काठमाडौं । बसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरले मधुमेहका बिरामीको निःशुल्क रगत र आँखा परीक्षण गरिरहेको छ । अस्पतालले शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्दै विश्व मधुमेह दिवस–२०२३ का अवसरमा एक महिनासम्म यो सेवा दिने जानकारी गराएको हो ।
मधुमेहबाट हुने रेटिनोप्याथीलाई नियन्त्रण गर्ने उद्धेश्यले एक महिनासम्म मधुमेह र आँखाको निशुल्क परीक्षण गर्ने व्यवस्था मिलाइएको अस्पताल अध्यक्ष डा. बुद्धीमान श्रेष्ठ बताउँछन् । ‘आजका दिनमा अस्वस्थ खानपान तथा जीवनशैली, शारीरिक व्यायामको कमी लगायतका कारणले नेपालमा दिनानुदिन मधुमेहका बिरामीहरुको संख्या बढ्दै गइरहेको तथ्यांकले देखाउँछ,’ उनले भने, ‘केडीसीले पनि गत भदौदेखि आँखा रोग विभाग स्थापना गरी आँखाको उपचार सेवा दिँदै आएको छ त्यसैलाई मध्यनजर गरेर हामीले यो सेवा दिएका हौँ । जसलाई एक महिनासम्म निरन्तरता दिनेछौँ ।’
केडीसी अस्पतालले बीएम फाउण्डेशन तथा ताइवान प्रिभेन्ट फाउण्डेशनको सहकार्यमा स्याङ्जाको चापाकोटमा आँखा उपचार केन्द्र सञ्चालन गरी सेवा प्रदान गरिरहेको तथा देशका विभिन्न ठाउँहरुमा निःशुल्क आँखा शिविर सञ्चालन समेत गरिरहेको अध्यक्ष डा. श्रेष्ठले जानकारी दिए । ‘शिविरमार्फत हालसम्म १० हजार बढी नेपालीहरुले स्वास्थ्य लाभ लिनुभयो,’ उनले भने ।
यसैगरी, मंसिर ४ गते चापाकोटका १०० जना अगुवा महिलालाई मधुमेह र यसले पार्ने असरका बारेमा तालिम दिन लागेकोसमेत उनले बताए । ‘उक्त तालिममा चापाकोट नगरपालिकाभित्रका अगुवा महिला, स्वास्थ्य स्वयम्सेविका, शिक्षिकाहरु सहभागि हुनेछन्,’ उनले भने, ‘उहाँहरुले समुदायमा मधुमेहका बारेमा सचेतना फैलाउन सहयोग पुर्याउनुहुनेछ भन्ने मेरो विश्वास छ ।’
यसैगरी, कान्तिपुर डेन्टल कलेजका प्रिन्सिफल प्रा.डा. रबिन्द्रमान श्रेष्ठले मधुमेहले आँखाका साथै मुख स्वास्थ्यमा समेत असर गर्ने बताए । ‘मधुमेह लागेपछि दाँतलाई गिँजाले छोड्ने, दाँत हल्लिने, मुख गन्हाउने, गिँजाबाट रगत आउने जस्ता लक्षण देखापर्छ,’ उनले भने ।
अन्तर्राष्ट्रिय मधुमेह महासंघको तथ्यांक अनुसार संसारका प्रत्येक दश जना मानिसमा एक जनालाई मधुमेह हुने गरेको छ । विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांक अनुसार नेपालमा ३ प्रतिशत मृत्युको मूख्य कारण मधुमेह हुने गरेको छ । अस्वस्थ खानपान तथा जीवनशैली, शारीरिक व्यायामको कमी आदिले गर्दा नेपालमा दिनानुदिन मधुमेहका बिरामीहरुको संख्या बढ्दो क्रममा रहेको तथ्यांकले देखाउँछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया