उन्नति र समृद्धिको आधार महिलाको समान अधिकार : अध्यक्ष यादव

लोकपथ
70
Shares
फाइल तस्बिर

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले महिला समानता विकासको आधार भएको बताएका छन् ।  

जनकपुरमा समाजवादी महिला संघ, नेपालको राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्  । उनले उन्नति र समृद्धिको आधार महिलाको समान अधिकार भएको उल्लेख गरे । उनले आज पनि महिलाहरूमाथि धेरै खालका विभेदहरू हुने गरेको भन्दै चिन्ता व्यक्त गरे । 

उनले महिलामाथि हुने विभेदमा एउटा लैङ्गिक असमानता रहेको बताए । नेपालमा तुलनात्मक रूपमा सबैभन्दा बढी महिला हिंसा मिथिला भूमिमै हुने गरेको उनको भनाइ छ ।  

उनले भने, ‘महिलाको समानता विकासको आधार हो । उन्नति र समृद्धिको आधार महिलाको समान अधिकार हो । यो इतिहासले प्रमाणित गरिसकेको छ । तर आज पनि महिलाहरूमाथि धेरै खालका विभेदहरू नेपाल लगायत विभिन्न मुलुकमा भइरहेका छन् । ती विभेदहरू विरुद्ध संसारभरका महिलाहरू, महिला संगठनहरुले संघर्ष गरिरहेका छन् । ती विभेदहरूमा एउटा ठुलो विभेद के हो भने लैङ्गिक असमानता हो । लैङ्गिक असमानतामा महिला, तेस्रो लिङ्गी लगायतका अरू पनि पर्छन्  । महिलाहरूले महिला भएकै कारणबाट हिंसा भोग्नुपर्ने, हाम्रो समाजमा मिथिलाका साथीहरू हुनुहुन्छ । जानकीलाई माता मान्ने साथीहरू हुनुहुन्छ, म पनि मान्छु । तर नेपालमा हेर्ने हो भने तुलनात्मक रूपमा सबैभन्दा बढी महिला हिंसा यही मिथिला भूमिमा छ । हरेक दिन एउटा न्युज आइरहेको हुन्छ । शिक्षामा तुलनात्मक रूपले सबैभन्दा बढी महिला पछि परेको यही ठाउँ हो । सीताको पूजा गरेर आउने, छोरी, श्रीमती वा अरूलाई सम्मान नगर्ने स्थिति छ । बालविवाह अझै बाँकी छ ।’

अध्यक्ष यादवले शिक्षामा सबैभन्दा बढी महिला पछि परेको स्थान मधेस प्रदेश नै रहेको बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?