उदयपुरमा ३ जनाको शव फेला

लोकपथ
539
Shares

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका– ११ गाईघाट बजारस्थित बैंक लाइनको होटल अपाचमा वेटरको काम गर्ने एक युवकको अत्यधिक ड्रग्स सेवनका कारण बुधवार ज्यान गएको छ । त्रियुगा नगरपालिका–१३ असारी घर भएका २२ वर्षीय विशाल हमालको होटलको कोठामा सुतेकै अवस्थामा ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । 

राति सुतेका हमालको बिहानसम्म नउठेपछि होटलका स्टाफ तथा सञ्चालकले कोठा खोल्न खोज्दा समेत नउठेपछि प्रहरीलाई खबर गरेका थिए । 

जिल्ला प्रहरी कार्यालय उदयपुरको टोलीले बुधवार बिहान ९ बजेतिर ढोका फोडेर हेर्दा उनको ज्यान गइसकेको थियो । मृतक हमालको सुत्ने कोठामा भेटिएको मदिराको बोतल, चुरोट र उनले प्रयोग गरेको ड्रग्स हेर्दा अत्यधिक ड्रग्स प्रयोगपछि ज्यान गएको अनुमान गरिएको छ । तर उनको शव परीक्षणपछि मात्र मृत्युको कारण खुल्ने जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । उनका आमा बुबा भने भारतमा काम गर्न गएको बताइएको छ । प्रहरीले शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल बोक्से पठाएका छन् । 

त्यसैगरी उदयपुरको चौदण्डीगढी नगरपालिका– ४ अमलचौरीमा बुधबार बिहान दुई जनाको शव फेला परेको छ । बाटोमा लडिरहेको अवस्थामा र रुखमा झुन्डिएको अवस्थामा युवा युवतीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

ती शव स्थानीय २८ वर्षीय रविन राई र १४ वर्षीया मञ्जु राईको रहेको खुलेको छ । मञ्जुको शव अमलचौरी गाउँको बीच बाटोमा लडिरहेको अवस्थामा भेटिएको र रविनको शव मञ्जुको शवदेखि झन्डै १ सय मिटर तल आँपको रुखमा झुन्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरीक्षक बबिन राईले जानकारी दिए । 

बिहान बाटो हिँड्ने बटुवाहरूले दुई जनाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले शवको मुचुल्का उठाएर पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको छ ।

मृतक दुवै जना प्रेममा रहेको खुल्न आएको छ । किशोरी स्थानीय सिंहदेवी माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत थिइन भने युवक काठमाडौँबाट केही दिनअघि मात्र घर आएका थिए  । दुवै जनाले के कारणले आत्महत्या गरे भन्ने बारे खुलेको छैन । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?