अधिक धमिलो पानीका कारण सप्तकोशीमा बेपत्ता मामा भान्जाको खोजीमा समस्या : सशस्त्र प्रहरी

लोकपथ
1.7k
Shares

काठमाडौं । सुनसरी जिल्लाको बराह क्षेत्र नगरपालिका–१ बराह क्षेत्र मन्दिरस्थित सप्तकोशी नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका दुई जनाको खोजीकार्यको लागि सशस्त्र प्रहरीको गोताखोर टोली आज मंगलबार पनि परिचालन भएको छ ।

आज बिहान सबेरैबाट पाँच जना गोताखोरसहित सशस्त्रको टोली परिचालन भए पनि अधिक धमिलो पानीका कारण खोजी तथा उद्धारमा समस्या भएको सशस्त्र मुख्यालयले जनाएको छ । 

खोटाङ जिल्लाको केपिलासगढी गाउँपालिका–४ बस्ने ४० वर्षीय नवराज बास्तोला र सुनसरी जिल्लाको इटहरी नगरपालिका–१६ बस्ने १६ वर्षीय जेनिश आचार्य सोमबार बिहान साढे ८ बजे नुहाउने क्रममा सो नदीमा डुबेर बेपत्ता छन् । उनीहरू मामा भान्जा हुन् । भान्जा आचार्य डुबेपछि बचाउन गएका मामा बास्तोला पनि बेपत्ता भएको बताइएको छ । 

घटनापछि उनीहरूको खोजीकार्यका लागि सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस चतराबाट तत्काल सुरक्षाफौज खटिएर खोजी गरिरहेकोमा फेला नपरेपछि सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय सुनसरीबाट सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा ५ जना गोताखोरसहितको सुरक्षा फौज परिचालन भएको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?