त्यो दसैँ र यो दसैँ

लोकपथ
749
Shares

दसैँ किन नेपालीहरूको महान र ठुलो चाड बन्यो भन्ने प्रश्नले यतिखेर दिमाग घुमाइरहेको छ । संसारका सबै हिन्दुहरूले दसैँलाई यसै रूपमा मनाउँदैनन् । दसैँको टीकाका दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रावण दाहको फोटो सार्वजनिक गरे । रावणलाई रामको दृष्टिले हेर्दा खराब देखिएला तर रावणकै दृष्टिले हेर्दा देखिने चित्र अर्कै हुन्छ । महिषासुर, चण्ड, मुण्ड, धूम्रलोचन, मधु, कैटभ, शुम्भ, निशुम्भ, रक्तबीज आदिबारे पनि त्यही धारणा बनाउन सकिन्छ ।

भारत मात्रै होइन नेपालकै तराईमा पनि दसैँलाई पहाडमा मनाए जसरी मनाउँदैनन् । निधारभरि टीका र कानमा जमारा नौ दिनसम्म गरिने देवीको प्रसादका रूपमा लगाइए पनि धेरै नेपालीका घरमा रीतपूर्वक पूजा हुँदैन । अझ कतिले त पूजा नै गरेको पाइँदैन । त्यसमाथि पछिल्लो समयमा दसैँ खानपिनको चाडका रूपमा परिवर्तित हुँदै गएको छ । दसैँका बेला पशुहरूको व्यापारमा राज्य संयन्त्र पनि संलग्न हुनुले यसलाई अझै मलजल गरेको आभास हुन्छ ।

सहरमा दसैँको स्वरूप कस्तो हुन्थ्यो थाहा भएन । तर गाउँमा दसैँ आएको महसुस गराउने धेरै पाटाहरू थिए । घर वरिपरिको सरसफाइ तथा रातो माटोले घर पोतेर झ्यालढोकामा कालो माटोले रङ्ग्याएपछि दसैँको आभास हुन थाल्दथ्यो । अझ त्यसभन्दा अघि घरका सबै सदस्यलाई कपडा आइपुगेको हुन्थ्यो र आफैँले कमाएको दमाईँले घरमा दुई तीन दिन बसेर कपडा सिलाएको हुन्थ्यो । नयाँ लुगाले दसैँलाई कर्सोमा निम्ता गर्दथ्यो । त्यतिखेर चिउराको खुब चलन थियो ।

खँडकुलामा धान पकाएर चिउरा कुट्न मिलमा लैजाने चलन थियो । घरमा चिउराको भारी आएपछि दसैँलाई थप रौनक थप्दथ्यो । गाउँका सबै मानिस जम्मा भएर मूल बाटो खन्ने चलन थियो । बाटाका विभिन्न खण्ड टोलटोलले भाग लगाउने गर्दथे । आआफ्नो पायक पर्ने बाटो सबै टोलबासी मिलेर खन्दथे र बर्खाले हिँड्न अप्ठेरो बनाएको बाटो खनेर सजिलो बनाउँदथे । बाटाका चौताराहरू बनाउने गरिन्थ्यो । म पनि कति वर्षसम्म बाटो खन्न र चौतारो बनाउन गएको थिएँ । बाटो खनेपछि दसैँ आयो भन्ने एउटा जब्बर मानसिकता प्रायः सबैलाई थाहा हुने दसैँको अर्को पाटो थियो । त्यो श्रमदानले वर्षाले बिगारेको बाटोलाई राम्रो मात्रै बनाउँदैनथ्यो बरु समाज र पुस्तालाई एकताको साङ्लोले बाँधेको पनि थियो ।

दसैँको अर्को महत्त्वपूर्ण पाटो थियो पिङ । गाउँभरिबाट उठाइएको बाबियोको लठरो बाट्न पनि गाउँभरिका मानिस जम्काभेट हुने गर्दथे । दसैँ आउनै लाग्दा पखेराको बाबियो काटेर सुकाइन्थ्यो र चुल्ठो बनाएर राखिन्थ्यो अनि दसैँमा प्रत्येकका घरघरबाट दुईचार दुईचार मुठा उठाएर पिङ बाटिन्थ्यो । मनोरञ्जनका लागि त्यो सामूहिकता साँच्चिकै दसैँको अर्को नाम थियो । बाटाका बुढा रुखका ठुला हाँगामा झुन्डिने पिङ फूलपातीका दिनदेखि नै मच्चिन सुरु हुन्थे । तररररररर को कोकोहोलो आवाजसँगै घरका आँगनमा दसैँ आइपुगेको पूर्ण सङ्केत हुने गर्दथ्यो । पाठपूजा व्यक्तिका आस्थासँग सरोकार राख्ने पक्ष हुन् । तर पाठपूजा नगर्नेका लागि पनि दसैँ त्यतिकै मनोरञ्जनपूर्ण हुने गर्दथ्यो । टीकाका दिन परिवारका सबै सदस्यले टीका लगाएपछि माइत मावल जानेहरूको लर्कोले बाटोलाई पनि आकर्षक बनाउँदथ्यो । स्थानीय बजारमा पनि खुब चहलपहल हुने गर्दथ्यो ।

शरद ऋतुको मध्यमा पर्ने दसैँ प्राकृतिक रूपमा पनि महत्त्वपूर्ण रहेको छ । उज्यालो मौसमले पनि दसैँलाई थप आकर्षक बनाउँछ । त्यसमाथि कृषकका लागि खेत खलियानमा फलेको खुसीले पनि दसैँलाई थप उर्जा थप्दथ्यो । मकै भित्रिसकेको हुन्थ्यो भने कोदो निस्कन थाल्दथ्यो । धान पाकेर फाँट र बेसी पहेँलै देखिन थाल्दथ्यो । निकट भविष्यमा भरिने भकारीले पनि किसानलाई उत्साहित बनाउँदथ्यो । त्यसैले पनि दसैँ महत्त्वपूर्ण पर्वको रूपमा विकास भएको थियो । सबैभन्दा बढी दसैँको समय किसानका लागि फुर्सदको समय पनि हो । आज ती सबै रौनकहरू बिस्तारै हराउँदै गएका छन् ।

मानिस गाउँबाट सहर पस्यो र सहरबाट विदेश भाग्यो । गाउँ एक प्रकारले रित्तो भएको छ । गैह्रीखेत बाँझै बसेको छ । मकै र कोदो फल्ने पाखाबारीमा चिलाउने र वनमासा झाँगिएको छ । फाँटहरू पनि रित्ता छन् । जताततै जङ्गल हुर्र्कियो । गाउँमा बसेका बुढाबुढीहरू खेत फलाएर भकारी भर्नभन्दा गाउँको पसलबाट जिरामसिनो (तराईतिर भनिने कतर्नी ) चामल किन्नमा सुखको अनुभव गर्न थालेका छन् ।

विदेश नगएकाहरू सहरमा संघर्ष गरिरहेका छन् । सहरमा बसेर पनि सहरले व्यवस्थित बनाउन नसकेका एकाध मानिसहरू अहिले दसैँ मनाउनका लागि गाउँ जान्छन् । यातायात व्यवसायीले तिनलाई लुटेका कथा अर्कै छ । अन्यथा सहरमा व्यवस्थित भएर बसेकाहरू गाउँ फर्कन छोडेका छन् । सहरबाट दसैँ मनाउनैका लागि गाउँ गएका मानिसहरू कि त जुवाको खालमा भेटिन्छन् कि त रक्सी पसलमा । यी दुवैमा रुचि नभएका मानिसहरू गाउँ जाँदा पनि असामाजिकजस्तो भएर बस्नुपर्ने बाध्यता छ ।

डोजर संस्कृतिले पुरानो मूल बाटो मास्यो । सामूहिक रूपमा जम्मा भएर बाटो खन्ने परम्परा अब यस्तै लेख र कथामा मात्रै पढ्न पाइन्छ । पुराना मूल बाटो मासिएसँगै चौताराहरू पनि जीर्ण बन्दै गए । अब त चौतारो बनाउने संस्कृति नै मासिएको छ । चौतारो कसले किन केका लागि बनाउने ! घरघरमा मोटरबाटो पुगेको छ । बाध्यताले गाउँमा बसेका एकाध युवासँग आउजाउ गर्न आफ्नै साधन छ । सहरबाट जानेहरूको कुरै बेग्लै भैहाल्यो । सहरमा स्थापित र व्यवस्थित हुन नसके पनि गाउँमा जाँदा उनीहरूको शान र रौनक बेग्लै हुन्छ । गाउँ गाउँमा ढुङ्गामाटोको घर अब खोज्नुपर्ने भएको छ । दसैँ आउँदा ठुल्ठुला सुरुङ बन्ने मट्किनो अब कोटिँदा पनि कोटिँदैन । रातो र कालो माटोलाई ईँट र सिमेन्टले लगभग विस्थापित गरिसकेको छ । अहिले घरमा आउने कसैले पनि चिउरा खान रुचाउँदैनन् । त्यसैले चिउराको खपत पनि कम हुन थालेको छ । कति चिउरा मिलहरू बन्द भइसकेका छन् । चिउरा कुट्ने हाम्रा पुराना प्रविधि त हाम्रै पुस्ताले पनि देख्न पाएको थिएन । दसैँका बेला गाउँमा एकाध घरमा खसी काट्ने र त्यही बाँडेर खाने चलन थियो । अहिले घरघरमा सिङ्गा खसी ढाल्छन् । बरु दिनभरि त्यसैमा लठारिने प्रवृत्तिको अर्को पाटो छ । आजकल गाउँमा शाकाहारी घर पाउनै मुस्किल छ ।
आजभोलि दसैँको रौनक के हो भनेर कसैले सोध्यो भने भन्न सकिने अवस्था छैन । खानपिन मात्रै कुनै चाडपर्वको विशेषता बन्न सक्दैन । किनभने अब मौलिक खानाहरूले व्यवसायिकता अँगालिसकेका छन् । तिहार वा तराईको छठ पर्वको जस्तो दसैँको खास कुनै मौलिक खाना पनि छैन । कुनै मौलिक खाना खानका लागि अब चाडपर्व कुरिरहनु पनि पर्दैन ।

आफूलाई जतिखेर खान मन लाग्यो त्यतिखेर खान पाइन्छ । घरमै बनाइरहनुपर्छ भन्ने पनि छैन । बजारमै पाइन्छ ।

सामूहिकता र श्रमदान लगभग मरणासन्न अवस्थामा पुगेको छ । अब दसैँका मनोरञ्जनका अनेक पाटामध्ये थोरै मात्रै बाँकी छ–शारदी मौसम, छरिएर बसेका परिवारका सदस्यको जम्काभेट र टीकाजमरा । पारिवारिक जम्काभेट बढ्दो भूमण्डलीकरण र अवसरको खोजीले निम्त्याएको नयाँ परिस्थिति हो । अब त्यसलाई मात्रै दसैँको मनोरञ्जनको प्रकृति मान्नुपर्ने अवस्था छ । पिङका सन्दर्भमा पनि बाहिर बनेर आएकोे नरिवल वा कुनै पाटको लठरो किन्न पाइन्छ । जसले गर्दा गाउँभरिका मानिस जम्मा भएर सामूहिक रूपमा बाटिने पिङ्को सुगन्ध पूर्ण रूपमा हराएको छ । त्यसैले दसैँ दसैँजस्तो लाग्न छोडेको छ । केटाकेटीमा हामी रमाए जसरी अहिलेका केटाकेटी नरमाउँदा पनि दसैँको रौनक घट्दै गएको अनुमान लगाउन सकिन्छ ।

बरु पछिल्लो समय घुम्न जानेको सङ्ख्या बढ्दै गएको छ । त्यो चाडपर्वको घुमाइ भन्दा पनि शारदी मौसमले तानेको आकर्षण हो । तर घुमाइ त्यति लामो भएको देखिँदैन । चार जना जम्मा भयो कि तासको खाल जमाउने र साँझ मदिरापान गर्ने संस्कारले दसैँलाई विकृत बनाउँदै लगेको छ । अब दसैँ भनेको उन्मुक्त ढङ्गले खाने र खेल्ने पर्व हो भन्ने भाष्य बन्दै गएको आभास हुन्छ । आसुरी शक्तिमाथि दैवी शक्तिको विजयका रूपमा जति धार्मिक व्याख्या गरे पनि पाठपूजाप्रति मानिसको चासो कम हुँदै गएको पक्कै हो ।

पाठपूजा एउटा आस्थाभन्दा पनि संस्कृतिको निरन्तरताका रूपमा परिवर्तित हुँदैछ । कहिल्यै हित नचिताउने आफन्तको हातबाट दसैँको टीका लगाएर आशीर्वाद माग्नु पनि एउटा भद्दा मजाक सम्झन थालेका छन् मानिसहरू । कति त मन नलागी नलागी गएको पनि देखिन्छ । यी सबै पक्षलाई हेर्ने हो भने दसैँको रौनकतामा विस्तारै परिवर्तन हुँदै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?