नेपालीलाई रुसी सेनामा भर्ना नगर्न पुटिनलाई प्रधानमन्त्री ओलीको सन्देश

लोकपथ
56
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग रुसी महासंघअन्तर्गतको काल्मिकियाका प्रमुख बाटु कासिकोभ नेतृत्वको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटका अवसरमा नेपाल र रुसबीचको  मित्रवत् सम्बन्धका विविध आयामबारे छलफल भएको छ । प्रमुख कासिकोभले आगामी ‘सेप्टेम्बर’मा काल्मिकियामा आयोजना हुने अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा सहभागिताका लागि प्रधानमन्त्री ओलीलाई निम्तो दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

सोही अवसरमा  प्रधानमन्त्री ओलीले रुसी महासंघका राष्ट्रपति भ्यादिमिर पुटिनलाई नेपालको औपचारिक भ्रमणका लागि निमन्त्रणाको सन्देश सुनाइदिन आग्रह गरे ।  

प्रधानमन्त्री ओलीले नेपाल र रुसबिच कुनै पनि किसिमको सैन्य सम्झौता नभएको अवस्थामा रुसी सेनामा नेपालीलाई भर्ना नगर्न राष्ट्रपति पुटिनलाई आफ्नो सन्देश सुनाइदिन पनि आग्रह गरे । जवाफमा प्रमुख कासिकोभले अब त्यसरी भर्ना नगाइने विश्वास दिलाए । 

भेटका अवसरमा नेपालस्थित रुसी राजदूतावासका राजदूत आलेक्सी नोभिकोभ, परराष्ट्र मन्त्रालयका उच्चाधिकारीलगायत सहभागिता थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?