडौं । शरीरमा टिसर्ट र हाफ पाइन्ट, टाउकोमा क्याप लगाएका एक युवक बुधबार मानव बेचबिखन अनुसन्धान ब्युरोबाट बाहिर निस्कँदै थिए । अलिक खोच्याएको जस्तो गरी हिँडिरहेका ती युवक हताश अनि निराश देखिन्थे । केही हराएजस्तो, केही गुमाएजस्तो ।

त्यसो त ब्युरोमा हालसालै मिर्गौला तस्करीमा संलग्न ७ जनालाई पक्राउ गरी ल्याएपछि दैनिक जसो पीडित, पीडितको परिवार आदिको आवतजावत भइनै रहन्छ । किनभने मिर्गौला तस्करी गराइएको आरोप ७ जना गिरोहका सदस्य पक्राउ पर्दा ५ जनाले जाहेरी दिएर मुद्दा नै चलिसकेको थियो । यस्तैमा ती पाँच जना मध्ये एक जना पीडित हुनसक्छ भन्दै हामीले ती युवकलाई पछ्यायौँ । 

नजिकै पुगेर हामीले उनको परिचय माग्दै किन आउनुभएको भनेर सोधेपछि उनले आफू मिर्गौला तस्करीको सिकार भएको र काम लगाइदिन्छु भनेर लैजाने समूहले नै बेहोस बनाएर मिर्गौला झिकेको बताए । 

मिर्गौला निकालेपछि देखिएको विक्रमको घाऊको खत ।

यसअघिका घटनामा मिर्गौला नै बेच्ने भनेर प्रलोभनमा पारी फकाई फुल्याई लैजाने गरिएको थियो । तर यस घटनामा भने पीडित युवकलाई भारतमा मासिक ३० हजार भारुमा होटेलमा काम लगाइदिने भन्दै नेपालबाट भारत पुराइएको थियो । तर भारत पुगेको केही समयमा उनलाई बेहोस बनाएर उनको मिर्गौला चोरी गरिएको रहेछ । गिरोहले बेहोस भएकाले उपचारका क्रममा आन्द्राको अप्रेसन गरेको भन्दै उनको मिर्गौला चोरेको थियो । 

ती युवकसँग सामान्य कुराकानी गरेपछि थप कुराकानी गर्नका लागि हामीले उनीसँग प्रस्ताव गर्‍यौँ । उनी आफ्नो पहिचान नहुने गरी कुराकानी गर्न तयार भए । त्यसपछि नजिकै रहेको एक स्थानमा गएर हामीले ती युवकसँग कुराकानी गर्‍यौँ । युवकसँग गरिएको कुराकानीको सम्पादित अंश यस्तो छ । 

मेरो नाम विक्रम हो र मेरो घर नुवाकोट हो । हाल म ३० वर्षको भएँ । मैले स्थानीय विद्यालयमा ४ कक्षासम्म मात्रै पढेको छु । 

४ कक्षा पढेपछि घरको आर्थिक अवस्थाका कारण मैले पढाई छाडेर धादिङको नौबिसेमा रहेको एक होटेलमा वेटरको काम गर्न थाले । लामो समय त्यहाँ काम गरेपछि काठमाडौंको नयाँ बजारमा पनि आएर काम गर्न थालेँ ।

मैले सानै उमेरमा नै विवाह गरेँ र अहिले ११ वर्षको एउटा छोरा छ । श्रीमती भने एक वर्ष अगाडि नै मलाई छाडेर अन्यत्रै विवाह गरेर गइन् । 

काठमाडौंमै काम गर्ने क्रममा मेरो समीर नेपाली भन्ने व्यक्तिसँग चिनजान भएको थियो । ऊ बेलाबेलामा मैले काम गर्ने खाजा घरमा खाजा र मदिरा खान आउँथ्यो । ऊ पनि नुवाकोटकै मान्छे भएकाले मेरो राम्रै घुलमिल भएको थियो । 

सुरुमा काठमाडौंको नयाँ बजारको एक खाजा घरमा काम गरेकामा पछि म माछापोखरीमा रहेको खाजा घरमा वेटरको रूपमा काम गर्न थालेको थिएँ । 

करिब ५ महिना पहिले जस्तो लाग्छ, श्यामकृष्ण भण्डारी भन्ने व्यक्ति पनि म काम गर्ने खाजा घरमा आई खाजा र मदिरा सेवन गर्ने गर्दथे । त्यहाँ आएर खाजा र मदिरा खाएर फर्कने बेलामा मलाई केही रकम टिप्ससमेत दिने गरेका थिए । त्यस कारण उनीसँग म नजिकिएको थिएँ । 

१०-१२ हजारमा काम गरेर के हुन्छ, हिँड इन्डिया जाऊँ, त्यहाँ मासिक ३० हजार भारुको काम लगाइदिन्छु भन्यो ……

पछि असारको १-२ गतेतिर म काम गर्ने स्थानमा आएर राजकुमार परियार भन्ने व्यक्तिले यसरी १०-१२ हजारमा काम गरेर के हुन्छ, हिँड इन्डिया जाऊँ, हाम्रो त्यहाँ होटेल छ, त्यहाँ मासिक ३० हजार भारुको काम लगाइदिन्छु भन्यो । 

मैले पहिले त बच्चा यहीँ छ, जाँदिन भने । तर पछि नेपालमा १०-१२ हजारको जागिर खाएर जीवन चल्दैन भन्ने सोचेर जान्छु भनेँ । त्यसपछि उसले पख म उता इन्डियामा साहुसँग कुरा गर्छु अनि जाउँला भन्यो । मैले हुन्छ भनेँ । 

पीडित विक्रम नेपाली (परिवर्तित नाम) ।

त्यसको तीन चार दिनपछि उसले फोन गरेर ७ गतेको टिकट काटेको छ, जाऊँ भन्यो । त्यसपछि म यताको काम छाडेर असार ७ गते बस चढेर पहिले सुनौली पुगेँ । म सँगै राजकुमार परियार पनि गएको थियो ।

सुनौलीमा एक दिन र एक रात बसियो । त्यहाँ मलाई राम्रोसँग खानपिन गर्न र सुत्न दिइयो । त्यसपछि अर्को दिनको दिउँसो ४ बजेतिर सुनौलीबाट बस चढेर दिल्ली गइयो । दिल्लीको पहाडगञ्जमा राजकुमार परियार, पहिलेदेखि नै चिनजान भएका श्यामकृष्ण भण्डारी र समीर नेपाली पनि रहेछन् । 

दिल्लीमा पुगेपछि मलाई आज थाकेका छौ, कोठामा आराम गर भनेर होटेलको एउटा कोठामा लगेर राखियो । त्यस दिन पनि खाना पानी आदि सबै दियो । त्यहाँ अरूसँग कुरा नगर्न भनियो । 

त्यसको भोलिपल्ट मेरो काम के हो भनेर सोधेँ । श्यामकृष्ण भण्डारीले ट्वाइलेट सफा गर्ने, झाडु र पोछा लगाउने काम हो भन्यो । मैले त्यो काम एकैछिनमा गरेँ । त्यसपछि अरू काम के हो भन्दा अरू काम अहिले यहाँ छैन, मेरो अरू पनि होटेलहरू छ, त्यहीँ काम गर्नुपर्छ भनियो । 

अभियुक्त श्यामकृष्ण भण्डारी ।

त्यसपछि साँझपख देखि रक्सी खान्छौ भनी सोधे । म दलित परिवारबाट भएकाले मैले सानैदेखि रक्सी खाने गरेको थिएँ । मैले अलिअलि खान्छु भने । त्यसपछि उनीहरूले मलाई रक्सी खुवाउन थाले । उनीहरूले सेतो रक्सी खान्थे भने मलाईचाहिँ ठुलो बोतलको रातो रातो भएको रक्सी खुवाउँथे । 

भोलिपल्ट हातको पाखुरा र नसामा घाउको जस्तो डोब हुन्थ्यो, यो के हो भनेर सोध्दा यहाँ उडुस छ, त्यसैले टोकेको होला नि भन्थे । अहिले थाहा भयो, त्यति बेला मलाई बेहोस बनाएर मेरो रगत झिक्ने गरेको रहेछ ……

एक दुई दिन सामान्य अवस्थामै यसरी नै चलेको थियो । प्रत्येक दिनको साँझपख रक्सी खान दिइन्थ्यो । तर भोलिपल्ट हातको पाखुरा र नसामा घाउको जस्तो डोब हुन्थ्यो । यो के हो भनेर सोध्दा यहाँ उडुस छ, त्यसैले टोकेको होला नि भन्थे । हातको पाखुराहरूमा मलाई अलि अलि दुख्ने गरेको थियो । तर के हो भनेर मैले त्यति ध्यान नै दिइन । अहिले थाहा भयो, त्यति बेला मलाई बेहोस बनाएर मेरो रगत झिक्ने गरेको रहेछ । त्यहाँ म जस्तै ११-१२ जना अरू मानिसहरू पनि थिए । तर हामीलाई अरू कोहीसँग बोल्न दिइन्नथ्यो । 

त्यहाँ म जस्तै ११-१२ जना अरू मानिसहरू पनि थिए, तर हामीलाई अरू कोहीसँग बोल्न दिइन्नथ्यो …

करिब एक साता दिल्लीमा बसेपछि मलाई त्यहाँबाट चन्डीगढ भन्ने स्थानमा लगियो । चन्ढीगढको होटेलमा काम गर्ने भन्दै लगियो । चन्डीगढको एक गेस्ट हाउसमा पनि दिल्लीमा जस्तै गरी राखियो । चन्डीगढ पुगेपछि मैले घरमा पैसा चाहिएकाले पठाउनु पर्‍यो पछि महिना सकेपछि कटाउनु होला भन्दै श्यामकृष्ण भण्डारीसँग ५ हजार भारु मागेको थिएँ । तर उसले अहिले पैसा छैन । अर्को होटेलमा राम्रोसँग काम गर्न थालेपछि मात्रै पैसा आउँछ भन्दै दिएन ।

पीडित विक्रम नेपाली (परिवर्तित नाम) ।

चन्डीगढमा पनि मलाई करिब १० दिन जति राखेपछि त्यहाँबाट गुजरातको अर्को होटेलमा काम गर्न जाने भन्दै लगियो । दिल्लीबाट चन्डीगढ लैजाँदा मलाई कारमा लगिएको थियो । त्यो ठाउँ कुन ठाउँ हो मलाई थाहा थिएन । मेरो चुरोट खाने बानी भएकाले चुरोट किन्न जाँदा होटेलको रिसेप्सनमा बस्ने व्यक्तिलाई यो कुन ठाउँ हो भनेर सोध्दा उसले चन्डीगढ हो भनेको थियो ।

चन्डीगढबाट गुजरात लैजाने क्रममा हामीहरूलाई ठुलो होटेलको साहु गुजरातमा छन्, तिमीहरूलाई भेट्न बोलाएका छन् । त्यहाँ ठुलो पार्टी छ, त्यहाँ काम पनि गर्ने र पार्टी पनि गर्ने हो भनिएको थियो । त्यहाँ हामीलाई पैसा दिनेसमेत भनिएको थियो । चन्डीगढबाट करिब ७ जना व्यक्तिहरूलाई गुजरात लगिएको थियो, तर सबैलाई फरक फरक तरिकाले लगिएको थियो । मलाई गुजरात लैजाँदा ट्रेनमा लगिएको थियो । म सँगै श्यामकृष्ण भण्डारी र समीर नेपाली पनि गएका थिए । हामीलाई लगेको भोलिपल्ट दिउँसो १-२ बजेतिर हामी गुजरात पुग्यौँ । 

गुजरातमा पनि दिल्ली र चन्डीगढमा जस्तै भयो । एक दुई दिनसम्म कुनै काम दिएन र रक्सी खुवाउँदै राख्यो । लास्ट दिनमा आज साहु आउँदैछन् तिमीलाई पार्टी दिने रे भने । त्यस दिन दिउँसैदेखि रक्सी खुवाइएको थियो । मैले पुग्यो भन्दा पनि मलाई अत्यधिक धेरै रक्सी खुवाइएको थियो । 

जब म ब्युँझिए, म कुनै क्लिनिकको बेडमा थिएँ । बायाँतर्फको कोखामा दुखिरहेको थियाे र त्यहाँ घाऊ थियो ……

त्यसको भोलिपल्ट हो कि जस्तो लाग्छ, म करिब दिउँसोको ४ बजेतिर मात्रै ब्युँझिए । जब म ब्युँझिए, म कुनै क्लिनिकको बेडमा थिएँ । बायाँतर्फको कोखामा दुखिरहेको थियाे र त्यहाँ घाऊ थियो । मैले त्यहाँको डाक्टरलाई के भएको भनेर सोधेँ । उसले एपेन्डिक्सको अप्रेसन गरेको भन्यो । 

मिर्गौला निकालेको घाऊ र पीडित विक्रम नेपाली (परिवर्तित नाम) ।

मैले मलाई जानकारी नै नदिई किन र कसरी अपरेसन भयो भनेर सोधेँ । कतै मेरो मिर्गौला निकालेको त होइन भनेर सोधेँ । डाक्टरले मलाई गाली गर्दै किन मिर्गौला निकाल्ने, बेहोस भएर ढलेको कारण अस्पताल ल्याएका रहेछन्, एपेन्डिक्सको अप्रेसन गर्नु परेकाले अप्रेसन गरेको हो भने । 

मैले यही कुरा श्यामकृष्ण भण्डारीलाई पनि सोधेँ । उसले पनि तिमी बेहोस भएकाले उपचारका लागि अस्पताल ल्याएको र एपेन्डिक्स सुन्निएको थाहा पाएपछि तुरुन्तै अप्रेसन गरेको बताए । तर मलाई मनमा शंका र डर भने लागेकै थियो । 

मलाई त्यही क्लिनिकमा ४-५ दिनसम्म राखेर उपचार गरियो । त्यसपछि मलाई ३० हजार भारु र केही औषधी दिएर अहिले घर जाऊ, घाउ ठिक भएपछि हामी तिमीलाई बोलाउँछौ र काम गर्न आऊ भने । 

मेरो घाउ दुखिरहेकै थियो, मलाई सोफा सिट भएको बसमा चढाएर नेपाल पठाए ।

नेपाल आए लगत्तै मैले मेरो घर नजिकको मेडिकलमा गएर घाउ देखाएँ । यो के गरेको होला भनेर घाउ देखाउने बित्तिकै उसले तिम्रो किड्नी झिकेको हो भन्यो । त्यसपछि त म झनै आत्तिएँ । 

त्यस लगत्तै मैले समीर नेपाली, श्यामकृष्ण भण्डारी र राजकुमार परियारलाई फोन गरेँ । उनीहरूले धेरै जसो त फोन नै उठाएनन् । पछि श्यामकृष्ण र समीर दुवै जनाले फोन उठाएर कुनै अस्पताल वा क्लिनिकमा जँचाउन नजान धम्की दिए । साथै प्रहरी वा कसैलाई भनेमा वा उजुर गरेमा घरमै आएर मारिदिने धम्की दिए । 

श्यामकृष्ण र समीर दुवै जनाले कुनै अस्पताल वा क्लिनिकमा जँचाउन नजान धम्की दिँदै प्रहरी वा कसैलाई भनेमा वा उजुर गरेमा घरमै आएर मारिदिने धम्की दिए …… 

उनीहरूले काठमाडौं, नुवाकोट, हेटौंडा, पोखरा लगायतका क्षेत्रमा आफ्ना केटाहरू रहेको भन्दै मारेर लास समेत गायब बनाइदिने धम्की दिए । त्यसपछि म कहीँ कतै उजुर गर्न सक्ने अवस्थामा भइन । 

म साउनको ११ गते नेपाल फर्किएको थिएँ । तर कहीँ कतै उजुर गर्न सकेको थिइन । 

केही दिन अगाडि मात्रै टिकटक चलाउने क्रममा मिर्गौला तस्करीमा संलग्न राजकुमार परियार, समीर नेपाली लगायतका व्यक्तिहरू पक्राउ परेकोबारे थाहा पाएँ । त्यसपछि मैले स्थानीय प्रहरी चौकीमा यो विषयमा जानकारी गराएँ । स्थानीय प्रहरीले मलाई जिल्ला प्रहरी कार्यालय विदुरमा पठाइदियो । 

मिर्गौला तस्करी गिरोहका सदस्यहरु पक्राउ परेपछि ।

त्यति बेलासम्म श्यामकृष्ण भण्डारीलाई पनि पक्राउ गरेर नेपाल ल्याइसकेको थियो । मंगलबार मलाई जिल्ला प्रहरी कार्यालय विदुरको प्रहरीले एक प्रहरीलाई समेत पठाएर मलाई मानव बेचबिखनको कार्यालय (मानव बेचबिखन अनुसन्धान ब्युरो)मा ल्याइदियो । त्यसपछि यहाँका प्रहरीसँग पनि कुराकानी गरेँ र घटनाबारे बताएँ । उनीहरूले श्यामकृष्ण, समीर र राजकुमारको फोटो देखाए । मैले सबैलाई चिनेँ । त्यसपछि मैले उनीहरूविरुद्ध मंगलबार साँझ जाहेरी दिएको थिएँ । आज (बुधबार) फेरि उनीहरूलाई पहिचानका लागि बोलाएकाले आएको हुँ । 

भारतमा राम्रो रोजगारीमा लगाइदिन्छु भनेर मलाई झुक्यानमा पारी बेहोस बनाएर मेरो मिर्गौला झिकिएको छ । म अहिले भर्खर ३० वर्षको भएँ । मैले अझै पनि बाँच्नु धेरै छ, गर्नु धेरै छ । तर मलाई अहिले नै दुखेर हैरान पार्न थालेको छ ।

११ वर्षको छोरा छ, घरमा बुढा बुवा आमा छन्, उनीहरूलाई पनि हेर्नुपर्ने छ । तर मेरो हालत यस्तो छ, म अहिले कमजोर भएको छु …… 

११ वर्षको छोरा छ, घरमा बुढा बुवा आमा छन्, उनीहरूलाई पनि हेर्नुपर्ने छ । तर मेरो हालत यस्तो छ । म अहिले कमजोर भएको छु । 

मलाई झुक्क्याएर भारत लैजाने र बेहोस बनाएर मिर्गौला झिक्नेहरूलाई हदैसम्मको कारबाही हुनुपर्दछ र मलाई क्षतिपूर्ति भराउनुपर्छ ।

मैले आज श्यामकृष्ण, राजकुमार र समीरलाई पनि देखेँ । तिनीहरूलाई हतकडी लगाएको रहेछ, त्यो देखेर खुसी लाग्यो । मेरो मिर्गौला झिक्ने कार्यमा संलग्न उनीहरू नै हुन्, मेरो भनाई अन्तिमसम्म पनि यही नै हुन्छ, उनीहरूमाथि कडाभन्दा कडा कारबाही हुनुपर्छ । 

मानव बेचबिखन अनुसन्धान ब्युरोले मिर्गौला तस्करीमा संलग्न गिरोहका ७ जना सदस्यलाई पक्राउ गरी मुद्दा दायर गरिसकेको छ । यस आर्थिक लागेपछि ब्युरोले नेपालबाट ५ जना र भारतबाटै दुई जना गरी कुल ७ जनालाई पक्राउ गरिसकेको छ । भारतबाट पक्राउ परेका सिन्धुपाल्चोकका श्यामकृष्ण भण्डारी गिरोहका मुख्य सदस्य रहेको प्रहरीको भनाई छ ।

एसपी रुगम कुँवर

ब्युरोका एसपी रुगम कुँवर आफैँ भारतको दिल्ली र पन्जाबको क्षेत्रसम्म पुगेर श्यामकृष्ण भण्डारी र सुजन भारतीलाई पक्राउ गरी नेपाल ल्याएका थिए । उनीहरूलाई पक्राउ गर्न भारतीय प्रहरीको सहयोग लिइएको स्रोतको दाबी छ । यद्यपि ब्युरोले भने नेपाल भारत सीमा क्षेत्रबाट श्यामकृष्ण र सुजन भारतीलाई पक्राउ गरेको बताएको छ । 

अपराधीको मोडस ओपरेन्डी एउटै : प्रवक्ता कुँवर

मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता एसपी नरेन्द्र कुँवरले पछिल्लो मिर्गौला तस्करीको घटनामा अपराधीले प्रयोग गरेको अपराधको विधि अर्थात् मोडस ओपरेन्डी एकै प्रकृतिको भएको बताए ।

एसपी नरेन्द्र कुँवर, प्रवक्ता, मानव बेचबिखन अनुसन्धान ब्युरो

एसपी कुँवरका अनुसार गिरोहका सदस्यले सुरुमा भारतमा रोजगारी रहेको र आकर्षक तलब पाइने भन्दै लैजाने गरेको र त्यहाँ बेहोसी अवस्थामा मिर्गौला झिकेर अन्य व्यक्तिमा प्रत्यारोपण गर्ने गरेका थिए । यसरी मिर्गौला झिकेपछि कतिपयलाई ६ लाख नेपाली रुपैयाँ दिने भनिएको तर अधिकांशले पैसा नै नपाएको पाइएको छ ।

भारतमा रोजगारी रहेको र आकर्षक तलब पाइने भन्दै लैजाने गरेको र त्यहाँ बेहोसी अवस्थामा मिर्गौला झिकेर अन्य व्यक्तिमा प्रत्यारोपण गर्ने गरेका ……

१५ वर्षसम्म कैद हुनसक्ने

ब्युरोका एसपी कुँवरका अनुसार मानव अंगको तस्करी र गैर कानुनी तवरबाट प्रत्यारोपण गर्ने कार्यमा संलग्न व्यक्तिलाई मानव बेचबिखनको कसुरमा १० वर्षसम्मको कैद सजाय हुने कानुनी व्यवस्था छ । त्यसै गरी यो गिरोहले संगठितरुपमा मानव तस्करी गरेको र अन्तर्देशीय तस्करी गरेको कारण उनीहरुविरुद्ध संगठित अपराधमा समेत मुद्दा चल्ने भएकाले संगठित अपराधमा थप आधा सजाय हुँदा कुल १५ वर्षसम्म कैद सजाय हुने प्रवक्ता कुँवरले बताए । 

साथै पीडितले पीडकबाटै वा पीडित राहत कोषबाट क्षतिपूर्ति पाउने गरी मुद्दा दायर हुने समेत एसपी कुँवरले बताए । पीडितले क्षतिपूर्ति पाउने सम्बन्धमा भने अदालतले नै निर्णय गर्ने छ । 

ब्युरो आक्रामक बनेको छ : एसएसपी पंगेनी 

मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रमुख एसएसपी कृष्ण पंगेनीले पछिल्लो दिनमा ब्युरो मानव अंगको तस्करी गर्ने गिरोहविरुद्ध आक्रामक भएर आएको बताए । पछिल्लो दिनमा मानव अंग तस्करीको घटना बढेको र पीडितले जाहेरी नै दिएपछि गिरोहका मुख्य सदस्यसहित ७ जनालाई पक्राउ गरिएको एसएसपी पंगेनीले लोकपथलाई बताए । 

एसएसपी कृष्ण पंगेनी, प्रमुख, मानव बेचबिखन अनुसन्धान ब्युरो

एसएसपी पंगेनीका अनुसार यस आर्थिक वर्ष लागेपछि मानव अंगको तस्करीमा मात्रै ४ वटा मुद्दा दायर भइसकेको र थप एक थान मुद्दा दायर गर्ने तयारीमा ब्युरो रहेको छ । ५ वटा मुद्दामा ६ जना पीडित छन् र ७ जनालाई प्रतिवादी बनाइँदै छ । 

भारतमा बसेर गिरोह चलाउने मुख्य सदस्यसमेतलाई भारतीय प्रहरीकै सहयोगमा नेपाल ल्याइएको बताउँदै तत्कालका लागि यो गिरोहको नेटवर्क ध्वस्त पारिएको पंगेनीले बताए । 

पंगेनीका अनुसार भारतको यथार्थ अस्पतालमा समेत कतिपयको मिर्गौला झिकिएको पाइएको कारण उक्त अस्पतालका सम्बन्धमा पनि भारतीय प्रहरीसँग सहकार्य गरी अनुसन्धान भइरहेको र भारतीय प्रहरीले पनि छुट्टै अनुसन्धान गरिरहेको छ । गिरोहले भारतका विभिन्न अस्पताल र क्लिनिकहरूमा लगेर पीडितहरूको मिर्गौला झिक्ने गरेका थिए । 

सूचना र जाहेरी दिन आग्रह

एसएसपी पंगेनीले मिर्गौला तस्करीको यो गिरोहले अन्य व्यक्तिहरूलाई समेत पीडित बनाएको हुनसक्ने केही तथ्य र प्रमाण पाइएको बताए । यो गिरोह वा अन्य गिरोहले कसैलाई झुक्यानमा पारी वा प्रलोभनमा पारी मिर्गौला तस्करी गरी मानव अंगको चोरी वा झिकिएको भए ब्युरोलाई जानकारी दिनसमेत आग्रह गरेका छन् । 

पीडितको पहिचान गोप्य रहने भएकाले कसैले चिन्छ कि भनेर चिन्ता गर्नु नपर्ने भन्दै तस्करीका सम्बन्धमा जानकारी दिएर दोषीलाई कारबाही का लागि सहयोग गर्न आग्रह गरेका छन् । साथै अन्य व्यक्तिको मिर्गौलाको चोरी नहोस् भनेर सजगताका लागि पनि गिरोहलाई कारबाहीको दायरामा ल्याउनुपर्ने भएकाले सूचना दिनसमेत एसएसपी पंगेनीले आग्रह गरेका छन् । 

यो पनि …

५० जनाभन्दा बढीको मिर्गौला तस्करी गर्ने ‘किड्नी किङ’ पक्राउ

मिर्गौला तस्करीका मास्टरमाइन्ड भारतबाट पक्राउ, करिब एक सय जनाको मिर्गौला निकालिएको अनुमान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?