काठमाडौं । बर्खा लागेसँगै विभिन्न लामखुट्टेको संक्रमणबाट सर्ने रोगहरू बढ्ने गर्छन् । डेंगुको खतरासँगै अहिले जापानी इन्सेफ्लाइटिस (जेई)को जोखिम पनि देखिन थालेको छ ।
नेपालमा यस्ता रोगहरू प्रायः तराईका जिल्लाहरूमा धेरै हुने गर्छन् । हालै मात्र जेईको संक्रमण तीव्र रूपमा फैलिन थालेको छ । नेपालमा जेई भाइरस विशेषतः जुन–जुलाई महिनामा सक्रिय हुँदै अगष्ट महिनामा उच्चतम बिन्दुमा पुग्ने गरेको देखिन्छ ।
के हो जापनिज इन्सेफ्लाइटिस ?
जापनिज इन्सेफ्लाइटिस (जेई) क्युलेक्स जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो । जेई मस्तिष्क तथा स्नायु प्रणालीमा असर गर्ने गम्भीर भाइरसजन्य रोगसमेत हो ।
जसलाई सामान्यतया ब्रेन फिभर पनि भनिन्छ । यो रोग संक्रमित लामखुट्टेको टोकाइबाट मानिसमा सर्छ । जापानी इन्सेफ्लाइटिस भाइरस विश्वभर देखिने (Acute Encephalitis Syndrome-AES) को मुख्य कारणमध्ये एक हो ।
यो भाइरस एसियाका गर्म र उपगर्म क्षेत्रहरूमा धेरै पाइन्छ । त्यसैले प्रायः नेपालको तराई जिल्लाहरूमा यसको संक्रमण देखिने गर्छ ।
सुंगुर, बंगुर वा जंगली चराहरू र बकुल्ला जस्ता जनावरहरूमा भाइरस रहने र त्यसलाई क्युलेक्स जातका लामखुट्टेले मानिससम्म पुर्याउने गर्छ । मानिस भने ‘एक्सिडेन्टल होस्ट’ हुन्छ, अर्थात् मानिसबाट यो रोग अरूमा भने फैलिँदैन । तर, मानिस र यी जनावरबिच नजिकको सम्पर्क हुने ठाउँमा रोगको जोखिम बढी हुन्छ । धानखेत, दलदले जमिन र पानी जम्ने ठाउँहरूमा पाइने ‘क्युलेक्स’ जातको लामखुट्टेले यो रोग फैलाउँछ ।

जेई प्रायः १५ वर्षमुनिका बालबालिकामा बढी देखिन्छ, तर कुनै नयाँ क्षेत्रमा पहिलोपटक फैलिँदा सबै उमेरका मानिस प्रभावित हुन सक्छन् ।
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा करिब ३ अर्ब मानिसहरू जापनिज इन्सेफ्लाइटिसको जोखिम क्षेत्रमा बस्छन् । प्रकोपका बेला प्रत्येक एक लाख जनसंख्यामा १० भन्दा बढीमा यो रोग देखिन सक्छ । यस रोगको मृत्युदर करिब ३० प्रतिशत हुन्छ र बचेकाहरूमध्ये झन्डै आधामा दीर्घकालीन स्नायु तथा मानसिक समस्या देखिन्छ; जसले पढाइ, सोच्ने क्षमता र आर्थिक उत्पादनशीलतामा असर पार्छ ।
यो रोगको कुनै निश्चित उपचार छैन । त्यसैले चाँडै पत्ता लगाउनु र लक्षणअनुसार उपचार गर्नु नै रोग नियन्त्रणको मुख्य उपाय हो ।
यसको सुरु कहाँबाट भएको थियो ?
जापनिज इन्सेफ्लाइटिस पहिलोपटक जापानमा सन् १८७१ मा देखिएको थियो । सन् १९२४ मा ठूलो महामारी देखिएपछि यो रोग दक्षिण–पूर्व एसियालगायत सम्पूर्ण एसिया क्षेत्रमा बढ्दो चिन्ताको विषय बन्यो । सन् २०२२ मा भएको एउटा अध्ययनले देखायो कि दक्षिण–पूर्व एसियामा लामखुट्टे र जनावरहरूमा जापनिज इन्सेफ्लाइटिस भाइरसको उपस्थिति दर ३९ प्रतिशत थियो, जुन सबैभन्दा बढी हो ।
त्यसपछि पूर्वी एसियामा ३५ प्रतिशत र दक्षिण एसियामा १५ प्रतिशत देखिएको थियो । समग्रमा, एसिया महादेशभर यसको औसत उपस्थिति दर २६ प्रतिशत पाइएको थियो ।
२०१४ देखि २०२४ सम्म नेपालमा जापानी इन्सेफ्लाइटिसको अवस्था
नेपालमा जापानी इन्सेफ्लाइटिस संक्रमण सन २०१४ मा वृद्धि भएको देखिन्छ । स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखा र विश्व स्वास्थ्य संगठनको भीपीडी निगरानी डेटाबेसका अनुसार त्यस वर्ष ४९ जनामा जेईको पुष्टि भएको थियो, जहाँ २३ जनाले ज्यान गुमाएका थिए ।
त्यस्तै, सन २०१५ मा ५० जनामा यो रोग पुष्टि हुँदा ४ जनाले ज्यान गुमाए भने २०१६ देखि क्रमशः २०१७, २०१८, २०१९, २०२०, २०२१, २०२२ सम्म ४४, ८१, ५८, ७०, ४२, २८, ७९ जनामा पुष्टि भए पनि मृत्यु भने भएको थिएन । तर एकैपटक सन २०२३ मा भने १ सय ७ जनामा यो रोगको संक्रमण पुष्टि भई १० जनाको ज्यान गयो ।
धानखेत, दलदले जमिन र पानी जम्ने ठाउँहरूमा पाइने ‘क्युलेक्स’ जातको लामखुट्टेले यो रोग फैलाउँछ ।
कोरोना महामारीका कारण सन् २०२० मा भने जापनिज इन्सेफ्लाइटिसको संक्रमणमा कमी आएको थियो । त्यसपछि भने फेरि क्रमशः संक्रमण दर वृद्धि हुँदै सन् २०२४ मा ८४ जनामा संक्रमण पुष्टि भएको थियो । सन् २०२४ मा कुल ८४ जनामा संक्रमण पुष्टि भएको थियो भने त्यसमा २३ जना अर्थात् २७ प्रतिशतभन्दा बढीको मृत्यु भएको थियो ।
कस्ता हुन्छन् जापनिज इन्सेफ्लाइटिसका लक्षणहरू ?
अधिकांश अवस्थामा जापनिज इन्सेफ्लाइटिसमा मध्यम खालका लक्षणहरू देखिन्छन् । तर केही बिरामीमा भने त्यो भन्दा फरक लक्षण पनि देखिने गरेको छ । सामान्य अवस्थामा उच्च ज्वरो आउनु, मुर्छा पर्नु, घाँटी अररो हुनु, भ्रममा पर्नु, बोल्न नसक्ने अवस्थामा पुग्नु, शरीर अनियन्त्रित भएर कामिरहनु, मांसपेशी कमजोर हुनु वा पक्षाघात हुनुलगायतका समस्याहरू देखिने गरेका छन् ।
विश्व स्वास्थ्य संगठनका अनुसार जापनिज इन्सेफलाइटिसबाट संक्रमित हुने २ सय ५० मध्ये एक जनामा अझ घातक खालका समस्याहरू देखा पर्ने गरेको छ । घातक समस्या देखिएका तीनमध्ये एक जनाको मृत्यु हुने गरेको छ ।
बढ्दो छ, जापनिज इन्सेफ्लाइटिसको संक्रमण
विगत दुई तीन वर्षको तथ्यांक हेर्दा जापनिज इन्सेफ्लाइटिसको संक्रमण वार्षिकरुपमा बढिरहेको पाइएको छ । यसको संक्रमण हुँदा गम्भीर स्वास्थ्य समस्या आउने मात्र नभई मानिसको मृत्युसमेत हुने गर्छ ।
स्वास्थ्य सेवा विभाग मातहतको परिवार कल्याण महाशाखाका अनुसार सन् २०२५ मा देशभर ९ सय ६ जनामा जापनिज इन्सेफ्लाइटिसको परीक्षण गरिएकोमा ८४ जनामा यो रोग पुष्टि भएको छ । जसमध्ये १५ जनाको मृत्यु भइसकेको छ ।
यो रोगका संक्रमित नेपालका सबै सातै प्रदेशका २८ जिल्लाभित्रका ६४ स्थानीय तहमा भेटिएका छन् । संक्रमितमध्ये ४८ जना पुरुष र ३६ जना महिला रहेका छन् ।
यो संक्रमणका कारण मृत्यु हुनेमा ८ जना पुरुष र ७ जना महिला छन् । मृत्यु हुनेमध्ये करिब ६० प्रतिशत ६० वर्षभन्दा माथिका व्यक्ति रहेका छन् । संक्रमित भने ९ महिनाका शिशुदेखि ८९ वर्ष उमेर समूहसम्मका छन् ।
प्रदेश अनुसार हेर्ने हो भने सबैभन्दा धेरै लुम्बिनी प्रदेशमा २९ जना संक्रमित भेटिएका छन्, जसमा ४ जनाको मृत्यु भएको छ । बागमतीमा १३ जना संक्रमितमध्ये ३ जनाको मृत्यु, कोशीमा पनि १३ संक्रमितमध्ये ३ जनाको मृत्यु, मधेसमा ११ संक्रमितमध्ये ३ जनाको मृत्यु, गण्डकीमा १० संक्रमितमध्ये १ जनाको मृत्यु र कर्णालीमा १ जना संक्रमित भए पनि मृत्यु शून्य रहेको छ । त्यस्तै सुदूरपश्चिममा ७ संक्रमितमध्ये १ जनाको मृत्यु भएको छ ।

यस आधारमा लुम्बिनी, बागमती र कोशी प्रदेशमा संक्रमितको संख्यासँगै मृत्यु हुनेको संख्या पनि बढी देखिएको छ । सबैभन्दा कम संक्रमण र मृत्यु कर्णाली तथा सुदूरपश्चिममा देखिएको छ ।
तथ्यांकको आधारमा संक्रमितमध्ये करिब ८५ प्रतिशत तराई क्षेत्रमा भेटिएका छन् । संक्रमित प्रायः किसान परिवारका सदस्य छन्, जसको घर धानखेत वा सुंगुरपालन नजिकै रहेको छ ।
चितवन सबैभन्दा जोखिममा
बागमती प्रदेशको चितवन जिल्ला जापनिज इन्सेफ्लाइटिसबाट सबैभन्दा बढी प्रताडित रहेको पाइएको छ । बागमती प्रदेशको सिन्धुली जिल्लामा पनि एक जनामा जापनिज इन्सेफ्लाइटिसको संक्रमण भेटिएपनि सिन्धुलीमा मृत्यु भएको छैन । तर बागमती प्रदेशको चितवन जिल्लामा संक्रमितको संख्या थपिइरहेको छ भने मृत्यु हुनेको संख्या पनि ३ जना पुगिसकेको छ ।
यस रोग नियन्त्रणका लागि सरकारका स्थानीय, प्रदेश र जिल्लास्तरका स्वास्थ्य टोली परिचालन गरिएका छन् । साथै स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकालाई तालिम, समुदायस्तरमा जनचेतना कार्यक्रम, घर–घरमा अनुगमन र खोपबारे जानकारी दिने कार्य जारी रहेको मन्त्रालयले जनाएको छ ।
डाक्टरकै चिन्ता बन्यो जापनिज इन्सेफ्लाइटिस
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख मेडिकल अधिकृत हुन्, डा. शेरबहादुर पुन । सरुवारोग विज्ञसमेत रहेका डा. पुनका अनुसार जापनिज इन्सेफ्लाइटिस रोग लागेमा मानिसमा दीर्घकालीन समस्या रहने भएकाले यो सबैको चिन्ताको विषय बनेको छ । यो बिरामीहरूको लागि मात्रै नभएर स्वयं डाक्टरका लागि पनि चिन्ताको विषय भएको उनले बताए ।

डा. पुनका अनुसार यो रोगले कमजोर बनाउने मात्रै नभएर ज्यान नै लिनसक्ने जोखिम भएकाले यसको चिन्ता सबैमा बढेको हो । यो रोगबाट बच्ने वा रोग प्रतिरोधी क्षमतालाई बलियो बनाउने भनेको भ्याक्सिन लगाएर मात्रै हो । तर कतिपयले भ्याक्सिन नै नलगाएको र भ्याक्सिन लगाएको पनि लामो समय भइसकेको हुनाले संक्रमण भइहालेमा गम्भीर समस्या ल्याउन सक्छ ।
बढ्दो छ संक्रमण
डा. पुनका अनुसार विगत दुई तीन वर्षदेखि यो रोगको संक्रमण निकै बढेको छ । अस्पतालमै पनि यसबाट संक्रमित बिरामीहरू धेरै मात्रामा आउने गरेको र कतिको मृत्युसमेत भएको देखेको पुनले बताए । सन् २०१९ पछि यसको संक्रमणमा केही कमी आएको भएपनि अहिले फेरि बढ्न थालेको पुनले बताए । पहिले पनि बढेर सन् २०१२ पछि केही नियन्त्रणमा आएको भएपनि पछि फेरि बढेको थियो । त्यतिबेला यसको भ्याक्सिन लगाएको कारण यो रोगमा कमी आएको तर पछि यसको भ्याक्सिन लगाउन छाडेको कारण बढेको पुनले बताए ।
सन् २०२३ देखि यसको संक्रमण फेरि बढेको र गम्भीर समस्या देखिएकालाई बचाउन निकै कठिन हुने गरेको उनले बताए । डा. पुन भन्छन्, ‘समयमै रोकथाम नगरे यो रोगले गम्भीर समस्या ल्याउन सक्छ । लामखुट्टे नियन्त्रणमा ध्यान नदिने हो भने जापनिज इन्सेफ्लाइटिसले फेरि टाउको उठाएर तीव्र संक्रमण निम्त्याउन सक्छ ।
डेंगु भन्दा कैयन् गुणा शक्तिशाली छ जापनिज इन्सेफ्लाइटिस
सरुवा रोग विशेषज्ञ डा. पुनका अनुसार जापनिज इन्सेफ्लाइटिस डेंगुभन्दा कैयन् गुणा शक्तिशाली र घातक छ । तर स्वास्थ्यकर्मी र सरकारको ध्यान भने डेंगु नियन्त्रणमा मात्रै केन्द्रित रहेको पुनले बताए ।
उनी भन्छन्, ‘डेंगुले हतपत मान्छे मारिहाल्छ भन्ने छैन । तर यसको मतलब मर्दै नमर्ने भन्ने होइन । डेंगु र जापनिज इन्सेफ्लाइटिसको तुलना गर्दा जेई अलि फरक र कडा छ । किनभने जेईको मृत्युदर ३० प्रतिशतको हाराहारीमा छ । गम्भीर प्रकृतिको संक्रमण भएर बचाउन सकिएकामध्ये पनि ५० प्रतिशतमा अपांगता, विभिन्न नशासम्बन्धी समस्या, श्रवण क्षमता शून्य हुनेलगायतका समस्या देखिएका छन् । त्यसले गर्दा पनि यो हाम्रो लागि समेत थप चुनौतीको कुरा हो ।’
गम्भीर प्रकृतिको संक्रमण भएर बचाउन सकिएकामध्ये पनि ५० प्रतिशतमा अपांगता, विभिन्न नशासम्बन्धी समस्या, श्रवण क्षमता शून्य हुनेलगायतका समस्या देखिएका छन् । त्यसले गर्दा पनि यो हाम्रो लागि समेत थप चुनौतीको कुरा हो ।’
जुलाई र अगष्टमा बढ्छ संक्रमण
जापनिज इन्सेफ्लाइटिस मुख्यतः जुलाई र अगस्ट महिनामा बढी संक्रमण हुने गरेको रोग हो । धानखेतमा काम गर्नुपर्ने, पानी जम्ने र त्यस्तै स्थानमा क्युलेक्स लामखुट्टे हुने भएकाले यो समयमा यस रोगको संक्रमण बढी हुने गरेको हो ।
उनी भन्छन्, ‘जुलाई र अगष्ट महिना जापनिज इन्सेफ्लाइटिसको संक्रमण बढी हुने महिनाहरू हुन् । त्यसकारण यो दुई महिनामा सजगता बढी अपनाउनुपर्ने हुन्छ ।’

डा. पुन यो रोग नियन्त्रण गर्न सम्भव रहेको बताउँछन् । उनी भन्छन्, ‘यो संक्रमण पहिला थियो, बिचमा केही कम भएको थियो तर अहिले फेरि देखियो । तर यसको राम्रो पक्ष भनेको हामीले चाहेमा यसलाई नियन्त्रणमा लिन सक्छौँ र पहिले पनि नियन्त्रण गरेकै हो । तर यसलाई बेवास्ता गर्न र नियन्त्रण गर्न ढिलाइ भने गर्नुहुँदैन ।’
बच्ने उपाय
जापनिज इन्सेफ्लाइटिसबाट बच्न गरिने उपाय भनेकै लामखुट्टेको नियन्त्रण नै हो । लामखुट्टेको नियन्त्रण गर्न सकिए यो रोगबाट बच्न सकिने छ ।
लामखुट्टे नियन्त्रण गर्न के गर्ने ?
घर वरिपरि पानी जम्न नदिने (लामखुट्टेको प्रजनन स्थल हटाउने)
पानीका भाँडामा ढक्कन लगाउने वा नियमित सफा गर्ने
कीटनाशक प्रयोग गरेर लामखुट्टे मार्ने
साँझपख घरभित्र लामखुट्टे प्रवेश रोक्ने जालीदार ढोका–झ्याल लगाउने
रातमा लामखुट्टेको टोकाइबाट बच्न झुलको प्रयोग गर्ने
लामो बाहुला भएको कपडा लगाउने
समुदायस्तरको पहल
गाउँ–टोलमा लामखुट्टे प्रजननस्थल सफा गर्ने अभियान चलाउने
सुंगुरपालन वा चरापालनमा लामखुट्टे बढी हुने भएकाले समुदायबाट टाढा गर्ने
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया