पूर्वतयारी गरेनौँ भने ठूलो जोखिम उठाउनुपर्ने हुन सक्छ : प्रधानमन्त्री

लोकपथ
7
Shares

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल प्राकृतिक दृष्टिले जोखिमयुक्त मुलुक भएको भन्दै विपतको जोखिमबाट बच्न राम्रो पूर्वतयारी आवश्यक रहेको बताएका छन्।

बुधबार दिउँसो ललितपुरमा आयोजित भूकम्प प्रभावित क्षेत्रमा विपत् व्यवस्थापन तथा पुन:र्निर्माण सम्बन्धी बृहत् अन्तरक्रियामा बोल्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् । प्रधानमन्त्रीले भने ‘‘नेपाल भूकम्पको जोखिमका दृष्टिले उच्च जोखिममा रहेको र नेपालका पश्चिमी क्षेत्रमा ठूला भूकम्पहरू आउन सक्ने सम्भावनाबारे कतिपय विज्ञहरूले भन्दै आएका छन्। वर्ष दिनभित्रै जाजरकोट, बझाङ्ग र डोटीमा गएका भूकम्पले यसको पूर्वसंकेत गरेको छ। असोज १६ गतेपछि एक महिनाको अन्तरालमा बझाङ र जाजरकोट भूकम्पको लगत्तै म दुवै स्थानमा पुगेँ। त्यहाँको अवस्था देख्दा लाग्यो– मध्यम खालको भूकम्प आउँदा त यस्तो अवस्था छ भने हालैको जापानमा गएको जत्रो ७.६ म्याग्निच्युडको भूकम्प वा २०७२ सालको जत्रो भूकम्प गएको भए त्यसले सिर्जना गर्ने त्रासदी हामीले झेल्न सक्थ्यौं होला र ?’’ प्रधानमन्त्रीले विपतको पूर्वजोखिम आंकलन गरी त्यसको तयारीमा जुट्नुपर्नेमा जोड दिए।

विपद पूर्व जोखिमको आंकलन गरी सोहीअनुरूपको संरचना र तयारीका काममा उदासिनता रहने गरेको छ। त्यसैले यसपटक श्रृङ्खलाबद्ध रूपमा आएका भूकम्पहरूले हामीलाई जोखिम प्रतिरोधी संरचना र सोहीअनुरूपको निरन्तर तयारीका लागि घच्घच्याएको छ। त्यसैले पुनर्निर्माणका लागि गतिलो तयारी गर्ने, भूकम्पप्रतिरोधी डिजाइन तयार पार्ने, बलियो संरचना बनाउने तथा पर्याप्त वजेटको व्यवस्था गर्ने विषयमा मेरो जोड रहेको छ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?