जेठ १५ मा राजावादी शक्तिले कहाँ गर्दैछ प्रदर्शन ? प्रशासन भन्छ– ‘जानकारी छैन’

लोकपथ
3.2k
Shares
फाइल तस्बिर

काठमाडौं । नवराज सुवेदीको नेतृत्वमा गठित संयुक्त जनआन्दोलन परिचालन समितिको नेतृत्वमा राजावादी शक्तिहरुले आगामी जेठ १५ गते काठमाडौंमा प्रदर्शन गर्दैछ ।

देशभरबाट आफ्ना कार्यकर्ताहरुलाई काठमाडौंमा भेला गराएर वर्तमान व्यवस्थाको विरुद्ध प्रदर्शन गर्न राजावादी शक्तिहरुले तयारी तिव्र बनाइरहेका छन् । तर उनीहरुले हालसम्म समेत कुन ठाउँमा प्रदर्शन गर्ने भन्ने निर्णय गरिसकेका छैनन् ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापासहितका राजावादी नेताहरुले काठमाडौंमा आन्दोलनका लागि शक्ति बढाउन प्रचा बाँडेर घरदैलो गरिरहेका छन् । तर उनीहरुले न कुनै निश्चित स्थानमा प्रदर्शन गर्ने भनेका छन्, न प्रशासनसँग अनुमति नै लिएका छन् ।

हालसम्म राजावादी शक्तिहरुले कहाँ प्रदर्शन गर्ने भनेर अनुमति नलिएको र कुनै माध्ययमबाट पनि प्रशासनलाई जानकारी समेत नगराएको जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी (सूचना अधिकारी) अशोककुमार भण्डारीले लोकपथलाई जानकारी दिए ।

‘हामीले पनि सञ्चारमाध्ययम र सामाजिक सञ्जालबाट प्रदर्शन गर्ने भन्ने कुरा जानकारी पाएका छौँ । तर त्यसको आयोजकले अहिलेसम्म न कुनै अनुमति लिएको छ, न कुनै माध्यमबाट हामीलाई जानकारी आएको छ,’ भण्डारीले लोकपथसँग भने ।
त्यसो त राप्रपाका एक केन्द्रीय सदस्यका अनुसार देशभरबाट आएका राजावादीहरुले काठमाडौंका विभिन्न स्थानमा प्रदर्शन गर्ने तयारी गरेको हो ।

यता संयुक्त जनआन्दोलन परिचालन समितिका प्रवक्ता स्वागत नेपालले स्थानको विषयमा हालसम्म कुनै टुंगो नलागेको लोकपथलाई जानकारी दिए । यसअघिदेखि नै आफूहरुले रत्नपार्क केन्द्रित आन्दोलन गर्ने तयारी गरेको उनले बताए ।

‘हालसम्म अनुमति लिएका छैनौँ, त्यसमा कसरी सर्कुलेट गर्ने भन्ने विषयमा हामी छलफलमै छौँ । यसअघि रत्नपार्कमा गर्ने हो कि भन्ने कुरा भएको छ,’ उनले लोकपथसँग भने ।

हिन्दूराज्य र राजतन्त्र पुनस्थापनाको मागसहित राजावादी शक्तिहरुले यसअघि पनि प्रदर्शन गरेका थिए । गत चैत १५ गते तीनकुनेमा राजावादीहरुको प्रदर्शन हिंसात्मक भएसँगै त्यसको नैतिक जिम्मेवारी कसैले समेत लिएका छैनन् । सुवेदीकै संयुक्त जनआन्दोलन परिचालन समितिको नेतृत्वमा आन्दोलन भए पनि आन्दोलनका कमाण्डर मेडिकल व्यवसायी दुर्गा प्रसाईँ तोकिएका थिए ।

प्रसाईँको उत्तेजक शैलीपछि आन्दोलन भड्किँदा ठूलो धनजनको क्षति समेत भएको थियो । सोही घटनापछि तर्सिएका राजवादी शक्तिहले आगामी आन्दोलन भने शान्तिपूर्ण गर्ने तयारी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?