काठमाडाैं । त्रिभुवन विमानस्थलबाट भिजिट भिसाका नाममा हुने मानव तस्करीमा संलग्नविरुद्ध मुद्दा दर्ता भएको छ ।
प्रहरी प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले ९ अध्यागमन अधिकृतसहित २२ जनाविरुद्ध लिखत कीर्ते र संगठित अपराध सम्बन्धी कसूरमा मुद्दा दर्ता गरेको हो ।
उक्त कसुरमा त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका अध्यागमन अधिकृत नरवीर खड्कासहित ९ अधिकृत र अन्य १३ जना गरी २२ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । नरवीर खड्का पक्राउ परेको भएपनि अन्य अधिकृतहरु भने फरार नै रहेका छन् ।
नरवीर खड्काले सेटिङमा मान्छे पठाएबापत बाल्टिक इन होटलबाट घुस रकमसहित पक्राउ परेपछि सोही प्रकरणमा प्रहरीले बाल्टिक होटलमा काम गर्ने एक कर्मचारीको बयान लिएको छ । गीता जैसी नाम गरेकी एक कामदारको बयान अनुसार अधिकृत नरवीर खड्काले एक वा दुई दिनको फरकमा १ लाखदेखि २० लाख रुपैयाँसम्म बुझ्ने गरेको बयान दिएकी छिन् । रकम बुझ्दा सँधै बाल्टिक होटलबाटै बुझ्ने गरेको र त्यहाँ अन्य व्यक्तिहरुले रकम ल्याएर छाडिदिने गरेको गीता जैसीको बयानमा उल्लेख छ ।
यस्तो छ, गीता जैसीको बयान :
‘मैले होटल बाल्टिक ईनमा नोकरी गर्न थालेको ८ महिना भयो । सो होटलमा नोकरी गर्ने कर्मचारी १६ जना छन् । म उक्त होटलको काउण्टरमा काम गर्न थालेको ८ महिना भयो । काउण्टरमा काम गर्ने क्रममा होटलको हिसाब किताब गर्ने, गेष्टहरु आउँदा रुम देखाउने काम गर्ने गर्छु । सो होटल बिमल थापा, क्यामुना शाही, मिरा गिरी पाण्डे र मन्जु डंगोल खड्काको नाममा दर्ता छ ।
निजहरुको नाममा होटल भए पनि सो होटलको सम्पूर्ण जिम्मेवारी मञ्जु डंगोल खड्काको श्रीमान आशिष भन्ने केदार बहादुर खड्का र मिरा गिरी पाण्डेको श्रीमान रमेश बहादुर पाण्डेले सञ्चालन गर्दै आएका छन् । बिमल थापा कहिले काही होटलमा आउने गर्थे, क्यामुना शाहीलाई अहिलेसम्म होटलमा आएको देखेको छैन । सो होटल बाल्टिक ईनको काउण्टरमा काम गर्ने स्टाफहरुमा म गीता जैसी र विकास अधिकारी हौँ । मेरो डिउटी प्राय जसो बिहान १०ः०० बजे देखि १७ः०० बजेसम्म पर्छ । मेरो डिउटी पश्चात बेलुकाको डिउटी विकाश अधिकारीको हेर्ने गर्छन् । मिति २०८०।०८।२६ गते म डिउटीमा रही सोही होटलको काउण्टरमा भएको अवस्थामा सो होटलमा पहिले पहिले पटक पटक पैसा राख्न दिने पदम लामा आई यो पैसा राखि दिनु, केदार सरलाई भनेको छु भनेकोले मैले उक्त रु. २ लाख रुपैया काउण्टरमा राखि दिएकी थिए । मैले सो दिनको १७ः०० बजेको समयमा डिउटी सकि जाने क्रममा उक्त रु.२ लाख रुपैया म पछिको डिउटी वाला विकास अधिकारीलाई बुझाएकी हुँ । सोही क्रममा पहिले पहिले पनि पटक पटक होटल बाल्टिक ईनमा आउने जाने गर्ने मैले चिनेका अध्यागमन कार्यालय त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कार्यरत नरवीर खड्का, मनोज तामाङ र पदम लामालाई मैले चिन्छु । होटलका साहु मध्येका आशिष भन्ने केदार बहादुर खड्का, नरवीर खड्का, मनोज तामाङ र पदम लामा समेत भई होटलमै बसी पटक पटक कुराकानी गर्ने गर्थे र मनोज तामाङले प्राय जसो १/२ दिन बिरायर काउण्टरमा १/२ लाख देखि १५/२० लाख सम्मको नगद रुपैया राख्न ल्याउने गर्थे ।
निजले रकम काउण्टरमा राख्न दिनु भन्दा पहिले होटल बाल्टिक ईनका साहु आशिष भन्ने केदार बहादुर खड्काले मनोज तामाङ र पदम लामा र अन्य व्यक्तिहरुले काउण्टर राख्न दिएको पैसा राख्नु भनेकोले मनोज तामाङ र पदम लामा र नचिनेका अन्य व्यक्तिहरु समेतले काउण्टरमा राख्न दिएको रकम राख्ने गरेको थिए । सो पश्चात रकम लिन प्राय जसो अध्यागमन कार्यालयका नरवीर खड्का र अन्य कर्मचारीहरु समेत आउने गर्थे । नरविर खड्का पटक पटक आई जाई गर्ने भएकोले निजलाई चिनेको छु । अध्यागमन कार्यालयका अन्य कर्मचारीहरुको नाम याद भएन, निजहरुलाई देखे भने चिन्न सक्छु । मैले काम गर्ने होटलका साहु आशिष भन्ने केदार बहादुर खड्का र मनोज तामाङ, पदम लामा र नरवीर खड्का धेरै पटक होटलमा बसी कुराकानी गर्ने गर्थे, के विषयमा कुराकानी हुने गथ्र्यो सो बारेमा मलाई थाहा भएन । सो कुरा उहाँहरुको आफ्नै व्यक्तिगत कुरा भएकाले म एउटा काम गर्ने कर्मचारी भएकोले चासो राख्ने कुरा भएन ।
सदा जस्तै मिति २०८०।०८।२६ पनि मैले म भन्दा पछाडी काउण्टरमा डिउटी भएका विकास अधिकारीलाई सोही दिनको १७ः०० बजे डिउटी बुझाई पदम लामाले केदार बहादुर खड्का सरको नाम लिई रु. २ लाख छोडेका छन्, कोही लिन आएमा केदार बहादुर खड्का सरलाई भन्नु भनि म होटलबाट डिउटी सकेर गएकी हुँ । सो पश्चात बेलुकाको अन्दाजी १९ः०० बजेको समयमा अध्यागमन कार्यालयका कर्मचारी नरवीर खड्का काउण्टरमा आई निजकै मोबाईलबाट केदार बहादुर खड्का सरसँग फोनमा कुराकानी भए पश्चात नरवीर खड्काले उक्त रु. २ लाख रुपैया विकास अधिकारीसँग मागी लिई गएका रहेछन् । मनोज तामाङ, पदम लामा समेतका व्यक्तिहरु होटलमा आई जाई गरि रहने र पटक पटक मजोज तामाङ, पदम लामा र अन्य नाम थाहा नभएका टुर्स एण्ड ट्राभल्सका व्यक्तिहरु समेत आई काउण्टरमा रकम राख्न लगाउने गर्थे । उक्त रकम लिन अन्य नचिनेका व्यक्तिहरु आउने गर्थे र निजहरुकै मोबाईलबाट निज केदार बहादुर खड्कालई फोन गरी सो पश्चात मलाई उक्त फोनमा बोल्न लगाए पश्चात निज केदार बहादुर खड्काले दिन भने बमोजिमको रकम दिने गर्थे ।
आशिष भन्ने केदार बहादुर खड्काले प्रयोग गर्ने संम्पर्क नं.९८४९४३८ह्ह्ह् हो, रकम दिँदा रिसिभ राख्नु भन्नु हुन्थ्यो, निजले भने बमोजिम रकम बुझेर लैजाने व्यक्तिहरुको रिसिभ गरेको स्लिप काउण्टरमा हुने गथ्र्यो । पछि उक्त रिसिभ स्लिपहरु सबै निजै केदार बहादुर खड्काले आफै लैजाने गर्नु हुन्थ्यो । निज नरवीर खड्काले मेरो डिउटी भएको अवस्थामा म सँग बुझि लगेको रकम रु. २ लाख भिजिट भिषामा सेटिङ मिलाई नक्कली कागजातबाट विदेश पठाउने व्यक्तिहरुलाई प्रस्थान अनुमति दिए बापत सेटिङ मिलाई लिएको रकम भएको भन्ने कुरा पछि प्रहरीले निज नरवीर खड्कालाई पक्राउ गरे पश्चात मैले समाचारबाट थाहा पाएको हुँ ।’
यसरी बाल्टिक इन होटलमा काम गर्ने गीता जैसीले आफ्नो बयानमा अध्यागमन अधिकृत नरवीर खड्काले पटकपटक बाल्टिक इन होटलबाट पैसा बुझेको बयान दिएकी छिन् । एक वा दुई दिनको अन्तरालमा एक लाख रुपैयाँदेखि २० लाख रुपैयाँसम्म बुझ्ने गरेको गीताको बयानमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया