राष्ट्रिय सभा निर्वाचनमा एमालेलाई पनि भाग दिन लागेपछि माधव नेपाल ‘फायर’

लोकपथ
1.1k
Shares

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनका विषयमा छलफल गर्न बसेको सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन बनेको छ ।

आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक बसेको थियो । तर बैठकमा एमालेलाई समेत राष्ट्रिय सभा निर्वाचनमा भाग दिने भन्ने विषयमा छलफल भएपछि असन्तुष्टिहरु पैदा भइ बैठक निष्कर्षविहीन बनेको हो ।

एमालेलाई समेत भाग दिने विषयमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विरोध जनाएका थिए ।

यसअघि बुधबार गठबन्धनले एमालेसँग समेत छलफल गरेको थियो । एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सभा निर्वाचनमा एमालेलाई शून्यता बनाउन लागिएको भन्दै केही सिट खोजेका थिए । एमाले समेत राष्ट्रिय सभाको निर्वाचनमा गठबन्धनको साथ खोजेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित गठबन्धनमा आवद्ध नेताहरु केही लचक भएका थिए ।

आज सहमति नजुटेपछि आजै साँझ गठबन्धनका शीर्ष नेतासहित एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्ने बताइएको छ ।

आगामी माघ ११ राष्ट्रिय सभा निर्वाचन हुँदैछ । रिक्त रहेको २० सिट परिपूर्तीका लागि निर्वाचन हुन लागेको हो । राष्ट्रिय सभा निर्वाचनका लागि आगामी पुस २३ गते मनोनयनको मिति तोकिएको छ ।

मनोनयनको मिति नजिकिएसँगै सिट बाँडफाँडका विषयमा छलफलका लागि नेताहरु जुटेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?