जनकपुरधाम । जनकपुर-जयनगर नेपाल रेल्वेले नयाँ समयतालिका निर्धारण गरेको छ । भारतको जयनगरबाट जनकपुरधामसम्म जनकपुरधामबाट बिजलपुरासम्म सञ्चालन भइरहेको नेपाल रेल सेवा आगामी मङ्सिर १ गतेदेखि हालको समयतालिकामा परिवर्तन गरी सञ्चालन गर्ने नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जनकुमार झाले जानकारी दिए।
मङ्सिरदेखि चिसो बढ्ने र दिउँसोको समय छोटो हुने हुँदा यात्रुको सुविधालाई ध्यानमा राखी हालको समयतालिकामा परिवर्तन गरिएको उनको भनाइ छ। दैनिक आउजाउ गरी ६ पटक सञ्चालन भइरहेको रेल भङ्गाहा (बिजलपुरा) जयनगर खण्डमा पूर्ववत दैनिक एक सेवा सञ्चालन हुनेछ।
जनकपुरधाम–जयनगर खण्डमा दैनिक तीन सेवा सञ्चालन यथावत रहेको छ। ‘चिसो मौसमका कारण यात्रुको सुविधा र स्वास्थ्यलाई मध्यनजर गरी समय मात्र परिवर्तन गरिएको छ,’ महाप्रबन्धक झाले भने ।
परिवर्तन गरिएको नयाँ तालिकाअनुसार रेल सेवाको पहिलो ट्रिप रेल भङ्गहाबाट (बिजलपुरा) बिहान ७ः३० प्रस्थान र जयनगर ९ः१५ पुग्ने र अन्तिम जयनगरबाट दिउँसो ४ः१५ बाट चल्ने रेल साँझ ७ः१५ बजे भङ्गहा आइपुगेर रात्रि विश्राम बस्ने नेपाल रेल्वे कम्पनी लिमिटेड केन्द्रीय कार्यालय जनकपुरधामले जनाएको छ ।
त्यस्तै जयनगरबाट बिहान १० बजे प्रस्थान गर्ने रेल जनकपुरधाम ११ः१५ बजे पुग्ने र सोही रेल जनकपुरधामबाट बिहान ११ः४५ बजे चल्ने रेल जयनगर दिउँसो १ः१५ बजे पुग्ने जनाएको छ । यसैगरी फेरि जयनगरबाट दिउँसो १ः४५ बाट चल्ने रेल जनकपुरधाम दिउँसो ३ः१० बजे आइपुग्ने र सोही रेल पुनः जनकपुरधामबाट दिउँसो ३ः१५ बजे सञ्चालन भई दिउँसो ४ः४० बजे जयनगर पुग्ने जनाइएको छ ।
दिउँसो ४ः४५ बजे जयनगरबाट बिजलपुराका लागि अन्तिम रेल सेवा सञ्चालन हुने छ । यो रेल साँझ ७ः१५ बजे भङ्गहा (विजपुरा) पुगेर रात्रि विश्राम बस्ने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया