‘हामीसँग ७० प्रतिशत केन्द्रीय समिति छ, माओवादीसँग एकताकाे दुष्प्रचार गरियो’

लोकपथ
189
Shares

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुुराम भट्टराईले आफ्नो पार्टी माओवादीसँग एकता गर्न लागेको भन्दै भ्रमपूर्ण प्रचार गरिएको जिकिर गरेका छन् ।

आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै डा. भट्टराईले आफ्नो पक्षमा ७० प्रतिशत केन्द्रीय समिति र दुई तिहाइ कार्यकारिणी समितिले माओवादीसँग एकता नगर्ने निर्णय गरेको बताए ।
केही नेताहरुले पार्टी छाडेर माओवादी प्रवेश गरेसँगै डा. भट्टराईले त्यस्तो प्रतिकृया दिएका हुन् । पार्टीका आफ्ना नेताहरु पार्टी छाड्न लागे फूलमाला लगाएर पठाउने संस्कारको विकास गर्न लागेको बताउँदै त्यसलाई ठूलो मान्न नहुने समेत बताए ।

‘हाम्रो ७० प्रतिशत केन्द्रीय समिति र दुई तिहाइ कार्यकारिणी समितिले माओवादीसँग पार्टी एकता नगर्ने निर्णय गरेका छौँ । पार्टी एकता भनेर भ्रमपूर्ण र जालसाक्षी प्रचार गरियो । कोही साथी कुनै पार्टीमा जान चाहनुहुन्छ भने फूलमाला लगाएर पठाउने नयाँ संस्कार बसाउन चाहन्छौँ । यसलाई हामीले ठुलो विषय मानेको होइन’ डा. भट्टराईले पत्रकार सम्मेलनमा भने ।
संविधान जारी भएपछि आफैँले सुरु गरेको नयाँ शक्ति निर्माणको अभियानले विवेकशील साझा हुँदै अहिले स्वतन्त्र पार्टीसम्म जन्मिएको भए पनि आफूहरु कतै हराएको जस्तो महसुस भएको समेत जिकिर गरे ।

‘संविधानसभाबाट संविधान जारी भएपछि नेपालमा नयाँ शक्तिको अभियान सुरु ग¥यौँ । त्यो सँग–सँगै विवेकशील साझा आदि हुँदै स्वतन्त्र अभियान हुँदै पुराना शक्तिहरूको विकल्पमा नयाँ शक्ति निर्माण गर्ने क्रम अगाडि बढिराखेको छ ।’ उनले भने, ‘यसमा सुरुवातकर्ता हामी हो । हाम्रो अभियान कता हराएजस्तो भयो । के भयो नयाँ होकि पुरानो हो भनेजस्ता पर्न गयो ।’
आफूहरुले थालेको नयाँ मार्गमा हिड्ने भन्दा छिमेकी पार्टीमा गएर रमाउने प्रवृत्ति बढेकोप्रति संकेत गर्दै उनले त्यसलाई नराम्रो मान्न नहुने समेत जिकिर गरे ।

‘केही समययता हाम्रा केही साथीहरू आन्दोलनमा थाकेजस्तो छ । त्यसले गर्दा यात्रामा हिँड्नु भन्दा चौतारामा बसौँ, छिमेकीको घरमा गएर मिठो खाना खाऔँ भन्ने जस्तो यात्रीलाई अनुभूत हुन्छ,’डा. भट्टराईले भने, ‘साथीहरूलाई पनि त्यस्तै भएर साथीहरूले (माओवादीमा प्रवेश) गर्न खोज्नु भयो । त्यसलाई हामीले अन्यथा मान्ने कुरा भएन । त्यो त निरन्तर चल्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?