संखुवासभामा सशस्त्र प्रहरीका संस्थापक महानिरीक्षक स्व.  कृष्णमोहन दम्पतीको सालिक अनावरण 

लोकपथ
427
Shares

काठमाडौं । संखुवासभाको चैनपुर नगरपालिका–६ दुईबरे जिरो प्वाइन्टमा सशस्त्र प्रहरी बलका संस्थापक महानिरीक्षक स्व. कृष्णमोहन श्रेष्ठ र उनकी धर्मपत्नी स्व. नुडुप श्रेष्ठको सालिक अनावरण गरिएको छ । 

नुडुप फाउन्डेसन र चैनपुर नगरपालिकाद्वारा संयुक्त रूपमा निर्मित सालिकको आज मंगलबार शस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले अनावरण गरेका हुन् । 

स्व. श्रेष्ठको सम्मानमा सशस्त्र प्रहरी बल प्रधान कार्यालयस्थित एपीएफ क्लब हललाई समेत कृष्णमोहन स्मृति भवन नामकरण गरिएको छ । 

२००३ साल फागुन ३ गते संखुवासभा जिल्लामा जन्मेका स्व. श्रेष्ठ २०५७ साल माघ १९ गते सशस्त्र प्रहरी महानिरीक्षक पदमा नियुक्त भएका थिए । २०५९ साल माघ १२ गते ललितपुरको बागडोलमा मर्निङ वाकको क्रममा उनी र उनकी धर्मपत्नी सशस्त्र प्रहरी परिवार महिला सघकी संस्थापक अध्यक्ष नुडुप श्रेष्ठ एवं अंगरक्षक सशस्त्र प्रहरी नायव निरीक्षक सूर्य रेग्मीको गोली हानी हत्या गरिएको थियो । 

सशस्त्र प्रहरी बल नेपालका संस्थापक महानिरीक्षक स्व. श्रेष्ठको स्मृतिमा माघ १२ गते कृष्णमोहन–नुडुप स्मृति प्रतिष्ठानले हरेक वर्ष श्रद्धाञ्जली समारोहको आयोजना गर्दै आएको छ । सो अवसरमा कृष्णमोहन नुडुप कार्यदक्षता पुरस्कार, सूर्य रेग्मी अंगरक्षक पुरस्कार तथा कृष्णमोहन नुडुप छात्रवृत्ति प्रदान गर्ने गरिएको छ । 

कार्यक्रममा नेपाल प्रहरीका पूर्व महानिरीक्षक कुवेरसिंह राना, अवकाशप्राप्त सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राई, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहाल, अवकाश प्राप्त सशस्त्र प्रहरी अधिकृतहरू, चैनपुर नगरपालिकाका प्रमुख कृष्णकुमार तामाङ, उपप्रमुख एलिना श्रेष्ठ, जिल्ला न्यायाधीश ध्रुवराज त्रिपाठी, प्रमुख जिल्ला अधिकारी दिब्यराज पोख्रेल, नं. १ बराह बाहिनी मुख्यालय सुनसरीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक कुमार न्यौपाने, कृष्णमोहन नुडुप फाउन्डेसनका पदाधिकारीहरू, विभिन्न संघ संस्थाका प्रतिनिधिहरू, स्थानीयवासीहरु र नंं. ४ अरुण गुल्म संखुवासभामा कार्यरत सशस्त्र प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?