काठमाडौं । बुटवलमा हाइटेन्सन पोलमा ठोक्किएर एक जनाको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका–२ का २० वर्षीय गोपाल टण्डनको हाइटेन्सन पोलमा ठोक्किएर मृत्यु भएको हो ।
उनी शनिबार रातिदेखि बेपत्ता थिए भने उनको शव आइतबार बुटवल–११ कालिकापथस्थित हाइटेन्सन पोलमुनि फेला परेको हो ।
प्रहरीका अनुसार टण्डन हराएको सूचना आइतबार परिवारबाट प्राप्त भएपछि खोजी सुरु गरिएको थियो । सोमबार बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई जानकारी दिएका थिए। जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सुरज कार्कीले प्रारम्भिक अनुसन्धानमा घटनालाई दुर्घटना मानेको जानकारी दिए ।
‘सीसीटीभी फुटेजको अध्ययन गर्दा मोटरसाइकल विद्युतको पोलमा ठोक्किएको देखिन्छ,’ कार्कीले भने, ‘अहिले थप अनुसन्धान भइरहेको छ।’
प्रहरीले प्राप्त गरेका दृश्यहरू अनुसार, लु ४८ प ३१७० नम्बरको मोटरसाइकल तीव्र गतिमा रहेको र राति करिब २ः१५ बजे सडकमा थुपारिएको निर्माण सामग्री पार गर्दै पोलमा ठोक्किएको देखिएको छ।
शव पोस्टमार्टमका लागि पठाइएको छ भने दुर्घटनाको विस्तृत कारण पत्ता लगाउन अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया