पहिरोमा परेर ज्यान गुमाएकाको परिवारलाई राहत रकम प्रदान

लोकपथ
427
Shares

काठमाडौं । उत्तरी गोरखाको धार्चे गाउँपालिका-५ सिङ्लास्थित रेसेफाँटको पहिरोमा परेर ज्यान गुमाएकाको परिवार र घाइतेलाई राहत रकम प्रदान गरिएको छ ।

वाटर इनर्जी डेभलपमेन्ट कम्पनीको आयोजनास्थलमा गत साउन १३ गतेको भीषण पहिरोमा परेर ज्यान गुमाएकाको परिवार र घाइतेलाई आयोजनाको तर्फबाट पहिलो किस्ताको राहत रकम उपलब्ध गराइएको छ । 

धार्चे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान सुनारका अनुसार गाउँपालिकाको पहलमा कम्पनीसँग प्रतिमृतक रु तीन लाख र घाइतेलाई रु छ लाख दुई किस्ता गरेर उपलब्ध गराउने सहमति भएको थियो, सोही सहमति बमोजिम मृतकको परिवारलाई पहिलो किस्ताको राहत रकम प्रतिमृतक एक लाख ५० हजार र घाइतेलाई तीन लाख उपचार खर्च सोमबार उपलब्ध गराइएको हो । 

कम्पनीका कर्मचारीसमेत भएकाले मृतक रमेश गुरुङको परिवारलाई भने कम्पनीले राहतबाहेक थप सात लाख दिने सहमतिअनुसार पहिलो किस्ताको रु तीन लाख ५० हजार पनि प्रदान गरिएको प्रशासकीय अधिकृत सुनारले जानकारी दिनुभयो । कम्पनीले बाँकी रकम दोस्रो किस्तामा उपलब्ध गराउने उनको भनाइ छ । गएको गत साउन १३ गते रेसेफाँटको पहिरोमा परेर एकै परिवारका तीन जनासहित पाँच जनाले ज्यान गुमाएका थिए ।

गाउँपालिका र कम्पनीबीच गत पुस २५ गते बैठक बसेर मृतकका परिवार र घाइतेलाई राहत रकम उपलब्ध गराउने सहमति भएको थियो । पहिरोमा परी घाइते भएका दिलीप गुरुङलाई गाउँपालिकाको तर्फबाट सामेबार नै एक लाख राहत उपलब्ध गराएको प्रशासकीय अधिकृत सुनारले जानकारी दिए । गाउँपालिकाले भने मृतकका परिवारलाई यसअघि नै राहत रकम उपलब्ध गराइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?