निर्माणाधीन संसद भवनलाई समयमै सम्पन्न गर्ने विषयलाई ठेकेदारले हल्का रूपमा लिए : उपप्रधानमन्त्री सिंह 

लोकपथ
217
Shares

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले सिंहदरबारमा निर्माणाधीन संघीय संसद् भवनलाई समयमै सम्पन्न गर्ने विषयमा ठेकेदारले हल्का रूपले लिएको बताएका छन् । 

निर्माणाधीन संघीय संसद भवनको हालसम्मको प्रगति सम्बन्धमा छलफल गर्न बिहीबार सिंहदरबारमा बसेको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । 

उनले समयमा नसकिने म्याद थप भइहाल्छ नि भन्दै ठेकेदारले हल्का रूपमा लिएको बताए । उनले पटक पटक म्याद थप गर्दा पनि अहिलेसम्म ८६ प्रतिशत भौतिक प्रगति भएको बताउँदै त्यसलाई शत प्रतिशतमा लैजान आफूहरू गम्भीर रहेको बताए । 

मन्त्री सिंहले कामलाई तीव्रता दिई ठेकेदारलाई जिम्मेवारी बोध बनाउन जरिवाना तिराउने वा नयाँ टुल्स गर्ने विषयमा छलफल भइरहेको बताए । उनले पछिल्लो पटक थपिएको म्याद नै अन्तिम म्याद हुने गरी आफूहरू गम्भीर रहेको बताए ।  

उनले भने, ‘सुरु भयो, ठेक्कामा गयो । पटक पटक म्याद थप गरियो । ८६ प्रतिशत फिजिकल प्रगति भयो भनेर आएको छ । ८६ लाई १०० मा पुर्‍याउन हामीले अहिले कानुनले दिएका प्रावधानहरू के के छन् ? कामलाई तीव्रता दिन के के टुल्सहरु प्रयोग गर्न सकिन्छ । जरिवाना नै तिराउने हो कि, कन्ट्रयाक्टरले हल्का रूपमा लिइरहेका छन्, म्याद थप भई हाल्छ नि के गर्छन् र यिनीहरूले भन्ने खालको । कन्ट्रयाक्टरलाई अलि जिम्मेवार बनाउन गर्नुपर्ने कामहरूमा के गर्दा खेरी हुन्छ भन्ने कुरामा समितिबाट सुझाव लिन्छौँ । यसलाई पूरा गर्नको लागि अब अन्तिम म्याद जस्तो गरेर जान हामी सहमति छौँ ।’

उनले ठेकेदार जिम्मेवारी नभए कानुनी प्रावधानअनुसार अगाडी बढ्ने कुरामा हिचकिचाहट नगर्ने चेतावनी दिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?