लोकमार्गसँग जोड्ने लक्ष्मी मार्ग धमाधम कालोपत्रे

लोकपथ
35
Shares
फाइल तस्बिर

झापा ।  झापाको कनकाई नगरपालिका–४ र ५ हुँदै झापा गाउँपालिका जोड्ने लक्ष्मी मार्ग कालोपत्रेको काम सुरु भएको छ । स्थानीय, प्रदेश र संघीय सरकारको सात करोड ५० लाखको लागतमा करिब पाँच किलोमिटर सडकको कालोपत्रेको काम थालिएको हो । 

कुल ११ किमी लक्ष्मी मार्गको छ किमी सडक कालोपत्रे भइसकेको र पाँच किमी सडकको निर्माण कार्य यही वैशाख मसान्तभित्र सम्पन्न गर्ने गरी काम भइरहेको कनकाई–४ का वडाध्यक्ष रोशन सुवेदीले जानकारी दिए।

उनले लक्ष्मी मार्ग कालोपत्रे भएपछि पूर्वपश्चिम लोकमार्गसँग कनकाई नगरपालिका–४ र ५ हुँदै झापा गाउँपालिकाको सिधा सम्पर्क हुने बताए  । ‘लक्ष्मी मार्ग पूर्वपश्चिम लोकमार्गसँग जोड्ने हाम्रो एक मात्र सडक हो,‘ वडाध्यक्ष सुवेदीले भने, ‘झापा गाउँपालिका हुँदै भारतीय सीमासम्म यो सडकले जोड्छ ।’ 

कनकाई नगरपालिकाको एकल ६५ लाखको लागतमा सात सय मिटर, प्रदेश सरकार र स्थानीय तहको साझेदारी कनकाई नगरको ४५ लाख र कोशी प्रदेश सरकारको  एक करोड २० लाखको लागतमा एक हजार ३०० मिटर र संघीय सरकारको  पाँच करोड २० लाखको लागतमा तीन हजार २०० मिटर सडक निर्माण भइरहेको वडाध्यक्ष सुवेदीले बताए ।

स्थानीय, प्रदेश र संघीय सरकारले छुट्टाछुट्टै बोलपत्र आह्वान गरी ठेक्का लगाएको यो सडकमा विभिन्न पाँचवटा निर्माण कम्पनीले धामधम काम गरिरहेका छन् । सडक निर्माण भएपछि राजमार्गसँग यहाँका नागरिकको सिधा पहुँच पुग्ने वडाध्यक्ष सुवेदी बताउनुहुन्छ । ‘सडक कालोपत्रे नहुँदा यहाँ उत्पादित कृषिजन्य वस्तु बजारसम्म पुर्‍याउन समस्या थियो, हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे हुने यो सडक बनेपछि कनकाई र झापा गाउँपालिकाका स्थानीयवासी लाभान्वित हुनेछन्,‘ वडाध्यक्ष सुवेदीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?