काठमाडौं । नयाँ सत्ता सकीकरण अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अघि बढेको एक साता पुग्यो । गत निर्वाचनमा तेस्रो बनेको दल माओवादी केन्द्रले पटकपटक कांग्रेस एमालेलाई झुुक्याएर आफू सत्तामा पुगेपछि प्रधानमन्त्रीको अस्थिर राजनीतिक चरित्रबारे विभिन्न कोणबाट विश्लेषण भइरहेको छ ।
गत वर्ष मंसिरमा भएको निर्वाचनपछि तेस्रो बनेको दल माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले निर्वाचनमा गठबन्धन गरेको दल नेपाली कांग्रेससँगको सहकार्य तोडे । नेकपा फुुटेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग कटुु सम्बन्धमा रहेका प्रचण्ड उनै ओलीसँग मिलेर आफूू प्रधानमन्त्री बन्न पुगे । जसका कारण लामो सत्ता सहकार्य अनुसार अघि बढ्ने सहमति गरेको कांग्रेस चिढिन पुग्यो । फेरि केही महिना नपुग्दै उनै प्रचण्डले एमालेसँगको गठबन्धन र सहयात्रा तोड्दै पूरानै कांग्रेससँग सहकार्य गर्न पुगे ।
एक वर्षदेखि पुनः कांग्रेससँग सहकार्य गर्दै अघि बढेका प्रचण्डले गत फागुन २१ गते सोमबारबाट कांग्रेससँगको सहकार्यको तोडेर पुनः एमालेसँग सहकार्य गर्न पुगेपछि उनको अस्थिर राजनीतिक चरित्र उदांगो भएको छ । तर पटकपटक धोका पाएको एमाले उनै प्रचण्डसँग सहकार्य गर्न पुगे पनि विश्वस्त भने छैन । एमाले मात्र होइन सत्ता सहकार्यमा रहेका अन्य दलहरु समेत सरकारको आयुबारे शंका गर्न थालेका छन् ।
सरकारमा सामेल भएको दल एमालेका सांसद गोकुल बास्कोटाले प्रचण्डको सत्ता मोहबारे प्रश्न उठाएका छन् ।
सामाजिक सञ्जालमा लेख्दै पूर्वमन्त्री समेत रहेका बास्कोटाले सामाजिक सञ्जालमा चिडको जोक्कर लगाएर पनि मान्छेले खेल जित्न सक्ने भए पनि सुरथको एक्का पछारेर खेल जितेको जस्तो मज्जा नआउने भन्दै व्यंग्य कसेका छन् ।
निर्वाचनबाट पहिलो भएको दल कांग्रेस र दोस्रो भएको दल एमालेलाई बाहिर राख्दै तेस्रो भएको माओवादीले सरकारको नेतृत्व गर्दा राजनीति कलाको कमाल जस्तो देखिए पनि मज्जा नआएको भन्दै कटाक्ष गरेका हुन् ।
‘चिडको दुवा जोक्कर लगाएर पनि मान्छेले खेल त जित्न सक्छन। तर त्यस्तो खेलबाट सुरथको एक्का पछारेर जित प्राप्त गरेको जस्तो रौनक नबन्ने रहेछ।शायद,यसैलाई जुवामा भाग्य र राजनीतिमा कलाको कमाल भनिन्छ क्यार !’ उनले भनेका छन् ।
एमाले मात्र होइन लामो सत्ता सहयात्रामा रहेको दल एकीकृत समाजवादी सरकारमा सामेल भए पनि प्रचण्डको कदम र सरकारको आयुप्रति सकारात्मक देखिँदैन् । समाजवादीका नेताहरु सरकारको आयुबारे प्रश्न उठाउन थालेका छन् ।
एकीकृत समाजवादीका प्रमुख सचेतक समेत रहेका मेटमणी चौधरीले वर्तमान सरकारको आयुु एक महिना पनि नरहेको जिकिर गरेका छन् ।
शनिबार रिपोटर्स क्लबमा आयोजित एक कार्यक्रममा बोल्दै पूर्वमन्त्री समेत रहेका चौधरीले सरकार गठल नियतका साथ बनेका कारण यसको आयु एक महिना पनि नभएको जिकिर गरे ।
‘यो सरकार बेठीक नियतको साथ बनेको छ । यद्यपि मेरो पार्टी पनि सरकारमा सहभागी छ । बेठीक नियतको साथ बनेको कारणले यो सरकारसँग अपार चुनौती छ । निकै सानो अवसर छ । यो कुरा म विश्वासका साथ भन्छु, यो सरकार मुस्किलले बढीमा एक महिनाभन्दा यसको आयु छैन’ चौधरीले भनेका छन् ।
त्यसो त गत बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा एमाले प्रमुख सचेतक रमेश लेखकले धोका पाएकाहरु एक ठाउँमा आएमा के गर्ने प्रधानमन्त्री ज्यू ? भन्दै प्रश्न गरेका थिए । त्यसपछि बोलेका एमाले नेताहरुले समेत सरकारले स्थायी रुपमा काम गनुपर्नेमा जोड दिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया